आमा समुह नै ‘सफा घर’ अभियानमा

आमा समुह नै ‘सफा घर’ अभियानमा


छविलाल बगाले
लमजुङको गिलुङ–६ की शोभा गुरुङ रिटायर्ड शिक्षिका हुन् । उनि स्थानिय शान्ति आमा समुहकी अध्यक्ष पनि हुन् । उनलाई गाउँमा फोहोर भएको पटक्कै मन पर्दैन् । गुरुङ गाउँको समाजसेवामा समेत तल्लिन हुन्छिन् । ‘गाउँ घर फोहोर हुन थालेपछि मलाई रातभरी निन्द्रा पनि लाग्दैन् ।’ गुरुङले भनिन्, ‘विहान सबैरे उठेर आमा समुहको नेतृत्वमा घर, आँगनदेखि बाटोघाटो सबै सफा गर्छौँ । हाम्रो गाउँ पर्यटकिय गाउँ भएकोले हामी सधैं हाम्रो घर आँगन सफा राख्छौं ।’

गाउँमा जब खानेपानी तथा सरसफाई समिति बन्यो त्यसपछि मात्रै गाउँमा सरसफाईको अभियान शुरु भयो । ‘शुरुमा गाउँलेलाई सम्झाउन साह्रै गा¥हो भयो । तर पछि बुझाउँदै गएपछि हामी सफल भयौं । र गाउँलाई खुलादिसा मुक्त गाविस पनि घोषणा गर्न सफल भयौं । त्यो सँगसँगै हामी आमा समहु मिलेर गाउँका सबै घरहरुलाई सफा घर बनाउनुपर्छ भन्ने अभियानमा लाग्यौं ।’ उनले भनिन् ।

कुल ३ सय ४१ घरधुरी रहेको गिलुङका १ सय ९४ वटा घरहरु पूर्ण सरसफाईयुक्त भइसकेका छन् । ‘गिलुङ गाउँ पहिलेदेखि नै अन्य गुरुङ गाउँहरुभन्दा सफा गाउँ हो । तैपनि गाउँमा अशिक्षा र अज्ञानता थियो । त्यसैले जनचेतनाको आवश्यक थियो ।’ गुरुङ भन्छिन्, ‘जिल्लाका सबै गाउँहरुमा पोषण तथा सरसफाईको काम गर्दै आएको सुआहारा नामक संस्था गिलुङ गाउँको सरसफाईमा जुट्यो । हामीले जनचेतना पनि पायौं । अहिले हामी गाविसभरी नै यही अभियानमा लागेका छौं ।’

अहिले गाउँमा सरसफाईका दशवटा मुख्य सुचकहरु पुरा गरी आफ्नो घरलाई सफा घर बनाउने अभियान सबै वटै वडाहरुमा पुगेको छ । विगतमा धेरै रोग लागेर आत्तिएका गाउँलेहरु अहिले सुखी र स्वस्थ जीवन ज्युन पाएको बताउँछिन् गिलुङ–१ की माया गुरुङ । ‘हामी हरेक हप्ता गाउँमा बैठ्क बस्छौं ।’ उनले भनिन्, ‘बैठ्कमा नआउने परिवारलाई बैठ्कमा छलफल भई आएको निर्णयहरु सुनाउन समेत घर घरमा जाने गरेका छौं ।’

गाउँबासीहरु आफ्नो ब्यक्तिगत सरसफाईदेखि खानेकुरा पकाउने, शौचालय र घर वरीपरिको सरसफाईमा समेत तल्लिन हुने गर्दछन् । गत असोजको पहिलो हप्ताबाट शुरु गरिएको यो अभियानले गाउँका १ सय ९४ घरपरिवार पूर्ण रुपमा सरसफाईयुक्त भएको गिलुङ–६ की उर्मिला गुरुङ बताउँछिन् ।

स्थानिय शान्ति आमा समुहले गाउँमा बसोबास गर्ने स्थानियबासिन्दाको स्वास्थ्यमा नकरात्मक असर नपरोस भन्ने उद्धेश्यले गाउँको विभिन्न ३ स्थानमा कटुवाल समेत राखेको छ ।

‘नाँच्ने गाउँने बाहेक आमा समुहको पनि कुनै आय स्रोत छैैन् ।’ आमा समुहकी अध्यक्ष शोभा गुरुङ भन्छिन्, ‘हामी दैनिक घर आँगन, बाटोघाटो सफा गर्छौ । र हप्ताको एक पटक अनुगमन पनि गर्छौ । कसैको घरमा फोहोर भेट्यौं भने जरिवाना पनि गर्छौँ ।’ गाउँमा प्लाष्टिकजन्य बस्तुहरु पनि प्रवेशमा रोक लगाइएको छ । गाउँसम्म पुग्ने गल्लीहरुमा सर्लक्क मिलेका ढुङ्गाहरु बिच्छ्याइएका छन् । जहाँ चराचुरुङ्गी र हावाले झारेका पातहरु पनि टिपेर फ्याँक्ने चलन रहेको आरसिडिसी लमजुङका कार्यकारी निर्देशक राजेन्द्र बोहरले बताए ।

घरैपिच्छे शौचालय र धारा
गिलुङ गाउँमा घरैपिच्छे शौचालय र धारा छ । जहाँ धारा र शौचालय नभएको घरै छैन । पहिले बनजंगलमा गएर शौचालय बस्ने र पुराना ढुङ्गे धाराका पानी प्रयोग गर्दै आएका गाउँलेहरु केही बष अघि देखि आफ्नै घरमा बनेको धारा र शौचालय प्रयोग गर्ने गर्दछन् । सदरमुकाम बेसीशहरवाट पश्चिम दिशामा पर्ने यो गाउँ निकै सुन्दर र सफा छ । ३ सय ४१ घरधुरी रहेको गिलुङ गाउँमा घरैपिच्छे शौचालय र धारा भएपछि गाउँलेहरुलाई धैरै सजिलो हुने गरेको छ ।

गिलुङवासीलाई यो अवसर जुटाईदिनेमा गोरखा वयलफेयर स्किम (जीडब्लुएस) को ठूलो हात छ । केही बर्ष अगाडी जीडब्लुएसको ५४ लाख र स्थानीयवासिन्दाको ३४ लाख श्रमदानमा गिलुङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो ।

गाउँगाउँमा विकास गर्ने हेतुका साथ लागि परेको जीडब्लुएस संस्थाले घरघरमा शौचालय निर्माण गरेपछि मात्र गाउँमा खानेपानी ल्याईदिने भनेपछि स्थानीयवासिन्दाले आ–आफ्नो घरमा शौचालय बनाएका थिए । स्थानीयहरुले आफ्नो आर्थिक अवस्थाले भ्याएसम्मका शौचालय निर्माण गरेपछि अहिले गिलुङबासी प्रत्येकको घरघरमा जीडब्लुएसले खानेपानीको धारा जडान गरी शुद्ध खानेपानी बितरण गरीदिएको छ । घरमै शुद्ध पिउने पानी प्रयोग गर्न पाएपछि गाउँलेहरु मख्ख छन् । त्यसमा पनि गृहणी र किसानलाई निकै सजिलो भएको छ ।

गिलुङमा खानेपानी ल्याउनका लागि गाउँदेखि १३ किलोमीटर टाढाबाट पाईप बिच्छ्याएर पानी ल्याइएको छ । यहाँ छिमेकी गाविस पसगाउँ र भुजुङको सिमानाबाट ल्याइएको पानी भोँजे गाविस हुदै गिलुङसम्म ल्याइएको हो । गाउँ नजिकमा पानीको कुनै ठूलो स्रोेत नभएकाले टाढाबाट खानेपानी ल्याउनुपरेको स्थानियहरु बताउँछन् । बिगतमा एक गाग्री पानी ल्याउनको लागि ३ घण्टा हिड्नु पर्ने बाध्यता रहेको थियो तर सरकारले आफ्नो गाँउको समस्या नबुझेपछि जीडब्लुएस संस्थाले घरैपिच्छे शौचालय र धारा वितरण गरीदिएपछि गाँउलेहरुमा खुसीयाली छाएको गिलुङ–२ की चिजा गुरुङ बताउँछिन् ।

सदरमुकाम बेसीशहरबाट एकदिन पैदल यात्रा गरेर पुग्ने गिलुङ गाउँ कुनै शहरभन्दा कम छैन । पोखराको बेगनासबाट लमजुङको ईशानेश्वर हुँदै बस सेवा समेत संचालन भएको छ । कास्की र तनहुँ जिल्लाबाट कुनै सहयोग नपाएको र लमजुङ सदरमुकामबाट पनि धेरै टाढा भएकाले स्थानीयवासिन्दाले सरकारबाट पाउने सुविधाहरु भने सजिलै पाउन सकेका छैनन् । तर पनि स्थानीयवासिन्दाहरु विकास निर्माणमा आफैँ लागि परेका छन् । लमजुङमा मात्रै नभई गिलुङ गाउँ मुलुकमा नै उदहारणीय बन्न सफल भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण
झण्डै १८ सय मिटर उचाइमा रहेको गिलुङ पर्यटकिय एवं धार्मिक दृष्टिकोणले पनि विख्यात छ । यहाँको गुम्बा, मन्दिर, घुमाउने घर र एकै किसिमले बनेका घरहरुको मनोरम दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याइदिने गर्दछ ।

कला, संस्कृतिको धनी मानिएको गिलुङमा घाँटु, सोरठी, कृष्णचरित्र लगायतका नाँचहरु पनि त्यहाँ पुग्ने पर्यटकहरुलाई देखाउने गरिन्छ । गिलुङका केही घरहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि होमस्टेको समेत ब्यवस्था छ । यहाँबाट सुर्योदय र सुर्योस्तको मनोरम दृश्य देख्न सकिने भएकोले गिलुङ पर्यटकीय गन्तब्य बन्दै गएको हो । गिलुङबाट मनास्लु, अन्नपुर्ण श्रङखला लगायतका दर्जन हिमालहरु देख्न सकिन्छ भने यहाँबाट पर्यटकिय गाउँहरु घलेगाउँ, भोंजे, पसगाउँ, चरा गाउँ, मपिङ लगायतका गाउँहरु देख्न सकिन्छ ।

गिलुङसम्म पुग्नेको लागि पोखराबाट बेगनास हुदै लमजुङको भोर्लेटारस्थित रामबजार हुदै पुग्न सकिन्छ भने दमौली र लमजुङ सदरमुकाम बेसीशहरबाट मध्य नेपाल हुदै रामबजारबाट पनि गिलुङ पुग्न सकिन्छ । यस्तै सार्क राष्ट्रको नमुना पर्यटकिय गाउँ घलेगाउँबाट भुजुङ, पसागाउँ, भोजे हुदै पनि गिलुङ पुग्न सकिन्छ । गिलुङसम्म मोटर पुग्ने भएकोले पनि आफ्नो निजि सवारी लिएर पनि गिलुङगाउँ पुग्न सकिन्छ ।