राखेपको सदस्यमा मनोज बैद्यको नियुक्ति

राखेपको सदस्यमा मनोज बैद्यको नियुक्ति


– श्रीविक्रम भण्डारी
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोज बैद्यलाई नियुक्ति गरेका छन् । पूर्वकोषाध्यक्ष सुरेन्द्र हमालले राखेपको कोपाध्यक्षबाट राजीनामा दिएपछि परिषदको सदस्य पद खाली भएको थियो । उक्त खाली पदमा मन्त्री केसीले नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाका अध्यक्ष वैद्यलाई नियुक्त गरेका हुन् ।

राखेपको सदस्यको पदको लागि कुवेर सिंह, विजय बस्नेत र राजीव श्रेष्ठ आकांक्षीको रुपमा देखिए पनि अन्तिम समयमा आएर मन्त्री केसीले वैद्यलाई नियुक्ति गरेका हुन् । वैद्यलाई नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको सिफारिसमा नियुक्ति गरिएको बुझिएको छ । सिंहको निर्देशनमा नै राजनीति गर्दै आएका वैद्य सिंहका अत्यन्त निकटका व्यक्ति पनि हुन् ।

आज पुष २८ गते खेलकुद मन्त्रीले राखेपको सदस्य नियुक्ति गर्ने चाल पाएपछि काङ्ग्रेस कार्यकर्ताहरुले नेताको घरदैलोमा दौडाहा गरेका थिए । मन्त्री केसीले विजय बस्नेतप्रति ठाडो प्रस्ताव राख्दा प्रधानमन्त्री शेरबहादुर देउवाले कुवेर सिंहको नाम प्रस्तावित गरेका बुझिन आएको छ । पछि प्रधानमन्त्री देउवा र सिंहबीच भएको सम्झौताअनुरुप मनोज वैद्यलाई सदस्य बनाइएको स्रोतले बताएको छ ।

मनोज वैद्यको राखेप सदस्यमा नियुक्तिसंगै अब अर्को साता उनी राखेपको कोषाध्यक्षमा नियुक्ति पाउने पक्का भएको छ । यो भन्दाअघि काङ्ग्रेसको कोटावाट सुरेन्द्र हमाल राखेपको कोषाध्यक्ष बनेका थिए ।