शितलहरबाट पर्सामा मात्रै आठको मृत्यु

शितलहरबाट पर्सामा मात्रै आठको मृत्यु


पुसको पहिलो सातादेखि सुरु भएको शितलहर र बढ्दो चिसोको कारण पर्सामा मात्रै आठ जनाको मृत्यु भएको छ । पुस महिना आरम्भबाट विहान–विहानदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेसँगै चिसो बढेको कारण तापक्रम क्रमशः झर्दै गएपछि कठ्याङ्ग्रिएर दुई दिनमै पर्सामा ८ जनाको मुत्यु भएको छ । दिनरात चल्ने शितलहर र शितसँगै चल्ने चिसो पश्चिमी हावाका कारण दिनको अधिकतम तापक्रम १३ देखि १६ सम्म डिग्री र रातीको तापक्रम २ देखि ४ सम्म डिग्रीमा झरेपछि न्यानो कपडा तथा चिसो हावाबाट जोगाउने छानाको अभावका बीच जिल्लाको ग्रामीण भेगमा जीवन यापन गदैं आएका गरिब, अति विपन्न तथा दलितहरूको चिसोले कठ्याङग्रिएर मुत्यु भएको हो ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–१ महादेवपट्टी पकडीटोला निवासी कमल खवास थारु, शम्भु महरा चमार, पर्साको छिपहरमाई गाउँपालिका–४ तुल्सीवर्वानिवासी हरणी राउत, राजदेव साह कानु, तेतरी देवी, सखुवा प्रसौनी गाउँपालिका–६ निवासी नन्दु साहलगायत ८ जनाको चिसोले मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसँग सम्पर्क गर्दा उहाँले दुई दिनभित्र चिसोको कारण ८ जनाको मृत्य भएको खबर सुनिए पनि यसको अधिकारिक तथ्याङ्क प्रहरीले हालसम्म जिल्ला प्रशासन कार्यालयमा उपलब्ध नगराएको जानकारी दिनुभयो । चिसोका कारण मृत्यु भएको नामावली उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको बताउँदै सह प्रजिअ पौडेलले नामावली प्राप्त भएलगत्तै पीडित परिवारलाई राहत तथा अन्य सहयोग स्थानीय प्रशासनले तत्कालै उपलब्ध गराउने जानकारी दिनुभयो ।

बारा जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चिसोले कठ्याङग्रिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिम्रनगढ नगरपालिका–९ बसवरिया टोलका ६५ वर्षीय वृद्ध नन्दलाल यादव र सोहि नगरपालिका वडा ८ कचोर्वाका ६० वर्षीय अनिस राय यादवको चिसोले मृत्यु भएको प्रहरीले जनाएको छ ।
– प्रणय साह