कीर्तिमानवाट चुकेका कमलले स्वर्णमै चित्त बुझाए

कीर्तिमानवाट चुकेका कमलले स्वर्णमै चित्त बुझाए


नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उद्धेश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्ण नै चित्त बुझाए ।

कमलले ७७ केजी तौलमा स्नाचमा १ सय २० केजी उचालेका थिए । यसमा उनकै नाममा १ सय २२ केजीको किर्तिमान कायम छ । यस्तै क्लिन एण्ड जर्कमा उनले १ सय ५३ केजीका साथ कुलमा २ सय ७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् । नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २ सय १२ केजी गरि रजत जिते भने क्लिनमा १ सय १५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडी रहंदै कास्य पाए । बैश्यले क्लिनमा १ यस १८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए ।

महिला ६३ केजी तौल समूमा नेपाली सेनाकी मनिता श्रेष्ठले कुल १ सय ४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० र क्लिन एण्ड जर्कमा ८० केजी भार बहन गरेकी थिईन् । दोश्रो स्थानमा रहेकी सेनाकै सारदा चौधरीले १ सय २८ केजीका साथ रजत पाईन् । चौधरीले स्नाचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ केजी उचालेकि थिईन् ।

महिलाकै ६९ केजीमा नेपाल प्रहरीकी राज्य लक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एण्ड जर्कमा ८३ केजीका साथ कुल १ सय ४३ केजी भार बहनका साथ स्वर्ण हात पारिन् । सेनाकी उष खड्काले स्नाचमा ५२ केजी, क्लिनमा ७० केजी र कुलमा १ सय २२ केजी भार बहन गर्दै रजत प्राप्त गरिन् । प्रहरीकी जानकी बुढाले ११० केजी कुल भारका साथ कास्य पाईन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालेकि थिइन् ।

दक्षिण एशियाली खेलको लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपाल प्रहरीकी लक्ष्मी वनले १ सय ४२ केजी भार बहन गरिन् । उनले स्नाचमा ६२ र क्लिनमा ८० केजी भार उठाउँदै स्वर्ण पदक जितेकि हुन् । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ७६ केजी गरि कुलमा १ सय ३४ केजीका साथ रजत पाईन् । सप्तरीकी शान्ति चौधरीले १ सय २५ केजीका साथ कास्य पाईन् । शान्तिले स्नाचमा ५५ र क्लिनमा ७० केजी उचालिन् । ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी तारादेवी पुनले स्नाचमा ७०, क्लिनमा ९७ केजी गरि कुल १६७ केजीका साथ स्वर्ण हात पारिन् ।

पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १ सय ९३ केजी गरि दुई स्वर्ण प्राप्त गरे । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामा संग पछि परेका थिए । मुईले १ सय ८ केजी भार बहन गर्दै स्वर्ण जितेका थिए । क्लिनमा चौधरीले १ सय ७ केजी उचाल्दै रजत पाए । स्नाचमा मुईले ८५ केजी र कुलमा १ सय ९३ केजी उचाल्दै रजत पाए । तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १ सय ६३ केजीका साथ कास्य पाए । उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले ।

६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १ सय २५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सी संग पछाडी पर्दै रजतमा चित्त बुझाए । विकासले स्नाचमा १ सय १२ र कुलमा २ सय ३७ केजी उचालेका थिए । प्रकाशले क्लिनमा १ सय ३० केजी उचाल्दै स्वर्ण प्राप्त गरे । तर प्रकाशले स्नाचमा १ सय ६ र कुलमा २ सय ३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १ सय ५ र कुलमा १ सय ८० केजीका साथ दुई कास्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य प्राप्त गरेका थिए ।
भारोत्तोलनका नियमानुसार च्याम्पियनसिपमा स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन पदक वितरण गरिने छ ।