सिड्नीवासी नेपालीले यसरी सम्झिए बडामहाराज पृथ्वीनारायणलाई

सिड्नीवासी नेपालीले यसरी सम्झिए बडामहाराज पृथ्वीनारायणलाई


– राजन घिमिरे, सिड्नी

श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेर सिड्नी (अस्ट्रेलिया)वासी नेपालीले बडामहाराजाको योगदानको स्मरण गरेका छन् ।

पुस २७ गते सिड्नीको रगडेलमा जम्मा भएर आयोजना गरिएको कार्यक्रममा सिड्नीवासी नेपालीहरूले पृथ्वीनारायणको योगदान र सोचको सबैले ऐतिहासिक मूल्यांकनसहित प्रशंसा गर्नुपर्ने धारणा राखे ।

‘हामीहरूले आफ्ना भावाी पुस्तालाई नेपालको इतिहास र एेतिहासिक ब्यक्तित्वको बारेमा तथ्य अवगत गराउनु पर्छु’, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अच्युत थपलियाले बताए ।

त्यसैगरी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले पृथ्वीनारायण शाहको चर्चा गर्दा राजावादी भइने भन्ने भ्रामक सोच त्याग्नुपर्नेमा जोड दिँदै भने, ‘इतिहासलाई भुल्नु हुंदैन, पृथ्वीनारायण हाम्रा ऐतिहासिक विभूति मात्रै नभई राष्ट्रका अमूल्य निधि पनि हुन् ।’

विदेशीभूमिमा आफ्ना विभिन्न कार्यलाई थाँती राख्दै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहलाई सम्झिन जम्मा भएका सिड्नीवासीहरूले यस्तो जमघटलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याए । ‘अरू देशमा यस्तो गौरवपूर्ण इतिहासलाई सम्झेर सम्मानसाथ सम्हाल्छन् तर हामीहरू इतिहासको अवमूल्यन गरिरहेका छौँ । आज हामीहरू नेपाली भनेर पृथ्वीनारायण शाहकै कारण गर्व गर्न पाइरहेका छौँ,’ एनआरएनएका पूर्वप्रवक्ता रन्जु थापा वाग्लेको विचार थियो ।

यसैगरी, राजनीतिक विश्लेषक कन्चन पोखरेलले बडामहाराजाको इतिहास केलाउँदै उहाँको योगदान र सन्देशलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखे भने एनआरएनए अष्ट्रेलियाका कार्यकारी सदस्य पीआर अधिकारीले इतिहास भुल्नु भनेको आफूलाई भुल्नु हो भन्दै पृथ्वीनारायण शाह नेपालीहरूको मन र मष्तिस्कमा कहिल्यै नमेटिने तस्बिर भएको उल्लेख गरे।

कार्यक्रममा पत्रकार हेमन्त काफ्लेले अबदेखि प्रवासमा संस्थागत रूपमा नै नेपालका यस्ता ऐतिहासिक ब्यक्तित्वहरुको योगदानको चर्चालाई औपचारिक कार्यक्रमको आयोजना गरी अगाडि बढाउनुपर्ने धारणा प्रस्तुत गरे ।