ओलम्पिन स्नेहाभन्दा सुटिङमा सुस्मिता अगाडि

ओलम्पिन स्नेहाभन्दा सुटिङमा सुस्मिता अगाडि


मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता बनाएकी छिन् ।

‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४ सय पूर्णाङ्कमा ३ सय ८३ अंक जोड्दै पहिलोको दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणा पनि त्यत्तिनै अंकसाथ दोश्रो स्थानमा छिन् । यो स्पर्धामा स्नेहाको नाममा ३ सय ८९ अंकको राष्ट्रिय कीर्तिमान छ ।

‘लास्ट सिरिज’मा सुस्मिता स्नेहा भन्दा २ अंक बढी जोड्दै पहिलो स्थानमा छिन् । ‘लास्ट सिरिज’ मा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेका थिए । अर्की ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकी तेश्रो स्थानमा छिन् । फुलमायाको ३ सय ७७ अंक छ ।

पुरुष १० मिटर एयर राइफलको ६ सयमा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक) तथा आर्मीका कुमार कार्की (५६० अंक) क्रमशः पहिलोदेखि तेश्रो स्थानमा छन् । अर्नभ र कुमारको समान अंकभएपनि ‘लास्ट सिरिज’ मा अर्नभले ९४ र कुमारले ९२ अंक जोडेका थिए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलको ६ सयमा ५४३ अंक जोड्दै नेपाल आर्मीका कुवेर केसी पहिलो स्थानमा छन् । ५२४ अंकसाथ पूर्वाञ्चलका सत्रुघन दास दोश्रो तथा ४६३ अंकसाथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेश्रो स्थानमा छन् ।

सोही स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ३५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३४३ तथा प्रहरीकी सीमा चौधरीले ३३१ अंकको प्रदर्शन गरे । उक्त स्पर्धा ४ सय पूर्णाङकको थियो ।

आ–आफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनः फाइनलमा प्रतिस्पर्धा गराइने छ । फाइनल २ सय ४० अंकको हुनेछ । प्रतियोगिताको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।