‘नग्न पार्टी’को आयोजना धरापमा

‘नग्न पार्टी’को आयोजना धरापमा


क्यानडामा यही जनवरी १४ का दिन आयोजना गरिन लागिएको ‘नग्न पार्टी’को जमेर विरोध गरिन थालिएको छ । ‘पूल पार्टी’को नाममा पानीमा डुबुल्की लगाउँदै मनाइने नयाँ शैलीको उक्त आयोजनाको विरोधमा अनलाइन अभियान चलाइएको छ र अभियानप्रति हजारौँले सहमति जनाएका छन् ।

१४ जनवरीका दिन क्यानडाको साउथ ल्याण्ड लिजर सेन्टरमा आयोजना हुन लागेको पूल पार्टीको सबै टिकट बिक्री भइसकेको छ, तर अर्कोतिर विरोध पनि चर्कैसँग शुरु भएको छ– किन त ? यसको मूख्य कारणका रूपमा टिकट बिक्रीका लागि जारी विज्ञापनमा ‘पूल पार्टीमा सबै उमेरका मानिस सहभागी हुन सक्नेछन्’ भनी उल्लेख गरिनुलाई मानिएको छ । किनकि, उक्त पार्टी आयोजनमा रोक लगाइनुपर्ने माग गर्नेहरूले बालबालिकाहरूले पनि टिकट खरिद गरेका हुन सक्ने र तिनीहरू यौन उत्पीडनको शिकार बन्ने खतरा रहेको औंल्याएका छन् ।

नग्न पार्टी आयोजकले चाहिँ ‘न्यूडिस्ट कल्चर’ (नाङ्गिने संस्कृति’लाई सही ढङ्गले बुझ्न नसकेकाहरूले प्रतिबन्धको माग गरेको आरोप लगाएको छ । तर, विरोध गर्नेहरूले भने सकभर पार्टी रद्द गर्नुपर्ने नभए बालबालिकालाई त्यसमा सहभागी हुनुबाट रोक्नुपर्ने जिकीर गरेका छन् । लिजर सेन्टरका सञ्चालकले पार्टीबारे पुनर्विचार गरिरहेको समाचार पनि एजेन्सीहरूले प्रकाशनमा ल्याएका छन् ।

क्यालगरी न्यूड रिक्रियशनको वेवसाइटका अनुसार यो एक पारिवारिक समूहको जमघट जस्तै हो, जसलाई हरेक महिना आयोजना गरिने सोच बनाइएको छ । समान सोच भएका मानिसहरू एकसाथ बसेर आनन्द उठाउनका लागि पार्टी आयोजन गरिन लागिएको भन्दै वेवसाइटमा भनिएको छ, ‘बालबालिकालाई स्नेह गर्ने, उनीहरूसँग मित्रता गर्न चाहनेहरूका लागि पनि यो पूल पार्टी गरिन लागिएको हो, जहाँ सबै प्रकारका शरीर भएकाहरू, सबै खालका यौन रुझान राख्नेहरूलाई प्रवेश दिइने छ । बच्चाहरूलाई कुनै किसिमको खतरा हुने छैन ।’

यस पार्टीको विरोध सबभन्दा पहिले अप्रिल पार्कर नामक महिलाले गरेकी हुन् । उनको भनाईमा पार्टी आयोजनाको दौरानमा जथाभावी तस्बिर र भिडियो खिचिने आशङ्का छ, कसैको सहमतिविना लिइने उक्त फोटो र भिडियो एकप्रकारले चाइल्ड पोर्नोग्राफी नै बन्ने छ ।

यसरी अप्रत्याशित रुपले शुरु भएको विरोध अभियानका कारण पहिलो पटक हुन लागेको ‘नग्न पार्टी’को आयोजना नै धरापमा परेको छ ।


(एजेन्सीहरूको सहयोगमा)