आशलाग्दा ‘युवानेता’हरूको नियति

आशलाग्दा ‘युवानेता’हरूको नियति


राष्ट्रिय एकता र मेलमिलापको नीति अघि सार्दै बीपी कोइराला भारत प्रवासबाट स्वदेश फर्किनुभएको पुस १६, अर्थात् नेपाली काङ्ग्रेसले मान्दै आएको ‘राष्ट्रिय मेलमिलाप दिवस’को दिन पारेर काङ्ग्रेसको तेस्रो पुस्ताका आशलाग्दा नेताका रूपमा चर्चित सात ‘युवानेता’को एक सामूहिक अपिल सार्वजनिक भयो । उक्त पाँचबुँदे अपिलको मूल उद्देश्य तत्काल केन्द्रीय कार्यसमिति, महासमितिको बैठक र विशेष महाधिवेशन आह्वानका लागि नेतृत्वलाई ‘बाध्य’ पार्नु थियो । पार्टीको मौजुदा सभापतिलाई अप्रभावकारी तथा अक्षम घोषित गर्दै नेतृत्व परिवर्तन गर्नु नै यतिबेला पार्टीको महाधिवेशन अपरिहार्य ठानिनुको तात्पर्य हो भनी बुझ्न खास माथापच्ची गरिरहनुपर्दैन ।

यस्तो अभीष्टसहित ‘युवानेता’को समूह उद्वेलित बनेको देखिँदा काङ्ग्रेसको आमकार्यकर्ता तहसमेत पार्टीको मुहार, दशा र दिशा परिवर्तन हुने आशामा तरङ्गित बन्न पुग्यो । पार्टीको हारले खुम्चन पुगेका काङ्ग्रेसजनमा यसरी आशाको सञ्चार हुनु स्वाभाविक नै थियो । तर, काङ्ग्रेसका तमाम कार्यकर्ताको आशा र भरोसाको केन्द्रको रूपमा चर्चित युवानेताहरूलाई पौने शताब्दी उमेरका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक भाषणमार्फत तीखो जवाफ फर्काइदिएका छन् । आफू यस उमेरमा पनि चुनावी परिणामबाट निराश नभएको दाबी गर्दै उनले युवाहरू किन यत्तिमै निराश बनेको भन्दै व्यङ्ग्य मात्र गरेनन्, ‘चुनाव आफू हार्ने दोष मलाई दिने ?’ भन्ने प्रश्न तेस्र्याउँदै काङ्ग्रेस–पराजयको गम्भीर प्रसङ्गलाई नै ठट्टामा उडाउने चेष्टासमेत उनले गरेका छन् ।

काङ्ग्रेसजस्तो जिम्मेवार दलका जिम्मेवार सभापतिले यस्तो गैरजिम्मेवार वा हलुका अभिव्यक्ति दिएर पार्टी–पराजयको निम्ति अपजशको अंश रत्तिभर नलिई पन्छिने प्रयत्न गर्नुलाई धेरैले ‘नैतिकता भन्ने शब्दकै अपमान’को रूपमा बुझेका छन् । तर, देउवाको सन्दर्भमा चाहिँ यो सामान्य नै हो भन्दा अस्वाभाविक नठहरिएला । किनकि, पदीय गरिमा वा दायित्वविपरीत योभन्दा ‘दयनीय’ प्रस्तुति उनबाट यसअघि पटक–पटक नभएका होइनन् ।
यसरी सभापतिले ‘पटक–पटक’ आलोचनालायक कर्म गरे पनि ‘युवानेता’हरूले चाहिँ यसपटक मात्रै हुन् विशेष महाधिवेशनसम्मको माग उठाएका ।

काङ्ग्रेसका आशलाग्दा भनिएका नेताहरू आफैँ अस्पष्ट र धरमर–धरमर छन्, जनतालाई सुन्दर भविष्यको सपना देखाउन अग्रसर बनेकाहरू स्वयम् ‘स्वप्नदोष’को सिकार बनेका छन् भने यिनबाट आमकार्यकर्ता र सिङ्गै देशले अब के आश गर्ने ? आफ्नो शक्ति वा क्षमता आकलन गर्न नसकी यी आफैँ भ्रममा रुमलिएका छन् भने यिनले कसलाई कताको बाटो देखाउने, कता डोऱ्याउने ?

चुनावमा भएको लज्जास्पद हार र युवा नेताहरूको तार्किक मागका आधारमा सचेत तप्काले ठानेको थियो– अबचाहिँ काङ्ग्रेस सच्चिने, तङ्ग्रिने र तिखारिने मार्गमा लाग्नेछ ! पार्टीको केन्द्रस्तरकै हैसियत बनाएका सातभाइ युवाले वंशवादको अभीष्ट सिद्ध गर्न लम्किएको जीर्ण नेतृत्वलाई तह लगाएर काङ्ग्रेसमा प्राण भर्नेछन् !! चर्चित पाँचबुँदे अपिलको अन्तिम पङ्क्तिमा उनीहरूले लेखेका पनि थिए, ‘हामी विश्वास दिलाउन चाहन्छौँ– हामी बदलिनेछौँ, काङ्ग्रेसलाई बदल्नेछौँ र राष्ट्रिय राजनीतिमा प्रखर भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुऱ्याउनेछौँ ।’ हो, चुनावमा भोगेको परिणतिबाट कठोर पाठ पढ्दै सङ्कीर्ण तथा ‘आउटडेटेड’ नेतृत्वलाई यथाप्रयत्न गरीकन यी जोसिला ‘जवान’ले यथोचित किनारा लगाउनेछन् भन्ने आश काङ्ग्रेसलाई साँच्चै जीवन्त पार्टीको रूपमा हेर्न चाहनेहरूले राखेका थिए ।

तर, आफू बदलिने, काङ्ग्रेसलाई बदल्ने र राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई प्रखर दलको रूपमा उभ्याउने ‘युवानेता’हरूको दाबी ‘सोम शर्माको सातु’कै कथाको नियतितर्फ धकेलिन लागेको आभास भएको छ । देउवालाई राजीनामा गर्न बाध्य तुल्याई युवापङ्क्तिमा काङ्ग्रेस पार्टीको नेतृत्व सार्ने ‘सपना’ देखाउँदै उरालिएको विरोधको स्वर निकै मत्थर बनिसकेको छ । ‘ऊर्जावान’ युवाहरूको तिख्खर आवाजमाथि पचहत्तर आसपासका देउवाको ‘हप्की’ हाबी हुन पुगेको प्रस्ट महसुस गरिएको छ ।

यसरी, काङ्ग्रेसका आशलाग्दा भनिएका नेताहरू आफैँ अस्पष्ट र धरमर–धरमर छन्, जनतालाई सुन्दर भविष्यको सपना देखाउन अग्रसर बनेकाहरू स्वयम् ‘स्वप्नदोष’को सिकार बनेका छन् भने यिनबाट आमकार्यकर्ता र सिङ्गै देशले अब के आश गर्ने ? आफ्नो शक्ति वा क्षमता आकलन गर्न नसकी यी आफैँ भ्रममा रुमलिएका छन् भने यिनले कसलाई कताको बाटो देखाउने, कता डोऱ्याउने ? जीर्ण बनेको काङ्ग्रेसको अजीर्ण नेतृत्व वाम गठबन्धन तोडेर अझै सत्ताको स्वाद लिने मृगतृष्णामा रम्दै छ । भावी वाम–सरकारले अपनाउने नीति, गति र गन्तव्यबारे छ्यानविचार गरी आवश्यक रणनीति बनाएर अघि बढ्नु यतिबेला नेपाली काङ्ग्रेसलाई समयले दिएको निर्मम चुनौती हो । तर, खिचातानी र झैझमेलामै रमाएर रहने काङ्ग्रेस नेतृत्वपङ्क्तिले यो यथार्थ बोध गर्ने र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गरेर जनताको मन जित्ने सोच बनाउला ? तमाम काङ्ग्रेस कार्यकर्ता एवम् सिङ्गै देशसामु यो प्रश्न सङ्गीन बनेर उभिएको छ ।