शिक्षासेवी डा. पोखरेलप्रति श्रद्धाञ्जलि

शिक्षासेवी डा. पोखरेलप्रति श्रद्धाञ्जलि


दिवंगत पूर्वसभासद् एवं शिक्षासेवी डा बाबुराम पोखरेलप्रति आज पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता एवं शिक्षाकर्मीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मीनभवनस्थित विनायकसुधा(भिएस) निकेतनमा राखिएको उहाँको शवमा उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्वाङ, काँग्रेस नेता चन्द्र भण्डारी, एमाले नेता भानुभक्त ढकाल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

हृदयाघातका कारण यही पुस २३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष डा पोखरेलका एक छोरा विदेशबाट आउन समय लागेका कारण उहाँको आज पशुपति आर्याघाटमा अन्त्येष्टि गर्न लागिएको हो ।

अन्त्येष्टिका लागि मीनभवनबाट शवयात्रा शुरु भएको छ । डा पोखरेलले दोस्रो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)बाट समानुपातिकतर्फबाट सभासद् हुनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् ।