डा. केसीको गलत बाटो

डा. केसीको गलत बाटो


– कुसुम भट्टराई

चार-पाँच वटा ब्रोडसिट दैनिक, चार-पाँच वटा टेलिभिजन च्यानल र केही म्यागेजिनहरुले डा. गोविन्द केसीलाई कसरी उचालिदिए भने डा. साबले आफुलाई ‘महात्मा गान्धी’ या ‘अन्ना हजारे’ नै देख्न थाले । मैले जे भने पनि यो देशको सरकारले मान्नैपर्छ, मेरा साथमा लाखौं जनता छन्, म अदालत, सरकारभन्दा पनि माथि छु भन्ने दम्भ उनमा देखिन्छ । खासमा त्यस्तो पटक्कै हैन ।

यो देश जनताले निर्वाचित गरेको संसद, सरकार र जनअनुमोदित दलले चलाउने हो । डा. केसीले जे-जे भन्यो, त्यही त्यही मान्नुपर्छ भन्ने कुनै दरकार छैन । उनका माग जायज होलान्, तर त्यसलाई लागू गर्न विधिसम्मत प्रकृया र पद्धति छ । अदालतभन्दा माथि उनी पक्कै छैनन् ।

पहिलो त माग राख्ने शैली नै गलत छ । ‘सरकार मेरा माग पुरा गरिनस् भने म आफ्नै हत्या गर्छु’ भनेर धम्की दिनु पनि आपराधिक सोच र मान्यता नै हो । यो आमरण अनसन सत्याग्रह र शान्तिपूर्ण संघर्ष पटक्कै हैन । किनकि, कुनै पनि मानिसलाई अरुको मात्र हैन, आफ्नै शरिरमाथि पनि अत्याचार गर्ने हक छैन । मेरो शरीर मेरो हैन, इश्वरको या अस्तित्वको अदभूत रचना हो । मेरो शरीरसँग अस्तित्वका सारा प्राणीहरुको इको सिस्टम जोडिएको छ । यसको प्राकृतिक स्वभावमाथि हस्तक्षेप गर्न मैले पनि मिल्दैन ।

जस्तै, पिसाब लाग्यो, म पिसाब फेर्दिनँ सहन्छु भनेर म भन्न पाउँदिनँ, त्यो मेरो अधिकार हैन । मैले पिसाब फेर्नुपर्छ र मेरो मुत्राशयको पिडा शान्त गरिदिनुपर्छ । म भोकै बस्छु भनेर पनि मैले भन्न मिल्दैन । भोक मेरो हैन, मेरो शरीरको हो । मैले मेरो आत्माको घरलाई भोकै राख्न मिल्दैन, त्यो अप्राकृतिक हर्कत हो । मेरी आमाले तेल घसेर पुष्ट बनाएको मेरो शरीरलाई मैले जसरी जाँडरक्सी खाएर बिटुल्याउनु हुँदैन, त्यसैगरी भोकै राखेर कमजोर बनाउनुहुँदैन, मिल्दैन । मेरो शरीरमाथि मेरो हक प्राकृतिक लयमा मात्र निहित छ ।

हाम्रो शरीर यो पृथ्वी, यो सौर्य मण्डल, यो ग्यालेक्सी, यो निहारीका र सारा अनन्तकोटी ब्रम्हाण्डको एउटा अंश हो, यो अलग हुँदैहैन, त्यसैले परमात्माको यो विराट श्रृष्टीको एउटा अंशलाई कोटयाउने, घाउ बनाउने, भोकै राख्ने अधिकार कुनै पनि मानिसलाई छैन ।

अभाग, गरीबी र भोकमरीको अवस्थामा बाहेक मसँग साधन र श्रोत छ भने मैले मेरो शरीरलाई प्रकृतिको लयमा सम्यक (पर्याप्त) भोजनका साथ पुष्ट बनाउनुपर्छ र मर्ने बेलामा मेरो आत्मामा ओढाइएको यो च्यादरलाई जस्ताको तस्तै छाडेर जानुपर्छ ।

हरेक मानिसको शरीर प्रकृतीको सम्पदा हो । यही कारण आत्महत्या गर्न कानूनी रुपमै पार्इंदैन । तपार्इं आत्महत्या घाँटी रेटेर, झुण्डीएर या आमरण अनसन बसेर गर्नुस्, के फरक भयो ? आखिर त्यो आत्महत्या नै हो । हिंसा तपार्इं अरुको गर्नुस् या आफ्नो, त्यो हिंसा नै हो । खासगरी ‘मैले भनेको भएन भने म आफैलाई मार्छु’ भनेर राज्यलाइ धम्की दिनु विक्षिप्त र हीन मानसिकता नै हो ।

महात्मा गान्धीले पनि आमरण अनसन बसेका थिए, तर उनको अनसनले भारत पाकिस्तान टुक्रिनबाट जोगिएन । हिन्दु मुस्लिम दंगा रोकिएन । दशौं लाख मानिस मारिए । बाध्य भएर उनले भने, ‘बाँट दो ।’ गान्धीको अनसनको ओशोदेखि रवीन्द्रनाथ टैगोरसम्मले विरोध गरेका थिए ।

आफ्ना माग पुरा गराउन आमरण अनसन बस्ने अर्थात आफ्नो हत्या आफै गर्छु भनेर धम्की दिने कुराकै म सख्त विरोधी हुँ । डा. केसीका मागका बारेमा यसपछि मात्र बहस गर्ने कुरा आउँछ । पहिलो त डा. साबको तरीका नै गलत छ ।