सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि, सरकार र उद्योगीले कार्टेलिङ गरेको आरोप

सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि, सरकार र उद्योगीले कार्टेलिङ गरेको आरोप


छविलाल बगाले
पछिल्लो एक महिनामा निर्माण सामग्रीहरुको मूल्यमा अस्वभाविक ढंगबाट मूल्यबृद्धि भएको छ ।

उद्योगीहरुले भारत र चीन लगायतका मुलुकबाट आउने कच्चापदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरेका हुन् । विगत एक महिनायता फलामे डन्डी र सिमेन्टको मुल्यमा भारी बृद्धि भएको छ ।

उद्योगीहरुले चीन र भारत लगायतका मुलुकबाट नेपाल आउने कच्चा पदार्थमा मुल्यबृद्धि भएका कारण नेपालमा पनि निर्माण सामग्रीको मुल्यमा बृद्धि भएको जिकिर गरेका छन् ।

एक महिनाअघिको तथ्यांक मात्रै हेर्ने हो भने छडको मूल्यमा प्रति किलोग्राम ८ देखि १० रुपैयाँसम्मले वृद्धि भएको छ भने सिमेन्टमा एकसय रुपैयाँसम्म बृद्धि भएको छ ।

यसरी उद्योगीहरुले निर्माणजन्य बस्तुमा एकाएक मूल्यबृद्धि गर्नु कमिशनको खेल भएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले बिरोध जनाएका छन् । उद्योगी र सरकार मिलेर कार्टेलिङ गरेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँको दावी छ ।

पछिल्लो समय अप्रत्यासित रुपमा सिमेन्ट र स्टील छडको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । निर्वाचनअघि ७८ रुपैयाँ किलोमा कारोबार भएको स्टिल छडको मूल्य ८५ रुपैयाँ पुगेको छ भने एक बोरा सिमेन्टको मूल्य ८ सय १० बाट बढेर ९ सय १० सम्म पुगेको छ ।

बजारमा निर्माण सामाग्रीको मुल्यमा बृद्धि भएको गुनासो आएपछि आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन थालेको छ । विभागले तराईमा रहेका उद्योगको अनुगमनका लागि टोली पठाइसकेको जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले मुल्यबृद्धिका बारेमा पटक पटक उद्योगीहरुलाई सोधपुछका लागि बोलाएपनि अटेर गरेर बसेको जानकारी दिए । उनले आज साँझसम्ममा सत्यतथ्य पत्ता लगाएरै छाड्ने बताएका छन् । ‘ब्यवसायीको मनपरी चल्दैन् ।’ उनले भने, ‘यसमा सरकारको मिलेमतो छैन् । आफूखुसी मूल्य बढाउने उद्योगीहरुलाई कारबाही गर्छुु ।’

उता, नेपाल सिमेन्ट उत्पादक संघले भने उत्पादन र ढुवानी लागत बढेकाले मूल्य बढाउनुपरेको जनाएको छ । अन्तराष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाएको ब्यवसायीहरु बताउँछन् ।

सिमेन्ट र छडमा एक्कासि मुल्यबृद्धि गरिदाँ भुकम्प प्रभावित जिल्लाका भूकम्पपीडित, सर्बसाधारण र ठूला आयोजनाहरुमा प्रभाव परेको छ । निर्माण व्यवसायी महासंघले पनि विभिन्न प्रकारका निर्माण सामग्रीमा बढेको मूल्य तत्काल फिर्ता गर्न माग राखेको छ ।

सिमेन्ट, छड र बालुवामा भएको मूल्य बृद्धिले निर्माण प्रक्रियामात्र रोकिने नभइ समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकोले विनाशर्त बढेको मूल्य फिर्ता गर्न पहल गरिदिन सरकारसँग महासंघले समेत माग गरेको छ ।