कहाँ छ प्रवासीसँग त्यत्रो रकम ?

कहाँ छ प्रवासीसँग त्यत्रो रकम ?


एनआरएनका सभापति भवन भट्टले नेपालमा भर्खरै धितोपत्र बोर्डका हाकिमसँग एनआरएनहरूले तत्काल शुरुमा १० अर्ब लगानी गर्न तयार रहेको गफ दिएछन् । एकातिर हाँसो लागेर आयो अर्कोतिर संस्थाको पदको आडमा आन्तरिक र गोप्य धन्दा गर्नेहरूका लागि कालोलाई सेतो बनाउने गतिलै सूत्रको सूत्रपात गरिन लागिएछ भन्ने पनि लाग्यो । तत्काल उपलब्ध हुने १० अर्ब एनआरएनहरूसँग कहाँ छ ? कि त उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र स्वयम् भट्टका लुकिएका, श्रमजीवी प्रवासीहरूले देख्नै नसक्ने र हेर्नै नमिल्ने अनि नेपालका सत्ता, नेता, स्वार्थमा झिकिने धनराशिबाहेक कहाँ छ त्यो रकम वर्किङ क्लासका प्रवासीहरूसँग ?

डोल्मा शेर्पाको लुकाइएको ब्लडमनि सावाँ र ब्याजको लगभग १ करोड नेपाली रकमले १० अर्ब पुग्दैन । लाप्राक र आफ्नै भवन निर्माणले ऐया–ऐया र थिलथिलो परेको एनआरएनए आफैँसँग १० अर्ब लगानी गर्ने रकम छैन । आफ्नै कार्यालय र घरमा सारिएको एनआरएनको कार्यालय हेर्दा टीठलाग्दो छ । संस्थासँग आम्दानीको भरपर्दो न त स्रोत छ, न त नीति एवम् कार्यक्रम जसले व्यय थेग्न सकोस् । संस्थाको केन्द्रदेखि शाखासम्म न त आन्तरिक सुव्यवस्थापन छ संस्थामा, न त यिनका ७५ शाखामा कार्यालय, न त पारदर्शिता नै ।

अर्को कुरा भट्टसँग अहिले विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्वका अधिकांश मुलुकले हस्ताक्षर गरेको मनी लन्ड्रिङ कानुनको हेक्का रहेनछ । यस कानुनले गर्दा अमेरिकाकाबाट भट्टले भनेको १० अर्ब त के एक कौडी पनि नेपाल जान सक्दैन । अब हुण्डी र गैरकानुनी डलर नेपालमा जानै सक्दैन र यदि कसैले कर दाखिला नगरिएको गैरकानुनी रकम नेपालमा लगेर लगानी गर्ने अभ्यास अब चल्नेछैन । आइआरएस र अमेरिकन सरकारको कडा निगरानी, मनी लन्ड्रिङ र व्यक्तिगत डलर ओसारपसार गर्न लगाइएको रोकले अमेरिकामा बस्ने कुनै प्रवासीले एक डलर पनि नेपाल लैजान सक्दैनन् लगानीका नाममा, हेक्का रहोस् ।

अब कुनै व्यक्तिले वा समूहले कर्पोरेसन वा एलएलसी स्थापना गरी अमेरिकन सरकारको अप्रुभलमा मात्र वैदेशिक लगानी गर्न सक्छ । तर, दोहोरो आयकर, यहाँको फेडेरल एवम् स्टेट कर बुझाउनुपर्ने हुन्छ र नेपालमा समेत भनेपछि घन्टा–घन्टा हिसाब गरी दुःखजेलो गरेर जीवन गुजारा गर्दै गरेका अमेरिकामा बस्ने नेपाली प्रवासीले भट्टको १० अर्बमा एक सिन्को र एक कौडी सामीप्यता गर्न सक्ने छैनन् । अर्को कुरा एनआरएन अमेरिका एवम् स्वयम् आईसीसीले प्रवासीहरूको नजरमा विश्वास गुमाइसकेको अवस्थामा भट्टको मुखका भरमा १० अर्ब यिनका पोल्टामा प्रवासीले लगेर डलर फाल्दैनन् पनि ।

नेता भइसकेपछि व्यावहारिक कुरा गर्नुपर्ने हुन्छ । एकछिनको लहड, एक्साइटमेन्ट र निर्दोष मानिसको नाममा अदृश्य खेती गर्ने यस खालको मनसायले संस्था डुब्न सक्छ । कमनसेन्स, आफ्नै विवेक र विषयवस्तुमा विश्लेषण र चिरफार गर्ने टिमवर्क भएमा मात्रै नेता सजग हुन सक्छन्, तर टिममा ताली पड्काउने, उचालिदिने, प्रशंसा मात्र गरिदिने हनुमान र झिल्केहरू हुँदा संस्थामा नेताले दुरुपयोग गर्ने अवसर प्राप्त हुन सक्छ । आश्चर्य के लागेर आयो भने व्यवसाय नै गर्ने, अनुभव भएका र भट्टका अमेरिकातिरका क्षेत्रीय मालिकहरूको सामान्य कमनसेन्स प्रयोग नगरीकनै भट्टका दशअर्बेे गफ फेसबुकमा सेयर गरेको देख्दा लाज लागेर आयो ।

– सानुबाबु सिलवाल, हाल : यूएसए