जनयुद्ध कालमा क. बादललाई विमानबाट काठमाडौं ल्याउँदा

ती दिनहरू– ६

– रवीन्द्र श्रेष्ठ



जनयुद्धको उत्कर्ष बेला थियो । वार्ता आदि केही भैरहेको थिएन । प्रचण्ड, किरण, बादल, बाबुराम सर्वाधिक खोजी गरिएका नेताहरू थिए । सबै नेताहरूलाई देख्नेवित्तिकै गोली हान्ने आदेश सरकारले शाही सेना र प्रहरीलाई दिएको थियो । सरकारकै एक मन्त्रीले माओवादी नेताहरूको टाउको झोलामा ल्याउनु, उनीहरूमाथि तोकिएको टाउकाको मूल्यबराबरको नोट झोलामा हालेर लानु भन्न थालिसकेका थिए ।

यस्तो बेला पनि महत्वपूर्ण निर्णयहरू गर्न केन्द्रिय समिति वा पोलिटब्युरोको बैठक हुने गर्दथ्यो र यस्ता निर्णयहरू बारे प्रमुख नेताहरूले नै महत्वपूर्ण कार्यकर्ताहरू भेला गरेर प्रशिक्षण दिने समेत परम्परा बसेको थियो । यसले नेताहरूमा सामुहिक निर्णय र सामुहिक जिम्मेवारीको भाव पैदा हुन्थ्यो भने कार्यकर्ताहरूमा पनि निर्णयहरूको सही सम्प्रेषन हुने गर्दथ्यो र उत्साह पैदा गराउँदथ्यो ।

यस्तै एक बैठक भारतको सिलिगुडी नजिक भएको थियो । त्यस बैठक सकिएपछि कमरेड बादल र म काठमाडौं आउनुपर्ने थियो । हामीलाई काकडभिट्टा प्रवेश गर्न कठिन थिएन । त्यहाँ नेपाल आउने अनेकौँ नाका थिए । नेपाल–भारत खुल्ला सीमाको फाइदा राम्रैसँग हामीले पनि लिइरहेका थियौँ । गम्भीर समस्या भनेको सीमाना कटेपछि कसरी काठमाडौं पुग्ने भन्ने थियो । त्यसमाथि कमरेड बादललाई काठमाडौं ल्याउने काम गम्भीर खतरायुक्त थियो ।

मैले प्रचण्डसँग यसपाली नयाँ तरिकाबाट काठमाडौं जाने योजना सुनाएँ । नयाँ तरिका झन् खतरा पो हुने हो कि भन्ने शंका व्यक्त गर्दै विचार गरेर सुरक्षीत ढंगले जानुस् भनियो । मैले ‘मेरो जिम्मा भयो, जसरी ठिक हुन्छ लगौँला’ भन्दै बादल र उहाँकी श्रीमतीसहित हामी विदा भएर काकडभिट्टा आयौँ । बाटोमा मैले कमरेड बादलसँग विमानबाट काठमाडौं जाने विस्तृत योजना सुनाएँ । मेरो तर्क के थियो भने सडक बाटो भएर कुनै गाडि रिजर्भ गरेर जाँदा वा रात्री बसमा जाँदा बीच बाटोमा कम्तिमा पनि तीस–पैतीस ठाउँमा प्रहरी र शाही सेनाको चेकिङ हुने गर्दछ, तर विमानबाट काठमाडौं जाँदा दुई वटा विमानस्थलको चेकिङ मात्रै पार गर्नु पर्दछ, धेरै ठाउँको जोखिम मोल्नुभन्दा थोरै ठाउँको जोखिम मोल्नु नै सही हुन्छ । साथै बादल र रवीन्द्रहरू विमानबाट यात्रा गर्छन् भनेर त्यो बेलाका सुरक्षा निकायले सोच्न सक्दैन भन्ने मेरो तर्क थियो । मेरा कुरा सुनेर बादल एकछिन हाँस्नु भयो । त्यसपछि उहाँले भन्नु भयो, ‘ल आज छापामार तरिका अपनाउने विमान चढेर, जे पर्ला–पर्ला जोखिम त सबैतिर छ ।’ बादलको र मेरो रिसेन्ट फोटो त्यो बेलासम्म सेना र प्रहरीको हातमा नपरेकोले पनि हामीलाई चिन्न विमानस्थलका सुरक्षाकर्मीहरूलाई कठिन हुने मेरो अनुमान थियो ।

काकडभिट्टा नजिकबाट काठमाडौं जाने विमानस्थल दुईवटा छन्– भद्रपुर र विराटनगर । नेपाल–भारत सीमाना कटेर काकडभिट्टा पुगेपछि उहाँहरूलाई एक चिया खाने होटलमा छोडेर म नजिकैको ट्राभल एजेन्सीमा गएँ । तर भद्रपुरबाट काठमाडौं जाने सबै विमान उडिसकेका रहेछन् । ट्राभल एजेन्सीको भाइले विराटनगरबाट काठमाडौं जाने विमान भने बाँकी रहेको बताए । अनि मैले विराटनगर पुग्न सानो गाडि पाइन्छ कि पाइन्न भनि सोधें । ती भाइले त्यसको पनि बन्दोवस्त हुने बताए । त्यसपछि विराटनगर काठमाडौंको तीनवटा टिकट लिएँ । ती भाइले एकै छिनमा गाडिको बन्दोवस्त गरिदिए । अनि हामी विराटनगर तिर हानियौँ ।

आफ्नो ठाउँमा पुगेपछि बादलले भन्नुभयो– ‘प्लेन चढेको कुरा प्रचण्डलाई बाहेक कसैलाई थाहा नदिनु । पछिलाई पनि काम लाग्ने रहेछ । प्रचण्डलाई पनि यसरी नै ल्याउन सकिने रहेछ ।’ मैले भनेँ– ‘हाम्रा आधार इलाकाहरूमा धेरै दमन भयो भने यहाँको एअरपोर्टलाई कब्जामा लिएर प्लेन हाइज्याक गर्न पनि सकिने रहेछ । आखिर बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि समस्या पर्दा प्लेन हाइज्याक गरेकै हुन् ।’

विमान छुट्यो भने हाम्रो अर्को बिचल्ली हुने थियो । गाडि चलाउने भाइले पनि राम्रै गतिमा गाडि कुदाए । बाटोमा अनेकौ तर्कबितर्क मनमा आइरहे । कतै विमानस्थलहरूमा पहिलेभन्दा कडा सुरक्षा व्यवस्था गरेको त छैन ? कतै हामीलाई चिन्ने सरकारी मानिसहरू पो भेट हुने हो कि ? कथम्कदाचित केही दुर्घटना भयो भने सबै दोष मलाई आउने निश्चित थियो । खुब जान्ने भएर विमान चढेको वा सुविधाभोगी भएर विमान चढेर भन्ने आरोप आउने र आफुहरू पनि भित्र परिने वा ज्यानै जाने खतरा थियो । अर्को मनले फेरि भन्थ्यो कि तीस–पैंतीस ठाउँमा जोखिम मोल्नुभन्दा दुई ठाउँमा जोखिम मोल्नु नै सही हो र कसैले पनि हामीजस्ता टाउकाको मूल्य तोकिएका मानिस बिमानबाट यात्रा गर्छ भन्ने सोच्दैन । यस्तै–यस्तै सोच्दै काकडभिट्टा विराटनगर यात्रा चलिरह्यो । हामी पन्द्र मिनेटअगाडि नै विराटनगर विमानस्थल पुग्यौँ ।

विराटनगर विमानस्थलबाट अलिवरै हामी ओर्लेर गाडिलाई विदा गऱ्यौं । उहाँहरूलाई एकछिन त्यहीँ राखेर म विमानस्थलभित्र पसेँ । त्यहाँ त निकै भिडभाड रहेछ । कुनै मन्त्री आउँदै रहेछ । भरखरै काठमाडौंबाट आएको विमान ल्याण्ड गरेको रहेछ । मैले सोचेँ ठिकै भएछ । सबैको ध्यान मन्त्रीतिर थियो । हामीसँग लगेजहरू केही पनि थिएन । मैले बोर्डिङ पास लिएँ । एकछिनपछि मन्त्री आएर भिआइपी कक्षमा वसे । जिल्लाका सिडिओ र सुरक्षा निकाय प्रमुखहरू पनि त्यहीँ थिए । कार्यकर्ताहरूको भीडभाड थियो । विमान चाँडो फर्कन खोजेकोले हामीलाई यात्रुहरूलाई छिटो विमानमा जान भनियो । म हतार–हतार बाहिर आएर उहाँहरूलाई लिएर गएँ ।

सुरक्षा चेकिङ हुने लाइनमा अरु यात्रुहरू खडा थिए, त्यसमै सबभन्दा पहिला बादल कमेरेडकी पत्नी, त्यसपछि बादल र त्यसपछि म उभीयौँ । अरु यात्रुहरू पनि हाम्रा पछि थपिए । अरु सबैका केही न केही झोला थिए । हाम्रो भने बादल कमरेड कि पत्नीको सामान्य लेडिज व्याग वाहेक हामी संग केही थिएन । प्रहरीहरू हतार हतार चेकिङ गर्दै थिए । त्यही हुलमुलमा हामी सबैले सुरक्षा निकायको चेकिङ पार गऱ्यौं र फटाफट विमानतर्फ लाग्यौं । मलाई ठुलो राहतको अनुभव भयो । जे होस् एउटा खड्गो पार गरियो भन्ने लाग्यो । विमान एकैछिनमा रनवेमा बेस्सरी कुद्यो र हामीलाई लिएर नेपाली आकासमा उड्न थाल्यो ।

करिव ३५ मिनेटको त्यो यात्रामा कहीले धर्तीमा र कहीले बादलका टुक्राहरू भएको निलो आकाशमा हेर्दै काठमाडौंको विमानस्थलमा के–कसो होला भन्ने कल्पना गर्दै समय बिते । विमानले काठमाडौंको रनवेमा छोए पछि मनमा अनेक आशंकाहरू पनि आएका थिए । तर मनभित्रको एक कुनोले भनिरहेको थियो कि कसले सोचेको होला र हामीजस्ता टाउकाको मूल्य तोकिएका मानिसहरू विमानस्थलको कठोर सुरक्षा धेरालाई चुनौती दिएर त्यहीँबाट आउँछन् होला भनेर ?

विमान रोकिएपछि सबै यात्रुसँगसँगै हामी पनि निर्धारित बाटो बाटवाहिर निस्कन थाल्यौँ । काठमाडौंको सुरक्षा चेकिङ त विराटनगरको भन्दा पनि कमजोर रहेछ । हामी खुरु–खुरु अरु यात्रीहरूसँगै वाहिर निस्क्यौँ । मैले एक टैक्सी लिएँ र त्यसैमा हामी सबै वसेर आफ्नो ठाउँमा लाग्यौँ ।

आफ्नो ठाउँमा पुगेपछि बादलले भन्नुभयो– ‘प्लेन चढेको कुरा प्रचण्डलाई बाहेक कसैलाई थाहा नदिनु । पछिलाई पनि काम लाग्ने रहेछ । प्रचण्डलाई पनि यसरी नै ल्याउन सकिने रहेछ ।’ मैले भनेँ– ‘हाम्रा आधार इलाकाहरूमा धेरै दमन भयो भने यहाँको एअरपोर्टलाई कब्जामा लिएर प्लेन हाइज्याक गर्न पनि सकिने रहेछ । आखिर बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि समस्या पर्दा प्लेन हाइज्याक गरेकै हुन् ।’

प्रतिक्रिया