गौतमबुद्ध मुटु अस्पतालमा अत्याधुनिक इको मेसिन

गौतमबुद्ध मुटु अस्पतालमा अत्याधुनिक इको मेसिन


गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा नेपालमै पहिलो अत्याधुनिक इको मेसिन जडान भएको छ । GE Healthcare, USA को Vivid E95 मोडलको ईको मेसिन नेपालकै पहिलो रहेको अस्पतालले जनाएको छ ।

यस मेसिनले मुटुका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले जानकारी गराए । दुई करोड मुल्यको सो मेसिनको प्रयोगबाट धेरैभन्दा धेरै बिरामीको उपचार तथा जटिल प्रकारका परिक्षणहरु पनि हुने उनको दाबी छ ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जिई कम्पनीको लेटेष्ट कम्पनीको ईको मेसिनबाट मुटुको पछाडीको भागको रहेको सामान्य समस्या समेत पत्ता लगाउन सहज हुने बताए । सामान्य ईको मेसिनबाट पत्ता लगाउन नसकिने समस्याहरु पनि यस मेसिनले पत्ता लगाउन सक्ने उनको दाबी छ । मुटुका बिरामीलाई उपचारका लागि बुटवलबाहिर जानु नपर्ने अवस्था सिर्जना गर्नका लागि प्रविधि जडानमा जोड दिइएको उनले बताए ।

मूल्यको हिसाबले यो मेसिन महँगो भएपनि विरामीसँग शुल्क लिँदा सामान्य ईकोको शुल्कअनुरुप नै लिइने अस्पतालले जनाएको छ । अस्पतालले यसअघि क्याथ ल्याब सञ्चालनमा ल्याएको थियो ।

उक्त अस्पतालले जग्गाप्राप्तिको प्रक्रिया अगाडी बढाइरहेकोले जग्गाप्राप्तिपछि सुविधासम्पन्न भवन निर्माण गरिने पनि बताएको छ । बुटबलका उद्योगीहरुको पहलमा यो अस्पताल सञ्चालनमा आएको हो ।

– चन्द्रकान्त खनाल