‘ज्युँदो शहीद’ रामभरत साह भन्छन्- ‘अबको लडाइँ सुकिला-मुकिलाविरुद्ध’

37 Shares

प्रजातन्त्र पुनर्स्थापनालगत्तै कुनै बेला यस्तो पनि थियो, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एक भेट पाउन विजय गच्छदार, जेपी आनन्दजस्ता नेताहरू बालुवाटारका सेक्युरिटी गार्डहरूसँग खुसामद गरिरहेका हुन्थे भने रामभरत साह कसैसँग सोधपुछ नगरी सरासर कोइरालाको बेडरुममै पुग्ने हैसियत राख्दथे । आन्दोलनका क्रममा प्रदर्शन गरेको जुझारू भूमिकाका कारण रामभरतको यस्तो हैसियत बनेको थियो । तर, विजय गच्छदारहरू अढाइ दशक लगातार सत्ता–शक्तिमा रहँदा रामभरत साह अझै सडकमै छन् । आन्दोलनका कठिन दिनमा नेतृत्व गर्दा प्रहरी–यातनाका कारण घाइते भई थिल्थिलिएको शरीर बोकेर रामभरत यतिबेला ‘पार्टीका सुकिला–मुकिलाहरूविरुद्ध आन्दोलित हुनुपर्ने अवस्था निम्तिएको’ अमिलो यथार्थ महसुस गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

हो, ०४६ का चर्चित आन्दोलनकारी युवा रामभरत साहले आज भोगिरहेको यथार्थ मर्मस्पर्शी मात्र नभई कुनै पनि इमानदार, स्वाभिमानी लोकतन्त्रवादीको हृदयमा आक्रोश र विद्रोहको भाव पैदा गराउने प्रकारको छ ।

वि.सं. २०१६ मा धनुषाको सबैला भन्ने स्थानमा जन्मिएका रामभरत साहलाई ज्युँदो शहीदको रूपमा पनि चिन्दछन्, अलिक पुराना लोकतन्त्रवादीहरूले । ०३२ सालमा नेपाल विद्यार्थी सङ्घ र ०३४ सालमा काङ्ग्रेसकै चवन्नी सदस्यता लिएर आफूलाई प्रजातान्त्रिक आन्दोलनमा होमेका रामभरत ०३६ को विद्यार्थी आन्दोलनदेखिकै चर्चित पात्र हुन् ।

०४६ ताक उनी विश्वविद्यालय पढ्दै गर्दा आन्दोलनको आगो सल्काउन चन्द्रशेखर चाक्सीबारी आएका थिए । त्यसपछि गणेशमान सिंहले आ–आफ्नो गाउँ–शहर पुगेर आन्दोलन गर्ने निर्देशन दिएपछि रामभरत पनि दायाँबायाँ नसोची पुगेका थिए आफ्नै गाउँ–जिल्ला धनुषा ।

पञ्चायतविरुद्धको आन्दोलन अन्यत्रजस्तै जनकपुरमा पनि सुकिसकेको परिवेश थियो त्यो । तत्कालीन पञ्चायती व्यवस्थाका स्थानीय पृष्ठपोषकहरू छाती ठोक्दै प्रजातन्त्रवादीहरूलाई सडकबाटै चुनौती दिन्थे । त्यस्तो बेला रामभरत पुगेका थिए आन्दोलन उराल्न । पञ्चहरू ‘खै कहाँ गए काङ्ग्रेसी ?’ भन्दै मनपरी गालीगलौज गरेर कुर्लिएको रामभरतलाई सैह्य भएन । जनकचोकमा उनी प्रहरीबाट बच्न लुकेर बसेका थिए । त्यस्तै बेला एक पुराना काङ्ग्रेसी कार्यकर्तालाई पञ्चहरूको समूहले समातेर त्यत्तिकै गालामा चड्काए । यो देखेपछि रामभरतभित्र आक्रोशको आगो दन्कियो । त्यतिबेला आफू एक्लै हुनाले उनले केही गर्न सकेनन् ।

भोलिपल्ट चारजना साथीको समूह बनाएर पञ्चायतको पुत्ला जलाउने तयारी गरे । पुत्ला त जलाए, तर प्रहरीको निगरानीबाट उम्कन सकेनन् । चारैजनालाई प्रहरीले समातेर प्रहरी–जिपको पछिल्तिर खुल्ला क्यारिएरमा राखी प्राणान्त हुने गरी कुट्दै नगर परिक्रमा गर्न थाले प्रहरी । रामभरत भन्छन्, ‘सबैले हाम्रो दुर्दशा देखे । हामीलाई निकै कष्ट त भयो, तर त्यो प्रकरणले आन्दोलन जगाउनचाहिँ भयङ्कर सघायो । सुस्ताएका लोकतन्त्र पक्षधरहरू यसरी पनि मानिस कुटिन्छ, वाफ रे वाफ ! भन्दै आन्दोलनका लागि जागृत भए ।’

एक दिन जब गिरिजाबाबुले ‘भरत, तिमी मलाई भेट्न मैया (लीला कोइराला) मार्फत आऊ न’ भनी प्वाक्क भनेपछि रामभरतले कसम खाँदै भनिदिए, ‘गिरिजाबाबु, मेरो योगदान लीला कोइरालाको पछि लाग्न होइन, पार्टीको हितका लागि हो । आजदेखि म तपाईंको ढोकामा टेक्दै टेक्दिनँ ।’

रामभरतलाई कुट्दाकुट्दै बेहोस तुल्याएपछि स्थानीय अस्पतालमा लगेर फ्याँकेछ प्रहरीले । संयोग यस्तो परेछ कि उक्त अस्पतालका डाक्टरहरू धेरैजसो काङ्ग्रेससमर्थक (प्रजातन्त्रवादी) नै थिए । मरेतुल्य हुन पुगेका रामभरतलाई चिकित्सकहरूले विशेष ख्याल गरी होसियारीसाथ उपचार गरेपछि तीन–चार दिनमा उनको होस खुल्यो । तर, त्यसरी घाइते बनेका उनले एक वर्ष लगातार अस्पताल बस्नुपऱ्यो भने तीन वर्षसम्म आलो घाइते बनेर रहे उनी । र, हालसम्म पनि आफ्नै खर्चमा उपचार गर्न विवश छन् ज्युँदा शहीद रामभरत साह ।

यसरी शुरु भएको रामभरतको सङ्घर्ष–यात्रा आज लगभग चार दशक बित्न लाग्दा पनि जारी नै छ । पञ्चायत ढल्यो, प्रजातन्त्र पुनस्र्थापना भयो, त्यसले पनि नपुगेर गणतन्त्र आएको भनिएको छ, तर रामभरतजस्ता जुझारु र इमानदार लोकतन्त्रवादीहरू सडकमै छन् । आमनेपालीको हालत गएगुज्रेको नै छ ।

बाबुबाजे पनि ०७ सालको आन्दोलनमा सहभागी भएका र बाबुबाजेले प्रजातन्त्रको आन्दोलन, बीपीलगायत नेताका योगदानका कथा सुनाउँदासुनाउँदै आफूभित्र पनि सानैदेखि काङ्ग्रेसमा आबद्ध भई प्रजातन्त्रको लडाइँ लड्ने दृढ भावना जागृत भएको जोसका साथ सुनाउँछन् उनी । ०४६ को आन्दोलनमा खेलेको भूमिका हेरेर ०६२/६३ मा पनि रामभरतलाई धनुषामा जुलुसको अगुवाइ गर्ने महत्वपूर्ण जिम्मेवारी दिइयो, सबै दलको सहमतिमा । हरेक जुलुसमा उनी नै अगाडि हुन्थे ।

सक्रिय राजनीतिका अलावा उनी सक्रिय पत्रकारितामा पनि थिए । समाजसेवी चरित्रका कारण संस्था नै खोलेर देशमै पहिलोपटक संस्थागत रूपले दाइजोप्रथाको विरोध गर्ने व्यक्ति पनि हुन् रामभरत । राजा ज्ञानेन्द्रको शासनकालमा जनकपुरको अञ्चल प्रशासक थिए जनक जङ्गली नामका व्यक्ति । निरङ्कुश चरित्रका ती प्रशासकको क्रूरताबारे सुनेकै भरमा पत्रकारितासमेत गर्दै आएका रामभरतले लेखिदिएछन्, ‘जनकपुरमा जनक जङ्गलीको जङ्गल राज !’ यो शीर्षकमा समाचार प्रकाशित भएपछि जनक जङ्गली आगो भई रामभरतलाई पक्राउ गर्न प्रहरी खटाए । माओवादीलाई सरह व्यवहार गर्ने भनी तिनले अफिसियल माइन्युट नै गराएछन् । साह भन्छन्, ‘मलाई पक्रिएर इन्काउन्टर गर्ने चाल चलेको सुइँको एक प्रहरी इन्स्पेक्टर (स्कुलको साथी)बाट थाहा पाएर ‘जङ्गलीको हातबाट बित्थामा किन मर्ने, आफूलाई जोगाउनैपऱ्यो’ भन्ने सोचले म भूमिगत नै हुनुपऱ्यो ।’

जङ्गलीबाट बच्न पत्नीलाई समेत थाहा नदिई उनी महिलाको भेषमा घरबाट राति सुटुक्क निस्केका थिए । निकै कष्टका साथ एक महिना अन्डरग्राउन्ड भई बिताएपछि ०६२/६३ को आन्दोलन घोषणा भयो । अनि मात्र खुलेर जुलुसको नेतृत्व गर्न थालेका थिए उनले ।

आन्दोलनको उत्कर्षतिर जनकपुरको विद्यापति चोकबाट एक दिन जुलुस लिएर अघि बढ्ने क्रममा एसएसपी कार्यालयनजिक सुरक्षाकर्मीको समूहसँग जम्काभेट हुँदा जुलुसले उग्र रूप लियो । प्रहरीहरूमाथि झम्टिएर आक्रमण गर्ने मानसिकता जुलुसले देखायो । जनक जङ्गली पनि त्यहीँ रहेछन् । उनी त्यहाँ भएको थाहा पाएपछि त भीड निकै उग्र भयो । जङ्गलीलाई मारेर मात्र जुलुस अघि बढ्ने भन्दै आन्दोलनकारीले हठ गर्न लागे । त्यो उग्रता साम्य नपारे ठूलै घटना हुने र धेरैको ज्यान जाने सम्भावना देखियो । यसपछि आफैँ अति जुझारू स्वभावका भएर पनि रामभरतले निकै संयमता अपनाए र बडो यत्नका साथ जुलुसलाई नियन्त्रण गरे । ‘रामभरतको हत्या गर्न खोज्ने जनक जङ्गलीलाई मार्नैपर्छ भनी साथीहरू भन्थे, मचाहिँ उनीहरूलाई सम्झाउन लागेँ । त्यो दिन मैले नरोकेको भए दुवैतर्फ लासैलास हुन्थ्यो । मैले त्यो जुलुस नियन्त्रण गर्न सकेकोमा सबैले प्रशंसा गरे,’ सम्झन्छन् रामभरत ।

यस घटनापछि जनक जङ्गलीले समेत उनको प्रशंसा गर्न थालेछन् । ‘उसले भीडलाई छाडा छोडिदिएको भए मेरो ज्यान जाने निश्चित थियो, मैले ज्यान लिन खोजेको रामभरतले गर्दा नै आज मेरो ज्यान बच्यो, ऊप्रति कृतज्ञ छु’ भनी तिनले भन्ने गरेको रामभरतको कानसम्म पनि आइपुग्यो । तर, उनले कुनै वास्ता राखेनन् ।

‘रामभरतको हत्या गर्न खोज्ने जनक जङ्गलीलाई मार्नैपर्छ भनी साथीहरू भन्थे, मचाहिँ उनीहरूलाई सम्झाउन लागेँ । त्यो दिन मैले नरोकेको भए दुवैतर्फ लासैलास हुन्थ्यो । मैले त्यो जुलुस नियन्त्रण गर्न सकेकोमा सबैले प्रशंसा गरे,’ सम्झन्छन् रामभरत । यस घटनापछि जनक जङ्गलीले समेत उनको प्रशंसा गर्न थालेछन् । ‘उसले भीडलाई छाडा छोडिदिएको भए मेरो ज्यान जाने निश्चित थियो, मैले ज्यान लिन खोजेको रामभरतले गर्दा नै आज मेरो ज्यान बच्यो, ऊप्रति कृतज्ञ छु’ भनी तिनले भन्ने गरेको रामभरतको कानसम्म पनि आइपुग्यो ।

‘देशमा गणतन्त्र आएको भनिएको छ, के–कस्तो देशको चाहनामा तपाईं आन्दोलनमा होमिनुभएको थियो र आज त्यो हासिल भयो कि भएन त ?’ भन्ने प्रश्न गर्दा रामभरत भावुक हुन पुग्छन् ।

भन्छन्, ‘कुनै बेला माघको जाडोमा जङ्गलमा लगेर पनि फालेका थिए मलाई पञ्चायती शासनका मतियारहरूले, त्यतिबेला बरु दुःख लागेको थिएन, तर आज दुःख लागेको छ । ०४७–४८ देखि नै काङ्ग्रेसका नेताहरूले बाटो बिराउन थालेका थिए । हामीजस्ता घाइते, अपाङ्ग र शहीद परिवारको नाममा सङ्कलन भएको एक करोड चार लाख रुपैयाँ हामीले पाएनौँ, बरु त्यतिबेलाका चल्तापुर्जा नेतापुत्रहरूले उक्त रकम दुरुपयोग गरी युरोप सयरमा गएकोसमेत सुन्नुपऱ्यो ।’

‘यसपछि जनआन्दोलनका घाइते–अपाङ्गहरूलाई मैले एकगठ गरेँ र ‘जनआन्दोलन पीडित समिति नेपाल’ भन्ने संस्था नै बनाएँ । आठबुँदे माग अघि सारेर धर्नामा पनि बस्यौँ । तर, उपलब्धि भएन, झारा टार्ने हिसाबले मात्रै सरकारले व्यवहार गऱ्यो हामीसँग । जनआन्दोलनका घाइतेको नाममा नेताका आसेपासेले गलत फाइदा लिए । वर्षौंअघि रूखबाट लडेर अपाङ्ग हुनेले बरु राहत पाए, तर आन्दोलनका वास्तविक घाइतेहरू उपेक्षित बने । नेताहरूले आफ्ना मान्छे मात्र हेर्न थाले ।’

उनी अगाडि भन्छन्, ‘हामीले बेस्सरी विरोध गरेपछि उच्चस्तरीय आयोग गठन भयो, किसुनजीले पनि समर्थन दिनुभयो । तथापि, सुनुवाइ भएन । नौमहिने एमाले सरकार बन्दा गृहमन्त्री केपी ओली थिए, उनले पनि आफ्ना कार्यकर्तालाई मात्र लाभ पुग्ने गरी निर्णयहरू गराए । त्यसको पनि विरोध त गरियो, तर सुनुवाइ भएन । देश दिग्भ्रमित हुँदै गयो, असन्तुष्टि बढ्दै गयो । नीलाम्बर आचार्य चीनका लागि राजदूत थिए । शहीद तथा घाइतेका सन्तानका लागि चीनले छात्रवृत्ति उपलब्ध गराएको थियो । त्यसमा एमाले पार्टी कार्यालयको सचिवका छोरालाई पठायो यताबाट एमालेले । न शहीद न घाइतेका छोरा । त्यसको विरोध गरेँ । पछि नीलाम्बर आचार्यले खारेज गराएर फर्काइदिए । इमानदार मान्छे पनि रहेछन् भन्ने लाग्यो ।’

‘म निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको थिएँ । उपचार गर्न स्वदेशमा सम्भव नै नरहेको कुरा तत्कालीन अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री मथुरा श्रेष्ठ स्वयम् बताउँथे । उनले तपाईंको उपचारका लागि ३६ लाख लाग्ने भयो, जर्मनी सरकारबाट सहयोग उपलब्ध गराएर उहीँ लगेर उपचार गराउने तयारी भइरहेको छ भनी आश्वासन दिएका थिए । ममा केही आस पलाउँदै थियो, तर विदेश गएर उपचार गराउन आन्तरिक सबै व्यवस्था भइसकेपछि उनले लाचारी देखाए । विदेशमा हुन लागेको मेरो उपचार कसरी रोकियो भनी पछि सोध्दा उनले ‘तपाईंकै जिल्लाका नेताले रोकेका हुन्’ भनी महेन्द्रनारायण निधितर्फ सङ्केत गरे । यो मानिस जर्मनी पुगेर उपचार गराई स्वस्थ भएर आयो भने पछि संसद्को उम्मेदवार बन्छ र मेरो छोरा (विमलेन्द्र निधि) पछि पर्छ भन्दै आग्रह गरेरै महेन्द्रनारायणले जर्मनीमा हुनै लागेको मेरो उपचार रोकाएका रहेछन् ।’

हिजो भर्खर काङ्ग्रेस प्रवेश गर्नेहरूले पैसाको भरमा टिकट पाए । परिवारका मान्छेलाई सांसद बनाउन अहिले पनि यत्रो खिचलो भइरा’छ,’ पुराना दिन सम्झँदै उनी भन्छन्, ‘किसुनजी, गिरिजाबाबु, गणेशमान, मनमोहनजस्ता नेताले मेरो प्रशंसा गर्थे । अहिले त मेरो योगदानको पक्षमा कुरा गर्ने साथीहरूलाई समेत सताउन थालिएको छ ।’

‘०४८ को चुनावमा धनुषाको पाँच क्षेत्रमध्ये कुनै पनि क्षेत्रबाट टिकट दिइएको भए जहाँबाट पनि जित्ने मेरो छवि बनेको थियो त्यसबेला । र, अहिलेसम्म पनि म अपराजित रहने थिएँ । मेरो यो ‘चार्मिङ’ बुझेर जानाजान षड्यन्त्रपूर्वक खुट्टा खिच्ने काम काङ्ग्रेसकै चल्तापुर्जा नेताले त्यतिबेलैदेखि गरे । प्रयोग गरेर मिल्काउने काम गरे पार्टीकै नेताहरूले ।’

यसो भन्दै गर्दा पनि रामभरत आफू एउटा लोकतन्त्रवादी भएको बिर्संदैनन् । त्यत्रो उपेक्षा र अपहेलना सहेर पनि ०६३ को आन्दोलनमा उत्तिकै सक्रिय हुनुको तात्पर्य यही रहेछ । तर, गणतन्त्र आएपछि पनि १२ वर्ष यत्तिकै बित्यो, तैपनि विद्रोही रापतापमा आवाज उठाएर हिँड्नुपरिरहेछ । ०३२ सालमा पटनामा भएको अधिवेशनमा बीपीले बोलेका शब्द उनलाई यतिबेला झल्झल्ती सम्झना आउँछ– ‘देशमा प्रजातन्त्र आएपछि पार्टीका मोटाघाटा सुकिलामुकिलाहरूले पार्टी कब्जा गर्नेछन्, इमानदार कार्यकर्ताले पुनः तीविरुद्ध एकपटक लड्नुपर्नेछ !’ हो– देश यही दिशामा छ यतिबेला ।

‘राम्रा’ होइन ‘हाम्रा’ खोज्ने प्रवृत्तिले आज पार्टी मात्र नभई देशकै अस्तित्व सङ्कटमा परेको उल्लेख गर्दै उनी भन्छन्, ‘नातावाद, भाइभतिजावाद मौलायो, इमानदारलाई अवसर दियो भने हामीलाई माइनस गर्छन् भन्ने डर पनि पलायो नेताहरूमा । त्यसैले नेताहरू आफ्ना वरपर चाकडीबाज, पैसावाललाई मात्रै देख्न चाहन्छन्, चाकडी–चाप्लुसी नगर्ने हामीजस्ता स्वाभिमानी कार्यकर्ता ती हेर्नै चाहन्नन् । देश बिग्रेको यही सोचका कारण हो,’ प्रस्टोक्ति छ रामभरतको ।

‘रामभरत खरो बोल्छ, जालझेल जान्दैन, इमानदार छ, बेइमानीको विरोध गर्छ, भ्रष्टाचार सहन सक्दैन, त्यसैले पार्टीमा यसलाई टेक्ने ठाउँ दिनुहुँदैन भन्ने आग्रह पालेका छन् पार्टीमा वंश–बिरासतको राजनीति गर्ने केहीले,’ सोझै भन्छन् उनी, ‘अन्यथा मैले स्वच्छ नियतले समाजसेवा गर्दा पनि सांसद बन्ने तयारी गर्दै छ भनेर किन तर्सिनुपथ्र्यो ? वास्तवमा इमानदारसँग स्वार्थी तत्वहरू जहिले पनि तर्सिंदा रहेछन् ।’

सोसोलोजी, इकोनोमिक्स, हिन्दी र मैथिली गरी चार विषयमा स्नातकोत्तर पूरा गरेका रामभरत साहले मैथिलीमा त गोल्डमेडल नै हासिल गरेका थिए । आफ्नो यो एकेडेमिक क्षमताबाट पनि तर्सिएका छन् वंशवादको ओतमा राजनीति गर्नेहरू भन्छन् उनी ।

‘मैले त कसैको निगाह होेइन अधिकार मात्र खोजेको हुँ । मेरो केही योगदान नै छैन भनेर सोझै भनिदिए बरु चित्त बुझ्ने थियो, सधैँ यसरी बहानाबाजी गरेर पन्छाउने किन गरिन्छ ? यसले चित्त दुखाएको छ । गाँठ जोसँग छ उसले स्थान पाउने प्रवृत्ति बढ्यो । मजस्ता व्यक्तिले समानुपातिकमा मौका देऊ भन्दा पनि पाइनँ, आश्वासन मात्रै पाइयो । अनेक बहाना गरेर मलाई पन्छाइयो । हिजो भर्खर काङ्ग्रेस प्रवेश गर्नेहरूले पैसाको भरमा टिकट पाए । परिवारका मान्छेलाई सांसद बनाउन अहिले पनि यत्रो खिचलो भइरा’छ,’ पुराना दिन सम्झँदै उनी अगाडि भन्छन्, ‘किसुनजी, गिरिजाबाबु, गणेशमान, मनमोहनजस्ता नेताले मेरो प्रशंसा गर्थे । अहिले त मेरो योगदानको पक्षमा कुरा गर्ने साथीहरूलाई समेत सताउन थालिएको छ ।’

त्यसो त किसुनजी र गिरिजाबाबुसँग पनि उनको स्वाभिमान जुधेको थियो कुनै बेला । गिरिजाबाबुले अति माया गर्थे । ‘भरतलाई कतै रोकटोक नगरी मेरो ओछ्यानसम्मै आउन दिनु है, उसले आफ्नो स्वार्थमा केही कुरा गर्दैन, हरदम पार्टी र पार्टीका साथीहरूको मात्रै चिन्ता गर्छ’ भनी सम्बन्धितहरूलाई आदेश नै दिएका थिए गिरिजाप्रसादले । तर, यसबाट कोइरालाको चाकडी गरेर लाभ लिन खोज्नेहरूका साथै कतिपय कोइराला परिवारकै सदस्यलाई समेत बिझाएको रहेछ । त्यस्ताहरूले चुक्ली लगाएर गिरिजाप्रसादको बेडसम्म पुग्ने रामभरतको हैसियतमा अवरोध पैदा गराए । एक दिन जब गिरिजाबाबुले ‘भरत, तिमी मलाई भेट्न मैया (लीला कोइराला) मार्फत आऊ न’ भनी प्वाक्क भनेपछि रामभरतले कसम खाँदै भनिदिए, ‘गिरिजाबाबु, मेरो योगदान लीला कोइरालाको पछि लाग्न होइन, पार्टीको हितका लागि हो । आजदेखि म तपाईंको ढोकामा टेक्दै टेक्दिनँ ।’ उनले पछि कुनै सन्दर्भमा गिरिजाप्रसादलाई यो पनि भन्न भ्याएका थिए, ‘गिरिजाबाबु, तपाईंको किचन क्याबिनेटले नै तपाईंलाई एक दिन डुबाउँछ है !’

यसैगरी एक दिन भट्टराईजीले उनलाई उपचारका लागि सरकारसँग खर्च माग्नु भन्दै निवेदन लेख्न लगाएर हातमा २५ हजार थमाउन खोजेछन् । रामभरतले ‘किसुनजी म भिखारी हुँ र ! उपचारमा करोडौँ लाग्छ, पच्चीस हजारले के गर्ने ?’ भन्दै दुत्कारिदिए ।

रामभरत भन्छन्, ‘काङ्ग्रेस पार्टीको इतिहास जोगाउँदै देशलाई समृद्धिमा लैजाने हो भने नेताले मानसिकता परिवर्तन गर्नैपर्छ । हाम्रालाई छोडेर राम्रालाई छान्नुपर्छ । पुराना कार्यकर्तालाई कदर गर्न जान्नुपर्छ । सबैलाई मिलाएर अघि बढ्न इमानदार प्रयत्न गर्नुपर्छ । अन्यथा गणतन्त्रको स्थायित्व रहँदैन । नेताका कुबुद्धिले नै हो राजा आऊ भनी आज नारा घन्किन थालेको ।’

यसरी, प्रजातन्त्रका लागि लडेका रामभरत साह गणतन्त्रमा फेरि भाइभतिजावादविरुद्ध लड्न बाध्य हुँदै छन् । उनका अनुसार काङ्ग्रेसका नेताहरूमा दम्भ, अहङ्कार र परिवारवाद मौलाएको छ । जिल्लादेखि केन्द्रसम्म यही विकृतिले गाँजेको छ । तर, यी नेता अझै चेतेका छैनन्, चेत्नेवाला पनि छैनन् । यिनले पार्टीलाई गति दिन सक्दैनन् । अझै पनि राम्राको बेवास्ता गरी ‘हाम्रा’लाई मौका दिन लागिपरेका छन् । यिनबाट आशा गर्न नसकिने भएकोले इमानदार कार्यकर्ताले फेरि यीविरुद्ध लड्नैपर्छ ।

प्रस्तुति : जयप्रकाश

37 Shares

प्रतिक्रिया