सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति

सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति


– कुसुम भट्टराई

माओवादी एउटा ‘तत्व’ हो । यो तत्व सरकारमा होस् या पार्टीमा, आफ्नो रणनीतिक चातुर्य अपनाउन माहिर छ । तेश्रो दल भएर पनि यसले विगतमा सत्तामा रजाइँ गर्दै आयो । यसपाली चुनावमा एमालेसँग मिलेर उसले सत्ताका लागि चलखेल गर्नसक्ने हैसियत बनाइहाल्यो । अब उसको चलखेल एमाले पार्टीभित्र पनि सुरु भएको छ ।

नेपाली राजनीतिको मौजुदा चरित्रलाई ध्यानमा राखी विश्लेषण गर्ने हो भने एमाले र माओवादीबीच एकिकरण भएर बन्ने नयाँ कम्युनिष्ट पार्टीभित्र माओवादी तत्वको एउटा आफ्नै गुट भइहाल्छ । अहिले एमालेभित्र माधव, ओली र झलनाथको गुट भए झैं प्रचण्डको पनि गुट भइहाल्छ । एकिकृत पार्टीभित्र महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुँदा प्रचण्ड गुटको प्रभाव नहुने कुरै आएन ।

माधव, ओली र प्रचण्ड गुटबीचको त्रिपक्षीय शक्ति संघर्षका क्रममा माधव गुट र प्रचण्ड गुट एकातिर मिसियो भने ओली गुट धरापमा पर्नसक्ने अवस्था ठाडै देखिएको छ । त्यसका संकेतहरु अहिले नै देखिइसकेका छन् । अथवा माओवादी तत्वले ओली र माधववीचको अन्तरद्वन्द्वमा खेल्ने पुरानै रणनीति अपनाउन सक्छ ।

माधव र वामदेव गुटले प्रचण्डलाई नै एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने भनेर अहिले भनिरहनुको कारण आगामी महाधिवेशनमा प्रचण्ड गुटको समर्थन लिने तयारी नै हो । त्यसो भयो भने एमालेको अध्यक्ष हुने र सोही हैसियतले केही वर्षभित्रै मुलुकको प्रधानमन्त्री नै पड्काउने सपना पालेर बसेका महासचिव इश्वर पोखरेलका ती सपना सबै चकनाचूर हुनेछन् । किनकि, माधव गुट र प्रचण्ड गुट मिलेमा आगामी दिनमा प्रचण्ड प्रधानमन्त्री र माधव नेपाल एमालेको अध्यक्ष बन्नसक्ने सम्भावनालाई नकार्न सकिन्न । माधव नेपाल उमेर र स्वास्थ्यका दृष्टिले तगडै छन् ।

इश्वर पोखरेलको पालो आउँदासम्म एमालेमा अन्य नेताहरु पनि त्यसका लागि दाबेदार हुनेछन् । बामदेव कमरेडले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष पड्काउन बाँकी नै छ । एकीकृत पार्टीमा यो उमेर हदबन्दीको नियम पनि परिवर्तन हुनसक्छ ।

अतः पार्टी एकिकरणको एउटै शिकार जब इश्वर पोखरेल हुँदैछन् भने किन उनले एकता प्रकृयामा बखेडा नझिक्ने ? इश्वर कमरेडलाई यो पार्टी एकीकरणबाट फाइदै छैन । सोही कारण उनी पनि भित्रभित्रै ओली नै अध्यक्ष र प्रधानमन्त्री दुवै हुनुपर्छ भन्दै एकता प्रकृया विथोल्न लागेको पाइन्छ ।

त्यति मात्र हैन, प्रचण्ड अध्यक्ष भएमा ओलीको आडमा पुरै लुम्बिनी अञ्चलमा एकखालको निरंकुशता लागू गरीरहेका विष्णु पौडेलको पनि त्यो तुजुक शान्त हुनेछ । प्रदेश नम्बर ५ मा त्यसै पनि कृष्णबहादुर महरा र शंकर पोखरेलहरु छँदैछन् । विस्तारै विष्णु पौडेलको पनि पकड खस्किँदै जाने भएकाले उनलाई पनि यो एकताबाट खासै फाइदा देखिँदैन ।

तर, एकताबाट भाग्न सक्ने अवस्थामा कोही पनि छैनन् । माओवादी तत्वले एमालेभित्र प्रभाव जमाएरै छाडनेछ । सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीतिले एमालेलाई पनि गाँज्नेछ । इश्वर पोखरेल र विष्णु पौडेलहरु पाखा लाग्नेछन् भने एमालेमा माधव गुटको ढाडमा टेकेर प्रचण्ड गुटले राजनीतिक चलखेल गरिरहने छ ।

(सञ्चारकर्मी भट्टराईको फेसबुक वालबाट)