एनआरएनएलाई श्रमिकमैत्री बनाउने प्रश्न महत्वपूर्ण

एनआरएनएलाई श्रमिकमैत्री बनाउने प्रश्न महत्वपूर्ण


-डिल्लीराम अम्माई

बेल्जीयम । ‘एनआरएनएलाई श्रमिकमैत्री बनाउने प्रश्न संसारभरिका नेपाली श्रमिकहरुले उठाइरहेको र उठाउनुपर्ने महत्वपुर्ण प्रश्न हो। यसको हल खोज्नु र त्यो दिशामा एनआरएनलाई लैजानु पर्ने दायित्व हामी सबैको हो’ भन्दै एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले पुष १२ अर्थात २६ डिसेम्बरमा आयोजित एक अन्तरक्रिया कार्यक्रम समापन गरे। उनको संकेत एनआरएनएलाई पुँजीपतिको क्लबको रुपमा लाग्दै आएको आरोपतर्फ थियो, जुन सान्दर्भिक र जायज हो।

हाम्रा लगानी र प्रस्तावित योजना नेपाली श्रमिकको जीवनस्तर उकास्न सहायक छन् वा केवल लगानीकर्ताको नाफालाई मात्र ध्यानमा राखेर निर्माण गरिएका छन् वा गरिन्छन् ? प्रश्न संसारभरि उठिरहेका छन् । यसआधारमा यो संस्थाउपर आशंका उब्जनु स्वाभाविक हो।

एनआरएनएका यस्तै धेरै विषयमा छलफल गर्न र नेपालबाट आएका परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाल लगायतको टोलीसंग आफ्ना जिज्ञासाहरु राख्न बेल्जियममा एक सार्थक अन्तरक्रियाको आयोजना गरिएको हो। आयोजना एनआरएनए बेल्जियमले गरेको थियो। कार्यक्रममा सभापतित्व अध्यक्ष लोक दाहालले गरे भने प्रमुख र विशिष्ठ अतिथिहरु क्रमशः बेनेलक्सका महामहिम राजदुत लोकबहादुर थापा र एनआरएनएका उपाध्यक्ष कुल आचार्य थिए।

उक्त अन्तरक्रियामा नेपालबाट युरोपमा बसोवास गरेर बसिरहेका गैरआवासिय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा कसरी सहभागि गराउने भन्ने विषयमा समेत ब्यापक छलफल भएको थियो । उक्त विषयमा उपाध्यक्ष कुल आचार्यले परराष्ट्र र गैरआवासिय नेपाली संघको बीच अन्तरसम्बन्ध, त्यसका सहज र असजिला अनुभब र भावी चासोको बारेमा बहस चलाएका थिए। उनले सहभागीहरुबाट आएका गैरआवासिय नेपाली संघसम्बन्धी प्रश्नहरूबारे समेत प्रष्ट्याउने काम गरे। त्यस्तै राजदुत लोकबहादुर थापाले नेपाली पासपोर्टसंग सम्बन्धित जिज्ञासाबारे प्रष्ट्याएका थिए।

गैरआवासिय नेपाली संघकि सचिव जानकी गुरुङ र युरोपका संयोजक शिवकुमार बरुवालले समेत डायस्पोराका समस्याहरुको पहिचान र आगामी योजनाबारे आफ्ना तर्कहरु राख्दै राज्य र डायस्पोराको सम्बन्धलाई आझ सुमधुर बनाउदै नेपालको बिकासमा प्रवासीहरुको योगदानलाई संस्लेषण गरेर जानुपर्ने तर्क राखेका थिए।

कार्यक्रममा नेपालबाट उच्चस्तरिय सरकारी टोलीको नेतृत्व गरेका सहसचिव कृष्णप्रसाद ढकालले गैरआवासिय नेपाली संघले गरिरहेका काम र प्रयासहरूबारे आफु सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा पनि यो संस्थाको आफु र नेपाल सकारका संयन्त्रहरु सहयोगी रहने कुरा स्पष्ट पारे।

ढकालले अब नेपाल सरकारले गैरआवासिय नेपालीहरुसँग नेपालको विकास र समृद्धिमा साझेदारीको अपेक्षा गरेको बताए । उनले त्यसको महत्वपूर्ण सहयोग र सुरुवात पनि भइसकेको भन्दै खुशी व्यक्त गरे । सहसचिव ढकालले देशवासी जहाँ रहेपनि नेपालसँगको आत्मियता आर्थिक र भावनात्मक रुपमा जोडिएको बताए ।

त्यहाँ डायस्पोराभरि रहेका नेपालीहरुले भोगिरहेका अनगिन्ति समस्या तथा समाधानका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । त्यसैगरी नेपालमा लगानीको सुरक्षित वातवरण निर्माण गर्न पनि सहभागिहरुले सहसचिवमार्फत नेपाल सरकारलाई आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको संचालन सचिव जीवन शर्माले गरेका थिए भने उपाध्यक्ष गोविन्द सिंह अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युरोपका विभिन्न देशहबाट गैरआवासिय नेपाली संघका अध्यक्षहरु, अन्य संघसंस्थाका प्रतिनिधिहरुको साथै सर्वसाधारणको उल्यख्य उपस्थिति रहेको थियो।