…तर नेपाल दाइजो हुन सक्दैन





राणाको जहानियाँ शासनको उत्तर्रार्धतिर त्यसै शासनबाट कर उठाउने ठेक्का पाएका एक ब्राह्मणले दुस्साहस देखाए । ब्राह्मण नभएको भए त्यस्तो दुस्साहस गर्ने थिए वा थिएनन् भन्न सकिन्न । ब्रह्महत्याको पापको डरले राणाहरू ब्राह्मणलाई सास्ती त दिन सक्थे तर ज्यान लिँदैनथे । ती ब्राह्मणले आफूले पठाउनुपर्ने करको किस्ता रकमको बदलामा एउटा भरियाको फाटेको मैलो र जुम्रासहितको भोटो पठाइदिए । अब यो के थियो मजाक, रकम गवन वा जनताको निमित्त गरेको विद्रोह – तर त्यसबेला जनताले यसलाई आफ्नो निमित्त गरेको विद्रोहको उद्धोष ठान्यो । त्यसबेलाका बडाहाकिमले केन्द्रबाट पक्राउ गर्न आएको टोलीलाई बिहानसम्म रोकेर राति नै ती ब्राह्मणलाई सपरिवार भगाइदिए । ती ब्राह्मण कृष्णप्रसाद कोइराला जसलाई अचेल नेपालको एउटा समूहले सहिद पिताजी कृष्णप्रसाद कोइराला भन्न रुचाउँछ, र बडाहाकिमको के अन्तरसम्बन्ध थियो यसका बारेमा खोजी हुनै बाँकी छ ।
नेपाली जनताले कृष्णप्रसाद कोइरालाको त्यो काम बिनार्सत आफ्नो निमित्त गरेको भन्ने स्वीकार गर्‍यो । त्यसको फलस्वरूप उनका बचेका तिनै भाइ छोराहरूलाई पालैपालो आफ्नो वागडोर सुम्पियो । यसरी नेपालमा राणाहरूको जहानियाँ शासनलाई कोइरालाको जहानियाँ शासनले प्रतिस्थापन गर्‍यो । राजतन्त्रमा राजाको केवल एक सन्तानले त्यो पनि भरसक जेठो छोरा -कुनैकुनै मुलुकमा छोरी पनि) उत्तराधिकारी हुन्छ । तर जहानियाँ शासनमा त्यो जहानको सबै नातेदारहरू उत्तराधिकारी हुन्छन् । यो कुरा गलत भएको तर्क काङ्ग्रेसजनका सबै बुद्धिजीवीहरूले आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर भए पनि खोजुन्- यो नेपाली जनताको इच्छा हो ।
गिरिजाले नेपाली काङ्ग्रेसलगायत आफ्ना पिताजीको सम्पूर्ण साख अनि नेपाल नै आफ्नी छोरीलाई दाइजो दिने जमर्को गरेका छन् । यसको फलस्वरूप नेपाली काङ्ग्रेसभित्र जर्मनी काङ्ग्रेसमा रूपान्तरणको प्रक्रिया चल्न थालेको छ । भित्तामा चारतारे झण्डा राखेर राष्ट्रिय झण्डालाई टेबुलपोसको रूपमा प्रयोग गरिएको रमझम साँझ आयोजना गरिएका फोटा पनि बजारमा यत्रतत्र छरिएका छन् । त्यसमाथि एकपटकलाई भनेर गिरिजाका ज्वाइँ सुजाता पति हान डब्लू जोष्टको सक्रिय सहभागितामा भएको राष्ट्रिय ध्वजावाहकलाई डुबाउने धमिजा तथा लाउडा प्रकरणलाई नेपालीले सहेकै थिए । जोष्टसँग विवाह भएपछि पनि कोइराला थर कायम राखेर बस्न गिरिजापुत्रीलाई कुनै व्यवधान गरेका थिएनन् । तर जोष्टपुत्री तथा चौधरीपत्नी मेलानी अझै कोइराला नै छिन् र उनका सन्तान पनि कोइराला नै हुने छाँटकाँट छ, सबैले सोच्नुपर्ने अवस्था आएको छ । कोइराला जहानको शासनमा अधिकार जमाउन कोइराला थर नछोडेको कुरा प्रस्ट हुन्छ ।
कोइरालाहरूमध्ये कस-कसको के-कस्तो आर्थिक हैसियत थियो भन्ने कुरा विराटनगरका काङ्ग्रेसलाई माया गर्ने पुराना जमातलाई कसैले अर्थ्याइरहनुपर्दैन । कठिन परिस्थिति भएको बेला आपसमा चन्दा गरेर खर्च चलाइदिएका त्यस बेलाका गिरिजाप्रेमीहरू विराटनगरमा छ्यापछ्याप्ती छन् । सुरक्षा गारदको सुविधा पाएको शून्यसरह भएको कोइरालानिवासले कुन हैसियतमा सो सुविधा पाएको छ भन्ने प्रश्नको जवाफ काङ्ग्रेसले मात्र होइन सरकारको नेतृत्व गरेको र गृह मन्त्रालय सम्हालेको एमालेले पनि दिनुपर्ने छ । सुजाताका ज्वाइँ रुवेल चौधरीसँग प्रहरीले जानकारी लिन जाँदा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला जानु सहज ठहरिए पनि जब र्डार्फर काण्डमा रुवेलको नाम मुछिन्छ अनि त्यसबेलाका गृहमन्त्री आफ्नो उपस्थितिमा रुवेलको बयान चाहन्छन्, पक्कै सहज कुरा होइन । सबैलाई शङ्का गर्नु राम्रो कुरा होइन तापनि त्यो बयान लिन जाने टोलीमा सिटौलाका कार्यकालमा पदान्नति वा लाभ पाएका अधिकारी थिए-थिएनन् त्यसबारे पनि जनचासो बढ्दो छ ।
बंगलादेशमा रुवेलद्वारा सञ्चालित गैरसरकारी संस्था वर्ल्ड पिस एण्ड एकोनोमिक अर्गनाइजेसनले आफ्नो प्रस्तुतीकरणमा संयुक्त राष्ट्रसङ्घको कुनै एजेन्सी भएको छनक दिएको छ । त्यो संयुक्त राष्ट्रसङ्घको एजेन्सी हो वा होइन सो कुरा संयुक्त राष्ट्रसङ्घको नै टाउको दुखाइ हो । तर, त्यसमा दिएका जानकारी नेपालका निमित्त पनि कम रोचक छैनन् । त्यसको प्रमुख कार्यकारी डा. सुजाता कोइराला छिन् । सामान्य नागरिकले पनि विदेशमा पद वा मान ग्रहण गर्न सरकारको स्वीकृति लिनुपर्छ भने मुलुकको उपप्रधान मन्त्रीले त पक्कै त्यस्तो स्वीकृति लिएको होला । तर, त्यसमा डा. रुवेल चौधरी र डा. मेलानी कोइराला सहायक कार्यकारी छन् । सुजाता कोइराला मेडिकल डाक्टर हुन् वा विद्यावारिधि गरेकी हुन् र उनले त्यो डा. पदवी कहिले कसरी पाइन् यो कुरा जान्न सबै उत्सुक छन् ।
विदेश भ्रमणबाट फर्केलगत्तै सुजाताका विभिन्न भनाइहरूले के पुष्टि गर्दछन् त्यो अर्को रोचक विषय हुन सक्दछ । तर, हाललाई भने उनका भनाइ मात्र उल्लेख गर्दा विषयान्तर नहोला । ‘स्वदेशीहरूसँग मद्दत नपाउने छाँटकाँट देखेर विदेशीहरूसँग मद्दत मागेकी छु ।’ ‘रुवेल मेरो छोरासरह हो कारबाही गर्न पहिला प्रमाण चाहियो ।’ ‘पत्रिकामा म जे पनि लेखाउन सक्छु ।’ ‘मेरो ज्वाइँलाई त्यसो गर्न सक्ने राजपरिवारले कति सामान्य जनता मारेको होला ।’ के यो सबै उद्गार नेपाल आफूले दाइजोमा पाएको सम्पत्तिसरह सम्झेको प्रमाण होइन र – काङ्ग्रेसजनलाई आपत्ति नभए गिरिजाले काङ्ग्रेस छोरीलाई दाइजो दिएको मान्न सकिएला कि – तर नेपाल कसैको दाइजो हुनै सक्दैन । यो कुरा अब सर्वसाधारण नेपालीले सुजाता र माधवकुमार नेपाल सरकारलाई बोध गराउने बेला भयो ।
– स्वयम्भुनाथ कार्की, विराटनगर-११
‘बुझ्नेलाई भारी नबुझ्नेहरूलाई हनुमन्ते पारी’
नेपाली राजनीतिमा २०३३ पुस १६ का दिन महत्त्वपूर्ण छ । बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको प्रस्तावले राष्ट्रिय महत्त्व र ऐतिहासिक घटनाको मान्यता पाएको तथ्य जनमानसमा स्थापित छ । यस सन्दर्भमा यही पुसको अन्तिम सातामा हुने सम्भावित राजनीतिक घटनालाई समेत प्रेरणा दिन सक्ने उक्त मेलमिलाप नीति बुझ्नेलाई भारी नबुझ्ने -भागबण्डे) लाई हनुमन्ते पारी भए पनि ‘पुस १६’को आगमन वर्षोनी भइरहेकै हुन्छ ।
नेपाली जनता माटो सुहाउँदो मेलमिलाप -राष्ट्रियता) र प्रजातन्त्रका बारेमा बीपी कोइरालाको महान् अभिव्यक्ति ‘राजाको गर्धनमाथि मेरो घाँटी जोडिएको छ’ बाट अत्यन्त प्रेरित छन् । बीपीको यस अभिव्यक्तिअनुरूप नेपाली जनताले प्रजातन्त्रको परिभाषा बुझेका छन्, कसैले बुझाउन वा अर्थ्याउन आवश्यक छैन । त्यसै भएर त कोइरालाको मेलमिलाप नीति नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूले भन्दा स्वतन्त्र जनताले अझ गहिरोसँग बुझेका देखिन्छ । बरु, केवल भागबण्डाको लोभमा लाग्ने नेताहरूले बिर्सिए पनि जनताले भने कोइरालालाई बिर्सेका छैनन् । बाटो न घाटो दगुर्न खोज्नेहरूको लागि त निकट भविष्यमै पश्चात्ताप गर्नुपरेमा कुनै आश्चर्य हुने छैन । किनभने, राजनीतिक सिद्धान्तलाई कार्यान्वयन गर्न नसक्नेहरूले यथार्थ स्थिति बुझ्न कोइरालाको मेलमिलाप नीति प्रेरणादायी नै हुन सक्छ ।
– दामोदर पौड्याल, झम्सिखेल, ललितपुर

प्रतिक्रिया