रुद्रबाट खोसेर बहादुरलाई चारबुर्जा दरबार

2 Shares

वि.सं. १९९० चैत ५ गतेको काण्डपछि रोलक्रमअनुसार प.क.ज. पद्मशमशेर प्रधान सेनापति (मुख्तियार) भए, मोहनशमशेर प.क.ज. ‘जङ्गीलाठ’ भए, बबरशमशेर पू.क.ज., केशरशमशेर द.क.ज. र बहादुरशमशेर उ.क.ज. भए । चैत ५ गतेको काण्ड हुनुअगावै अर्थात् रुद्रशमशेरकी बुहारी तथा ईश्वरशमशेरकी श्रीमती द्रोणकुमारी देवीले आफ्नो एक अति मूल्यवान पन्नाको कण्ठ कम्मरमा बाँधी लुकाई राखिन् । उपरोक्त काण्ड भइसकेपछि जुद्धशमशेरको हुकुमबमोजिम हरिशमशेर, काजी नारायणभक्त, जौहरी कुलधर बाँडा, रुद्रशमशेरकै साला हजुरिया कप्तान हेमबहादुर मल्ल र अरू दुई–चार जवान आई सानातिना जवाहरातहरूका साथै रुद्रशमशेरको पगरी, श्रीपेच र सुनको थाल, करुवा, कचौरा, रिकापी, पानबट्टाहरूका साथै सम्पूर्ण हात–हतियारसमेत लगे ।

उपरोक्त व्यक्तिहरू सबैले पन्नाको कण्ठ पनि मागे । द्रोणकुमारी देवीले पन्नाको कण्ठ आफ्नै श्रीमान् ईश्वरशमशेरले साथै लगेका छन् भनिन् । तैपनि हजुरिया कप्तान हेमबहादुर मल्लले ‘चिफ साहेबको सबै जवाहरात हजुरले नै राखिबक्सने हो, बाबाराजा (ईश्वरशमशेर)ले कसो गरी लगिबक्सन्छ ? भए बक्सियोस्’ भने ।

द्रोणकुमारीदेवीले सबै जवाहरात, पगरी, सुनसमेत दिएँ, भए त्यो पनि किन नदिनु भनेकाले विश्वास गरी उनीहरू फर्के । रुद्रशमशेर र उनका चार भाइ छोराहरूलाई पहिला दिन चैत ५ गते चित्लाङ पु¥याए, त्यहाँ एक सानो घरमा बास गराए । प्रतापशमशेर र गोविन्दशमशेरहरूलाई पनि अर्कै घर बन्दोबस्त गरी राखे । त्यस्तै सुवर्ण र महावीरशमशेरहरूलाई बेग्लै अर्को घरमा राखे । कसैलाई तल्लो तलासम्म पनि ओर्लन दिएनन्, कोही कसैसँग पनि भेटघाट गर्न दिएनन् । त्यस दिन रुद्रशमशेर, थानकोटबाट आफैँ चढेर आएका ‘तामदान’मै सुते । ईश्वरशमशेर, गोपालशमशेर, श्यामशमशेर र धैर्यशमशेरहरू खाली जमिनमा त्यस रात जाग्राम बसे भने प्रतापशमशेर, गोविन्दशमशेर, सुवर्णशमशेर र महावीरशमशेरको पनि त्यसै गरी रात बित्यो ।

भोलिपल्ट चैत ६ गते सबैलाई भीमफेदी पु¥याए । त्यहाँ एक लामो सरकारी टहरो गोदामझैँ रहेछ, त्यहाँ पर्दा हाली ३ खण्ड गरी बेग्लाबेग्लै राखे । यस दिन करिब साँझ ५ बजे जुद्धशमशेरले फोनमा रुद्रशमशेरसँग कुरा गरे । रुद्रशमशेरले फोनको रिसिभर समात्ना साथै ‘महाराज ! हामी देशद्रोही हौँ कि राजद्रोही हौँ ? बागियानसरह हामीलाई व्यवहार गरिएको छ । सूची (पिसाब) गर्न पनि तल ओर्लन दिइएको छैन, झ्यालबाटै सूची गर्नुपर्ने सजाय भोग्नु परिरहेछ । भाइ–भतिजाहरू कसैसँग भेट गर्न दिइएको छैन । दिलोज्यान दिएर सरकारको सेवा गरेको फल पाइरहेछु’ भने । जुद्धशमशेरले ‘मैले त्यस्तो अर्डर कदापि दिएको छैन । त्यहाँ तिमीलाई लिई साथमा को गएको छ निजलाई फोन देऊ’ भनेकाले रुद्रशमशेरले साथै आएका गम्भीरजंग थापालाई फोनको रिसिभर थमाइदिए र आफू टेलिफोन अफिसबाट बसेको टहरोतर्फ लागे । निज थापालाई जुद्धशमशेरले झपार्नुसम्म झपारे ।

गोपालशमशेर जुद्धशमशेरको मन परेका थिए, तसर्थ उनलाई बोलाई फोनमा कुरा गरे र भने ‘वर्ष दिनसम्म तेरै बुबा (रुद्रशमशेर) सँग बस् त्यसपछि तँलाई नेपाल (काठमाडौं) बोलाउनेछु ।’ गोपालशमशेरले ‘म मेरो बुबालाई छोडी नेपाल (काठमाडौं) आउन्न’ भनी खरो जवाफ दिई फोनको रिसिभर राखिदिए । गम्भीरजंग थापा के गरोस् ? एउटा यसो गर भन्छ अर्को उसो गर भन्छ मैले कसो–कसो गर्ने, अब जसो–जसो अह्राउँछन् उसो–उसो गर्ने ।
‘अब जे–जे गर्न मन लाग्छ उसो–उसो गरिबक्सियोस्’ भनी रातभर नसुती पहरा दिएकाले, मुख छोपी लम्पसार परेर सुते । पछि थाहा भयो कि निज थापालाई बहादुरशमशेरले अह्राएकाले उपरोक्त कडाइका साथ व्यवहार गरेका रहेछन् । काठमाडौंमा पनि श्री ३ जुद्धले बहादुरशमशेरलाई ‘के बन्दोबस्त गरिस्’ भनी खुब झपारे भन्ने सुनियो ।

भीमफेदीमा रुद्रशमशेरको ४ दिनसम्म मुकाम रह्यो । त्यतिन्जेल रुद्रशमशेरसँग जुद्धशमशेरले फेरि पनि फोनमा कुरा गर्न चाहे, तर रुद्रशमशेरले सन्चो नभएको बहाना गरी फोनमा कुरा गरेनन् । पछि निजका छोरा मानशमशेरले ईश्वरशमशेरसँग फोनमा कुरा गरी ‘बुबाज्यू (जुद्ध) बाट दाजी (रुद्र) को पन्नाको कण्ठ नजर गरिबक्सन इच्छा गरिबक्सिएको छ, त्यो पन्नाको कण्ठ पठाउनु भन्ने हुकुम भएको छ’ भने । ईश्वरशमशेरले कुरा बुझिहाले र ‘बुबाज्यू (रुद्र) सँग सोधी जवाफ दिनेछु’ भनी टेलिफोन अफिसबाट राखेको ठाउँ टहरोमा आई रुद्रशमशेरलाई सो पन्नाको कण्ठ आफ्नी श्रीमती द्रोणकुमारीदेवीसँग काठमाडौंमै रहेको, तर उनले आफ्नो श्रीमान् ईश्वरशमशेरले साथै लगेको छ भन्ने कुरा गरी जुद्धशमशेरले सो कण्ठ माग गरेको कुरा बताए । रुद्रशमशेरले सो कण्ठ नदिने कुरा गरे, तर ईश्वरशमशेरले मानशमशेर ‘बुबाज्यू (रुद्र)मा बिन्ती गर्दा, महाराजमा इज्जत आवरु सबै चढाई आइरहेछ, सो पन्नाको कण्ठ मेरो बुबाज्यू (स्व. श्री ३ वीर) को आखिरी निसानी हो, सो महाराजमा नलागोस्’ मर्जी हुन्छ भने । मानशमशेरले ‘महाराज बुबाज्यूमा के बिन्ती गरूँ ?’ भनी पुनः प्रश्न गरे । ईश्वरशमशेरले ‘जसो गरेर हुन्छ महाराजमा राम्रो पर्ने गरी बिन्ती गर्नु’ भनी फोनको रिसिभर राखिदिए ।

चैत ९ गतेसम्ममा काठमाडौंबाट रुद्रशमशेरका केही परिवार भीमफेदी आइपुगेकाले चैत १० गतेका दिन रुद्रशमशेर भारत रक्सौलमा ‘खनाल ब्रदर्सहरूको घर’मा बास बस्न पुगे । त्यहाँ जुद्धशमशेरकी जेठी छोरी ज्वाइँ मोहनविक्रम शाह (रामनगरका राजा–रामराजा) रुद्रशमशेरसँग भेटवार्ता गर्न आइपुगे । कुरैकुरामा निजले ‘मैले महाराजलाई मात्र होइन हजुरिया जर्नेललाई समेत सम्झाई यो काम (निष्कासन गर्ने काम) गर्नुहुँदैन । यसो गर्नाले पछि परन्तु राम्रो हुँदैन, धोका हुन जान्छ, उल्काईमा लाग्नुहुँदैन भनी सम्झाएकै हुँ, मानेनन्’ भने । तत्कालीन वीरगञ्जका बडाहाकिम बहादुरशमशेर (खड्गशमशेरका छोरा) पनि रुद्रशमशेरसँग भेटवार्ता गर्न आए । कुरैकुरामा निज बहादुरशमशेरले ‘दाजीको बुबाज्यू (स्व. श्री ३ वीर) ले मेरो बुबाज्यू (स्व. खड्गशमशेर) लाई निकालिबक्सियो, अहिले दाजी निस्किबक्सनुप¥यो’ भने । जवाफमा रुद्रशमशेरले ‘हो भाइ, हामी दुवै निकालियौँ, तर तिम्रो बुबाज्यू (स्व. खड्ग) दागी भई निस्किबक्सनु प¥यो भने म बेदाग निस्किरहेछु फरक यत्ति मात्र हो’ भने ।

चैत ११ गते सबेरै रक्सौल छोडी भोलिपल्ट चैत १२ गते करिब १ बजे दिनमा भारत नवतनुवा पुगी सोही दिन साँझ करिब ४ बजे बुटबल (खस्यौली) पुगे । भोलिपल्ट चैत १३ गतेका दिन रुद्रशमशेर केही परिवारसहित पाल्पा तानसेन आइपुगे ।

काठमाडौंबाट निस्कासन गर्दा श्री ३ जुद्धले रुद्रशमशेरको सम्पत्ति हरण गरे । निजको पगरी–श्रीपेच अति मूल्यवान थियो । वि.सं. १९६४, तदनुसार १९०८ ई. मा श्री ३ चन्द्रसँग युरोप भ्रमण गर्न जान लाग्दा निजकी मुमाज्यू कान्छी बडामहारानी तोपकुमारी देवीले आफ्ना छोरा (रुद्र) को निमित्त आफैँ अगाडि बसी महँगा जवाहरातहरू छिपाद्वारा जडान गर्न लगाई पगरी तयार गराएकी थिइन् । सो पगरी लगाई रुद्रशमशेर युरोप भ्रमणमा गए, त्यहाँबाट फर्केपछि पनि उनी सोही पगरी प्रयोग गर्ने गर्दथे । सो किमती पगरीसमेत जुद्धशमशेरले हरे । सुनका सामानहरू र सानातिना गहनाको जुद्धशमशेरले जम्मा ६५-६६ हजार रुपैयाँ मोल राखे । पाल्पा पुगेपछि पनि रुद्रशमशेरको काठमाडौंस्थित चारबुर्जा दरबार हाल निर्वाचन आयोग भवन जम्मा एक लाख पचहत्तर हजार रुपैयाँमा रजिस्ट्रेसन पास गर्न लगाई आफ्नो गराए, तर सो एक लाख पचहत्तर हजार रुपैयाँ रुद्रशमशेरले पाएनन् । रुद्रशमशेरले जर्मनीबाट २ लाख रुपैयाँको फर्निचर झिकाएका थिए, सो फर्निचर काठमाडौं आइपुग्नुअगावै निष्कासन गरेकाले सम्पूर्ण फर्निचर जुद्धशमशेर आफैँले राखे । पछि सो चारबुर्जा दरबार आफ्नै छोरा बहादुरशमशेरलाई दिए ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)

2 Shares

प्रतिक्रिया