मुर्धन्य सङ्गीतकार स्व. चन्द्रराज शर्मालाई सम्झिँदा





– टीका भण्डारी

हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, तापनि जीवनको आशमा यो मन गुमाउन मन्जुर छ…, मनमा माया तनमा माया…, सुनौला घाम झुल्केन…, आँखाहरूले रुन नखोजे… (कुमारी चलचित्र), चपलाअवला एक सुरमा…(भानुभक्त), मेरो माल मलाई फÞर्काइदे बाबु…(जीवनज्योति), ए मेरी मुना नभन त्यसो जुनमा फुलेकी… (मुनामदन), तिम्रो आकाशमा जुन… (मीरा राणा), तिमी आफुलाई… (माणिकरत्न), मोतिका दाना… (सुदेश शर्मा र सङ्गीता राना प्रधान) आदि अत्यन्त चर्चित गीतहरूका स्रष्टा कलाभुषण वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको भौतिक शरीर अब हामीबीच रहेन । वि.सं. १९९६ फागुन २७ गते सङ्गीत शिरोमणि यज्ञराज शर्मा र होमकुमारीका माइला सुपुत्रका रूपमा काठमाडौंमा जन्मनुभएका सङ्गीतकार शर्माको २०७४ पुस ६ गते विहान देहान्त भएको छ ।

सङ्गीतकार चन्द्रराज शर्माले गीतिनाटक मुनामदन, शोक काब्य गौरी, सत्यहरिश्चन्द्र, चलचित्र कुमारी, जीवनज्योति, भानुभक्त, श्री स्वस्थानी आदिमा सङ्गीत दिए । जहानियाँ राणा शासनकालमा कला–सङ्गीत–साहित्य राणाहरूको जीवनका ऐंजेरुका रुपमा थिए । उनीहरूको प्रतिकुल हुने गीत कविता लेख्दा मृत्युदण्ड समेत दिइन्थ्यो । यस्तो अवस्थामा तिनै व्यभिचारी र विवेकशुन्य शासकहरूको समयमा नेपाली सङ्गीतको नयाँ क्षितिज उघार्दै सङ्गीत शिरोमणि यज्ञराज शर्मा जन्मिएका थिए भने उनै यज्ञराजका सुपुत्र चन्द्रराजले नेपाली सङ्गीत क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाएर आफूलाई अमर तुल्याएका छन् ।

चन्द्रराज शर्माद्वारा सङ्गीत प्रदान गरिएका गीतिनाटकका अधिकांश गीत नारायणगोपाल र तारादेवीले गाएका छन् । त्यस्तै गोपाल योञ्जन, फत्तेमान, प्रेमध्वज प्रधान, रविन शर्मा, कमला श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुदेशराज शर्मा, लोचन भट्टराइ, सपना श्री, एम बराल, रामकृष्ण ढकाल, राजेश पायल राई आदिले पनि चन्द्रराज शर्माको सङ्गीतमा गाएका छन् ।

चन्द्रराज शर्माले पद्मोदय हाइस्कुल डिल्लीबजारबाट एस.एल.सी.सम्मको अध्ययन गरे भने त्रिचन्द्र कलेज घन्टाघरबाट २०१८ सालमा बीकमसम्मको अध्ययन पुरा गरे । २०२१ सालमा इलाहावादबाट सङ्गीतमा बिम्यूज पनि चन्द्रराज शर्माले सिध्याए । बाल्यकालदेखि नै उनले पिताकै पदचिन्ह पछ्याउने लक्षण देखाईसकेका थिए । उनि पढाईमा पनि तेजिला थिए तर सङ्गीतमा उनको झनै लगाव र झुकाव थियो । सङ्गीतप्रति गहन अभिरुचिका कारण उनका पिताले छोराको भावनालाई प्रोत्साहित गर्दै गीत गाउने कला सिकाउन थाले ।

पिता सङ्गीत शिरोमणि यज्ञराज शर्मा रत्न रेकर्डिंङ ट्रष्टको पहिलो अध्यक्ष हुनुन्थ्यो । पिताले सङ्गीत गर्न सिकाएका थिएनन् उनलाई तर सबैलाई आश्चर्यमा पार्दै उनले सानैदेखि जटील जटिल धुनहरू समेत सिर्जना गर्न थाले । यसबाट पिता पनि आश्चर्यमा परे । छोराको सङ्गीतमा विलक्षणता देखेपछि उनको चाहनामुताबिक सङ्गीतका आधारभुत ज्ञान–गुणहरू सिकाई दिए । चन्द्रराज शर्माले त्यसबेला उच्च स्थानमा रहेको शास्त्रीय सङ्गीत नै सिक्ने प्रण गरे ।

उनको चाहना अनुसार शास्त्रीय सङ्गीतका आधारभूत सिद्धान्तहरू सिकाए । घरमै नेपालका सुबिख्यात सङ्गीतकार पिताका रुपमा पाए पछि यिनले कतै सङ्गीत सिक्न भौंतारिनु, बहकिनु परेन । यिनका भाई सूर्यराज शर्मा नेपालका अर्का अब्बल सङ्गीतज्ञ थिए । हरेक बिहान बेलुका पितासँग अत्यन्तै निष्ठा र साधनाका साथ् घरमै सङ्गीतका महत्वपुर्ण ज्ञानहरू लिन थाले ।

रेडियो नेपालको स्थापना हुँदा उनी ९ बर्षका मात्र थिए तर पनि घरमा गुञ्जने रेडियो नेपालको आवाजले उनले झन् धेरै आफूलाई परिष्कृत गर्ने अवसर पाए । उनी कौतुहलमा पर्दै रेडियो नेपाल स्थापना भएकै वर्ष रेडियो नेपाल पुगे पितासँग ।

उनको विवाह २०१७ सालमा भयो तारा भण्डारीसँग । उनका दुई सुपुत्र नरेश अर्याल र सुदेशराज शर्मा हुन् । दुवै रेडियो प्रसारण र सङ्गीत अलग–अलग विधामा ख्याती कमाएका व्यक्तित्व हुन् । नरेश अर्यालले २० वर्ष रेडियो नेपालमा समाचार सम्पादक तथा समाचारवाचकको रुपमा कार्य गरे भने सुदेशराज शर्मा नेपाली श्रोतामाझ लोकप्रियता आर्जन गरिसकेका एक सफल गायक हुन्, उनको गायन क्षेत्रमा आफ्नै योगदान छ । उनि वरिष्ठ कलाकारका रुपमा सांस्कृतिक संस्थानमा हाल कार्यरत छन् ।

सुदेश भन्छन्– ‘नारायण गोपाल भक्तराज आचार्य, माणिकरत्न, प्रेमध्वज प्रधान लगायतका पुराना कलाकारहरूले गाएका ५०० भन्दा बढी गीतिनाटकका गीतहरू बुवाका सांस्कृतिक संस्थानमा आज पनि भेटिन्छन्, जसमा नारायण गोपालले नै धेरै गाउनुभएको छ ।’

सङ्गीतकार चन्द्रराज शर्मा गीति विधामा मात्र सीमित रहेननन् । मुनामदन, गौरी, कुञ्जिनी, धने, स्वतन्त्रको सम्मान, राजकुमार, बिस्वान्तर, भृकुटी, श्री कृष्ण लिला, सत्य हरिश्चन्द्र, मुटुको ब्यथा जस्ता कालजयी र अजम्बरी प्रकृतिका नेपाली गीतिनाटकहरूमा समेत कालजयी र जीवन्त सङ्गीत भरे । यीमध्ये यिनलाई सबैभन्दा धेरै लोकप्रियताको शिखरमा उकाल्ने गीतिनाटकको सङ्गीत भनेको मुनामदनकै हो ।

यस सम्बन्धमा चन्द्रराजले भनेका छन्– ‘त्यो समय रेडियो नेपालमा पनि गीत रेकर्ड हुन्नथ्यो । सांस्कृतिक संस्थानमा रंगमंचमा पर्दा टाँगेर स्टुडियो बनाइएको थियो । शहरको कोलाहलको कारण बिहान ७ बजेअघि र बेलुका ६ बजेपछि मात्र रेकर्ड गर्नुपर्ने बाध्यता थियो । नारायणगोपाल बिहान मुखै नधोई आइपुग्थे । अरु कलाकारहरू मिर्मिरेमै आइपुग्थे, दिउँसो गाडीको बजेर सम्भावना नै हुन्नथ्यो । यसरी गर्दा मुनामदन रेकर्ड गर्न ६ महिना लागेको थियो ।’

यस गीतिनाटकमा दिएको सङ्गीत नेपालमा साहित्य जीवित रहेसम्म, नाट्यकला बाँचेसम्म रहिरहने कुरामा कुनै द्विविधा देखिन्न । त्यस ऐतिहासिक कार्यबाट उनको सांगीतिक उचाई निकै माथि उठेको छ । प्रयाग सङ्गीत समिति इलाहवादबाट बिम्युज गरेका उनले त्यो ज्ञानलाई सर्लक्कै आफुद्वारा सङ्गीतबद्ध गीति नाटक र गीतहरूमा प्रयोग गरेका छन् । त्यसो त उनी सङ्गीतमा मात्र सीमित नरही त्रिचन्द्र कलेज घन्टाघरबाट बीकम सम्मको अध्ययन गरेका असल विद्यार्थी पनि हुन् ।

नेपाली चलचित्र जगतले पनि उनलाई कहिलै भुल्न सक्दैन । उनको योगदान चलचित्रको सङ्गीत यात्रामा पनि गर्विलो ढंगकै छ । चन्द्रराजले नेपालको चलचित्रको इतिहासमा पनि राम्रा र उत्कृष्ट चलचित्रहरूमा सङ्गीत दिएका छन् । पहिलो नेपाली रंगीन चलचित्र कुमारीमा सङ्गीत दिने सङ्गीतकार पनि उनि नै हुन् । कुमारीपछि उनले जीवनज्योतिमा सङ्गीत दिए । यसैगरी चलचित्र धर्ती–आकाश, श्री स्वस्थानी, भानुभक्तमा उनले नै सङ्गीत दिएका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित शोक काब्य गौरीमा पनि चन्द्रराजले नै सङ्गीत दिएका हुन् जुन म्युजिक नेपालमा २०४२ सालमा रेकर्ड भएको थ्यो । सङ्गीतकार चन्द्रराज शर्माभित्र सङ्गीतका अलौकिक प्रतिभा र क्षमताहरू लुकेका थिए । उनि नेपालका नृत्य नाटकमा सङ्गीत गर्ने र त्यसबाटै प्रसिद्धि कमाउने भाग्यमानी सङ्गीतकारमा पनि पर्दछन् । उनले सङ्गीत गरेका त्यसताकाका नृत्य–नाटिकाहरू सत्य नाग, दुर्गा अवतार र भष्माशुर हुन् । यी नाटिकाहरूमा कुल १२५ वटा फुटकर सङ्गीतहरू दिएका छन् चन्द्रराज शर्माले । उनको शेख पछि नृत्य नाटिकाको प्रचलन पनि लगभग हराएको अवस्थामा छ । यस सम्बन्धमा उनि भन्छन्– ‘यो ज्यादै जटिल कार्य हो, गीतै गीतबाट नाटक मञ्चन गर्नु भनेको सामान्य होइन, यस्तो चुनौती मोल्न आजका पुस्ता तयार देखिन्नन्, त्यसैले म सोच्छु त्यो एउटा इतिहास नै भयो अब, तर त्यो संस्कृति नेपालमा अझै आवश्यक छ ।’

सङ्गीतकार चन्द्रराज शर्मा सधै आफ्नो ज्ञान अरुलाई बाँड्न चाहन्थे । ज्ञान जति बाँड्यो उति बढ्छ भनेझैं उनि आफूले सिकेका सृजनात्मक कलाकर्महरू अरुलाई सिकाउन जहिले उत्सुक रहे । यही उत्सुकताले उनलाई प्रज्ञा प्रतिष्ठानको सङ्गीत गुरु बनायो केही बर्ष । उनले त्यसताका सङ्गीत सिकाएका प्रशिक्षार्थीहरू कतिपय आज देशका नामुद गायक गायिका बनेका छन् । संस्थाबाहिर पनि धेरै ठाउँहरूमा उनले सङ्गीत सिकाउने काम गरे । नेपाल सङ्गीत महाविद्यालयमा पनि उनले सङ्गीत सिकाए । रत्न कलाकुञ्जमा त उनी नै सचिव भएर नै संस्था चलाएका पनि थिए । तत्कालिन श्री ५ को सरकार सांस्कृतिक संस्थानमा सङ्गीत विज्ञको रुपमा २०२९ सालदेखि कार्यरत रही सङ्गीत विभागको निर्देशक पदबाटै २८ वर्षपछि अवकाश समेत भए उनी ।

त्यो समयमा उनि नेपाली सङ्गीतको विकास बिस्तार प्रबर्धन र संरक्षणमा लागि परे । देशका विभिन्न भूभागमा पुगेर सांस्कृतिक कार्यक्रमहरू समेत गरे । संस्कृति चिनाउने काम पनि गरे । नेपाली सङ्गीतको मौलिक रुप, पहिचान र विविधता प्रस्तुत गर्न गह्रौं भूमिका खेले उनले । उनि देशका कुनाकाप्चामामा पुग्दा त्यहाँबाट प्राप्त भएका हाम्रा संस्कृतिक मानक मूल्य धर्म र सभ्यतालाई पुनः सङ्गीतकै नयाँ रूपमा रुपान्तरित गर्ने गर्दथे । यही उच्चकोटीको कार्यलाई उच्च मुल्याङ्कित गर्दै प्रवल गोरखा दक्षिण बाहु, वीरेन्द्र शुभराज्यभिषेक पदक, छिन्नलता विशेष पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल सम्मान, शिक्षा पुरस्कार, चलचित्र सम्मान, नारायण गोपाल स्मृति सम्मान, रुपक स्मृति कला सम्मान, नेपाल सांगीतिक संघ सम्मान आदि धेरै सम्मान र पुरस्कारहरू समेत प्राप्त गरे ।

सङ्गीतज्ञ दीपक जंगम सङ्गीतकार चन्द्रराज शर्माको बारेमा भन्छन्– ‘बचपनदेखि नै चिन्छु म उहाँलाई । पारिवारिक सम्बन्ध पनि छ हाम्रो । उहाँका भाई सङ्गीतज्ञ सुर्यराज शर्मा मेरो गुरु हुनुहुन्छ । यसैले, बाल्यकालका कतिपय दिनहरू धेरै उहाँकै घर परिवारमा बिते मेरा । अर्कोतिर मेरो बुवाको असल मित्र उहाँका पिता सङ्गीत शिरोमणि यज्ञराज शर्मा हुनुन्हुन्थ्यो । यसैले फेमिली रिलेसन पनि कायम रह्यो उहाँसँग । उहाँ अत्यन्तै गुणी, मिहेनेती र विधामा विशिष्टता बोकेको व्यक्तित्व हुनुहुन्छ । सायद त्यसैले होला, २०२१ सालमा चन्द्रराज शर्मा ज्यु र गुरु सुर्यराज शर्माज्युको क्लासिकल जुगलबन्दीको प्रस्तुती मनपराई चन्द्रराज शर्माज्युलाई राजा महेन्द्रबाट नेपाल कला भुषणद्वारा सम्मानित गरिएको सम्झन्छु ।’

सङ्गीतकार चन्द्रराज शर्माले आफ्नो सांगीतिक जीवनमा ३५० भन्दा बढी आधुनिक गीतहरूमा सङ्गीत दिएका छन् । तिमध्ये च्वाट्ट चुंडी नजानु, उड्यो चरी गीत लगायतका ४ वटा गीतहरू कलकत्तामा रेकर्ड गराइएका हुन् जसमा यी दुई गीतहरू उनी आफैले गोपालजी नेपालीको शब्दमा गाएका छन् । उनको सङ्गीतमा गीत गाउने गायक गायिकाहरू नारायण गोपाल, मीरा राणा, माणिक रत्न, सुदेश शर्मा, रमेश ताम्राकार, नरेन्द्र प्यासी, प्रकाश श्रेष्ठ, रविन शर्मा, सरोज कुमार, कन्हैया कुमार, कमल र कमल क्षेत्री, तोरणमुनि बज्राचार्य, शुशिल अधिकारी, सङ्गीता थापा, अरविन्द मालाकार आदि हुन् । यी गीतहरूमा आधादर्जन गीतहरू उनका सुपुत्र प्रसिद्ध गायक सुदेश शर्माले नै गाएका छन् भने मीरा राणाले पनि आधा दर्जन गीतहरू उनको सङ्गीतमा गाएकी छिन् ।

उनी विभिन्न गीतकारहरूसँग काम गर्न रुचाउँथे । यसक्रममा उनले बी. नन्द बैद्य, कन्चन पुडासैनी, मन्जुल, दामोदर घिमिरे, रामप्रसाद पुडासैनी, नीर शाह, ईश्वर बल्लभ, शिवभक्त शर्मा, भैरवनाथ रिमाल कदम, श्रीपुरुष ढकाल, गोपालजी नेपाली, किरण खरेल, उत्तम श्रेष्ठ, रामविक्रम सिंजापति, सुर्यराज शर्मा, सगुन शाह, रत्नशम्सेर थापा, शान्त बिष्ट, दीर्घसिंह बम, धनेन्द्र विमल, शंकर प्रेरणा आदिका गीतहरूमा सङ्गीत भरेका छन् । उनका चर्चित आधुनिक गीतहरूमा आफुले गाएका दुई गीतहरू च्वाट्ट चुंडी नजाउ, उड्यो चरी, हामी नदीका दुई किनार (सुदेश शर्मा) तिम्रो आकाशमा जुन (मिरा राणा), तिमी आफुलाई (माणिक रत्न), मोतीका दाना (सुदेश शर्मा र सङ्गीता राना प्रधान), पोखिइसकेका (मीरा राणा), हाँसोको जुन (नरेन्द्र प्यासी), काम लाग्ने मित्र (प्रकाश श्रेष्ठ र सङ्गीता राना प्रधान) आदि छन् ।

स्व. चन्द्रराज शर्माले कार्यक्रमकै सिलसिलामा नेपाली कला सङ्गीत र नाटकको प्रबद्र्धन गर्दै जापान, भारत, बर्मा, चीन, थाइलेण्ड, जर्मनी, सोभियत संघ, कोरिया, हङकङ, पाकिस्तान लगायतका मुलुकको भ्रमण समेत गरेका थिए ।

रेडियो नेपालमा सङ्गीतकार चन्द्रराज शर्माका केही गीत रेकर्डिङमा (२०४३–२०५२ सालको अन्तराल) बाद्यवादनमा सहकार्य गर्ने अवसर पङ्क्तिकारले पाएको छ । यस अवधिमा यसरी नजिकबाट चिने उनलाई– नेपाली संचारमाध्यमबाट सधैं टाढा उनि । प्रचारभन्दा कामलाई बढी प्राथमिकता दिन चाहने सङ्गीतकार । प्रचार नचाहने, रेडियो टि.भी.मा अन्तरवार्ता दिन खास नरुचाउने, एकान्तप्रेमी । सङ्गीतमा देखिने अनेकौँ खाले आग्रह–पूर्वाग्रह भन्दा सधैं माथि, फराकिलो सोच–समझ भएका । गीत रेकर्ड हुँदा स्टुडियोमा प्रायः आफ्ना सङ्गीत सामाग्रीहरूको आफ्नै हातले नोटेशन तयार पारेर ल्याउने, गीतको कतिपय अरेन्जमेन्ट आफै गर्ने, स्टुडियो वर्कलाई अत्यन्तै महत्व दिने । अनुशासित, समयको चाल र सङ्गीतको आरोह–अवरोहयुक्त ताल राम्रो बुझेका, टिमवर्कमा सधैं फिट ।

आफ्ना सङ्गीत सामग्रीमा कसैसँग सम्झौता नगर्ने, आफ्ना गीतमा प्रयोग गरिने बाद्य सामग्रीको प्रयोग र प्रयोजन सम्बन्धमा गहिरो जानकार हुनुहुन्थ्यो उहाँ । गीत रेकर्ड हुँदा मौलिक बाद्ययन्त्रहरूको प्रयोगमै जोड दिने । रेडियो नेपालका सहकर्मीहरूसँग सदा सहयोगी र सदभाव राख्ने । सङ्गीतका पुर्बजहरू नातिकाजी, शिवशंकर, तारादेवी, माणिकरत्न, प्रेमध्वज प्रधान, किरण खरेल, फत्तेमान जस्ता अग्रज श्रष्टाहरूसँग सधैं हेलमेल राख्न रुचाउने । सङ्गीतमा रोमान्टिजम भन्दा शालीनता र गाम्भीर्यता रोज्ने, खोज्ने, गम्भीर प्रकृतिका मौलिक धुनहरूमा बढी सुहाउने । गीत रेकर्ड गर्दा सबै टीममा रहेका बद्यकलाकारहरूसँग आत्मिय र साथीभाइको सम्बन्धमा नै रहन चाहने । अन्तर्मुखी स्वभावका । कहिल्यै अभिमानी नदेखिने स्वाभिमानी हुन मनपराउने । शास्त्रीय सङ्गीतका विभिन्न टेक्निकहरूलाई पनि आधुनिक सङ्गीतमा नजानिँदो र सुहाउँदिलो पाराले प्रयोग गर्ने ।

यस्तै, आधुनिक, शास्त्रीय, लोक, चलचित्र, रेडियो, नाटक, गीतिनाटक, नृत्य नाटक, ब्याले, अपेरा आदि सबै क्षेत्र र त्यसखाले सङ्गीतका क्षेत्रमा क्रियाशील कलाकारहरूसँग एकनासको सम्बन्ध राख्ने स्व. शर्माको स्वभाव । घरमा ज्यादै अनुशाशित, पुजापाठ गर्ने, मन्त्रोच्चारण गर्ने, अध्यात्मिक चिन्तन र जीवन पद्धतिमा गाँसिरहने, बाहिरी रङ्गीन दुनियाँसँग मतलब नराख्ने तर आफ्नो क्षेत्रमा गहिरो अध्ययन, अभ्यास, अनुसन्धान, खोज गरिरहने र तिनको प्रयोगगर्न मनपराउने उनका महत्वपुर्ण आनीबानी र जीवनशैलीका प्रमुख स्वभावहरू हुन् ।

नेपाली सांगीतिक क्षेत्रका एक मुर्धन्य सङ्गीतकार चन्द्रराज शर्माले वास्तविक रुपमा सङ्गीत शिरोमणि प. यज्ञराज शर्माको गर्विलो र दर्बिलो बिँडो मात्र थामेनन्, नेपालको एक प्रतिभाशाली र क्षमतावान सङ्गीतकारको रुपमा आफुलाई सङ्गीतप्रेमीहरू माझ स्थापित गर्न सफल रहे । उनले नेपाली समाजलाई धेरै कुरा दिएका छन् तर उनले केही लिएनन् । सादा जीवन सङ्गीतमा उच्च विचार उनको जीवनपद्धती रह्यो जुन आजको युगका मानिसहरूका लागि अनुकरणयोग्य संस्कार र सभ्यता समेत हो । जय होस् कालजयी सङ्गीतकार चन्द्रराज शर्माको सांगीतिक यात्राको, जय होस् उनका अजर र अमर कृतिहरूको !

(सङ्गीतकार एवम् गायकसमेत रहेका पङ्क्तिकार रेडियो नेपालमा उपनिर्देशक तहमा कार्यरत छन् ।)

प्रतिक्रिया