यसरी भयो कास्कीमा शान्तिपूर्ण चुनाव

यसरी भयो कास्कीमा शान्तिपूर्ण चुनाव


बहुप्रतीक्षित प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचन अपेक्षा गरिएभन्दा शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । चुनावको सङ्घारमा विभिन्न स्थानमा बम विस्फोटका घटना घटे पनि निर्वाचनका दिन भने त्यस्तो अनिष्ट भएको कतै खास सुन्नुपरेन । कैयन जिल्लाबाट सामान्य झडपलगायतका खबर आए पनि यस्ता जिल्ला र क्षेत्र पनि रहे जहाँ अत्यन्त शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न भयो । राजनीतिक दलहरू सरकार निर्माणको मुद्दामा अल्झिएर यतिबेला राजनीतिक माहोल तताइरहेको परिवेशमा उनीहरूलाई यो अवसर शान्तिपूर्ण तवरले सम्पन्न निर्वाचनले नै प्रदान गरेको हो भनी यहाँनेर स्मरण गर्नु सान्दर्भिक हुनेछ ।

शान्तिपूर्ण तवरले निर्वाचन भएका स्थानविशेषको चर्चा गर्नुपर्दा यतिबेला अग्रस्थानमा कास्की जिल्लाको नाम लिन्छन् सुरक्षा निकायसम्बद्ध जानिफकारहरू । शान्तिसुरक्षाको सवालमा केही महिनाअघिदेखि नै पोखरा (कास्की)को नाम चर्चामा रहेको थियो । कास्की प्रहरी प्रमुखको रूपमा जिम्मेवारी लिएर प्रहरी उपरीक्षक अशोक सिंह खटिएलगत्तै उनले आफ्नो पेसागत धर्म निर्वाहका क्रममा आफ्नो इमान र कौशल पनि देखाइदिएको प्रहरी सङ्गठनभित्रै चर्चाको विषय बनेको थियो । राज्य–संयन्त्रभित्रका जुनसुकै निकायको किन नहोस्, तिनका दोष औँल्याएर टीका–टिप्पणी गरिन्छ भने गुण वा सकारात्मक कामको प्रशंसा र प्रोत्साहन पनि उत्तिकै दरकारको कुरा हो । यस सवालमा कास्की प्रहरी प्रमुख एसपी सिंह चर्चालायक पात्र देखिएका छन् ।

एसपी सिंहले जिम्मेवारी सम्हालेपछि जिल्लामा घटेका विभिन्न अपराधको अनुसन्धान प्रभावकारी रूपमा सुरु भएको बुझिएको छ । प्रहरी सक्रियताका कारण मुद्दा दर्ता सङ्ख्यामा वृद्धि भएको र प्रहरीको उचित परिचालनका कारण अपराधीहरूको मनोबल उकासिन नसकेको स्थानीय क्षेत्रका आमसर्वसाधारणको भनाइ छ । फरार अपराधीहरूको गिरफ्तारीका कारण आपराधिक मनोवृत्तिको मनोबल उठ्न नसकेको र जिल्लामा गम्भीर प्रकृतिका घटनासमेत नघटेको आममानिसले अनुभूति गरेका छन् ।

एसपी सिंहले गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत कास्कीका विभिन्न इलाका विशेषगरी टाउन प्लानिङ गरिने एरियामा सूचना सङ्कलनतर्फका प्रहरी खटाई नियन्त्रण अभियान सञ्चालन गरेका थिए । प्राप्त सूचनाको गहन विश्लेषण गरी प्रहरी परिचालन गराउनुका साथै आपराधिक गतिविधि हुन नदिन उनले कारबाही अभियानलाई पनि तीव्र पारे । परिणामतः आपराधिक क्रियाकलापमा निकै कमी आयो ।

सामाजिक विकृति नियन्त्रणअन्तर्गत यौन व्यवसायको नाममा भएका छाडा क्रियाकलापमाथि पनि एसपी अशोक सिंहले कडा नीति अपनाएको स्थानीयले महसुस गरेका छन् । यस्तो विकृतिमा संलग्न सयौँ जोडीलाई कानुनबमोजिम कारबाही गरिनाले स्थानविशेषको मार्यादा कायम हुन पुगेको पोखरावासी गौरवका साथ सुनाउँछन् ।

खासगरी गुण्डागर्दी उन्मूलन, जुवातास र लागूऔषध नियन्त्रण, मानव–तस्करीमाथि तीक्ष्ण निगरानीलगायत विषयमा एसपी अशोकले आफूलाई प्रभावकारी रूपमा केन्द्रित गरेकाले कास्कीमा यतिबेला यस्ता विकृतिको उल्लेख्य नियन्त्रण भएको सरोकारवाला सबैले प्रत्यक्ष अनुभूति गरेका छन् । जब समाजमा हुने उल्लिखित प्रकृतिका यावत् विकार–विकृतिको अन्त्य हुन्छ, स्वतः नै त्यहाँ शान्ति–सुरक्षाको परिवेश पैदा हुन पुग्छ । यस्तै परिवेश सिर्जना भएको छ विशेषतः पर्यटकीय नगरी भनेर चिनिने पोखरामा यतिबेला ।

जहाँसम्म निर्वाचनको समयमा कायम गरिएको शान्तिसुरक्षाको कुरा छ, सरकारको एकीकृत सुरक्षा समितिको रणनीतिअन्तर्गत जिल्ला प्रहरी प्रशासनको नेतृत्वकर्ताको नाताले एसपी सिंहले निकै सुझबुझपूर्ण र चुस्त शैली अपनाए । निर्वाचनअघि मुख्य चुनौतीको रूपमा चर्चामा आएको विप्लव माओवादी समूहका कार्यकर्ता पहिचान गरी करिब ४०–४५ जनालाई उनले नियन्त्रणमा लिए । सम्भवतः त्यति ठूलो सङ्ख्यामा एकै जिल्लाबाट अवान्छित गतिविधिमा संलग्न व्यक्ति नियन्त्रणमा लिइएको कास्की नै हुन सक्छ, जसले गर्दा सिङ्गै जिल्लाभर पूर्ण शान्तिको अवस्था रह्यो र सर्वसाधारण एवम् आममतदाताले ढुक्क भई निर्वाचनमा सहभागिता जनाउन सके ।

निर्वाचनको समयमा शान्तिसुरक्षा कायम गराएको विषय त एउटा खास परिस्थितिको सन्दर्भ हो । एसपी सिंहको नेतृत्वमा पछिल्ला महिनामा कास्कीमा निकै उत्साहजनक काम भएका छन् । सापटी भन्दै रकम उठाएर सर्वसाधारणको करोडौँ रकम ठगी फरार भएका ठगलाई समात्नेदेखि अनुमति नलिई ड्रोन क्यामरा प्रयोग गर्ने सातजना विदेशी नागरिकलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाइएको सन्दर्भ होस् या अवैध रूपले भारतीय नोट ओसारपसार गर्ने भारतीय नागरिकलाई कानुनी दायरामा ल्याएको मामला होस्, विभिन्न अपराधमा प्रमाणित भई कारबाही भोग्नुअघि बेपत्ता भएका तीन दर्जन फरार अभियुक्तलाई पक्राउ गरी अदालत पठाइएको, शहर–बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज बनाई दुर्घटना न्यूनीकरण गरिएको, जनचेतना अभिवृद्धिलगायत व्यवस्थापन र सुधारका विभिन्न काम–कदमले यतिबेला एसपी सिंहको तारिफ भइरहेको छ ।

अशोक सिंहजस्ता काबिल प्रहरी अधिकारी नेपाल प्रहरीभित्र थुप्रै हुन सक्छन्, एकसाथ सबैको कामको चर्चा सम्भव र सान्दर्भिक पनि नहोला । जे होस्, कास्कीमा एसपी सिंहले निर्वाह गरेको भूमिकाको अनुशरण गरी अन्य जिम्मेवार प्रहरी अधिकृतले पनि जिम्मेवारी प्रदर्शन गरे आमनेपालीले खोजेजस्तो शान्तिसुरक्षा कुनै दुर्लभ विषय बनेर रहन सक्दैन भन्नेमा विश्वस्त हुन सकिन्छ ।