आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता


नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक आरके बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको आइएमईले जनाएको छ । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिने बताइएको छ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने छ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंङ साझेदार संस्था हुनेछन् ।

कार्यक्रममा मन्तव्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए । यस्तै, प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।