मोबाइल बैंकिङ कारोबारमा कडाइ !

मोबाइल बैंकिङ कारोबारमा कडाइ !


मोबाइल बैंकिङमा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढीको कारोबार गर्न नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले प्रावधान ल्याउन लागेको हो ।

विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको र बैंकहरूले राष्ट्र बैंकलाई मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रूपैयाँसम्मको कारोबार गर्न सुझाब दिएको बुझिन्छ । सोही अनुरूप राष्ट्र बैंकले प्रावधान ल्याउन थालेको समाचार स्रोत बताउँछ ।

यस्तै, नेपाल राष्ट्र बैंकले इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम १ लाख र मासिक ५ लाख रूपैयाँसम्मको मात्र कारोबार गर्न पाइने व्यवस्था ल्याउने तयारी गरेको छ । स्रोतका अनुसार यही माध्यमबाट ट्रान्सफर गर्दा दैनिक १ लाख र मासिक १० लाख रूपैयाँको सीमा राष्ट्र बैंकले प्रस्ताव गरेको बुझिन्छ ।

यस्तै, डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम पाँच सयदेखि अधिकतम पच्चिस हजारसम्म झिक्न पाइने प्रस्ताव पनि राष्ट्र बैंकले गरेको छ । यस्तो कारोवार प्रति दिन चार पटकसम्म र अधिकतम एक लाखसम्म कारोवार गर्न पाइने मस्यौदामा उल्लेख छ ।

एजेन्ट वा सब एजेन्टमार्फत इ वालेट, मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजार सम्म गर्न सकिने प्रस्ताव गरिएको हो । मस्यौदा अनुसार प्रति दिन अधिकतम पन्ध्र हजार र मासिक अधिकतम पच्चिस हजारसम्म रकम जम्मा गर्न सकिने छ ।