निर्वाचित भएपछि प्रचण्ड निस्किए घरदैलो अभियानमा

निर्वाचित भएपछि प्रचण्ड निस्किए घरदैलो अभियानमा


चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि  घरदैलो अभियान शुरु गरेका छन् ।

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार मतदातालाई धन्यवाद ज्ञापनका लागि प्रचण्डले आजदेखि  घरदैलो अभियान शुरु गरेको र शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुनेछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हँुदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुँदैछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिइरहेको बुझिएको छ । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् ।

वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र क प्रदेशबाट निर्वाचित नेकपा एमालेका कृष्ण भूर्तेल र ख प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामलाल महतो पनि सहभागी छन् ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न पुगेका थिए । उनले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरेका थिए ।