बरै… मुख धुनु केले ? तितेपातीले (चुनाबी रोइलो)

बरै… मुख धुनु केले ? तितेपातीले (चुनाबी रोइलो)


■ डिल्ली अम्माई

‘चुनाब त आयो, एक सुनामी बनेर आयो । बामपन्थीका लागि क्षणिक खुशी बनेर आयो, भोलिको लागि थामीनसक्नु भारी, आशैआशाको भूमरी, आँशु र वेदनाको निवेदन बनेर आयो । एकथरीलाई हाइ सन्चो भो अब, होस्टलमा बसेर सेकुवा खाँदै बिद्रोही कविता कोर्दै बसे भो, तर अर्को थरीलाई यो चुनाव अजिङ्गरको मुखभित्रको आहारा बनेर आयो । यो पटकको चुनाब त सुनामी बनेर आयो ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट त्यही सुनामीमा परेर बगरमा मिल्क्याइए । दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा पर्यो भने केसी र महत परिवार केन्द्रित नुवाकोटे कांग्रेसको खानदानी राजनीति यो पटकको चुनावी सुनामीले समाप्त पारिदियो । अन्तर्घातको कारण आफुहरु हारेको मसिनो स्वर सुनिदै छ । आफ्नो कमजोरी केलाउनेतर्फ उनीहरुको ध्यान कहिले जाला ? यो प्रश्न चेतनशील मतदाताले यो पटक उठाइछाडे । तर उनीहरुले हेर्लान् त आफूतर्फ फर्केर ?

लोकतान्त्रिक गठबन्धनबाट अहिले रुवाबासी र सत्तोश्राप चर्केको छ मुलुकभरी । त्यसमा पनि चुनावी सुनामीले पल्टाएर घाइते बनेकाहरुको बिलौनाले ‘समवेदनामा मुलुककै झण्डा झुकाउनु पर्ने’ होकि भन्ने हास्यतर्क सुनिन थालेका छन् । कांग्रेससँगकै गठबन्धनका कारण अन्य उमेद्वारसंगै राप्रपाका अध्यक्ष कमल थापा पराजित भएको खबर केन्द्रीय सदस्य एवं सहप्रवक्ता मोहन श्रेष्ठले रुँदै ट्विट गरेको कुरा अहिले सामाजिक संजालमा भाइरल बनेको छ । ‘राप्रपा अध्यक्ष कमल थापाको पराजयले स्तब्ध छु, अन्तर्घातमा माहिर, सर्वत्र आलोचित र अलोकप्रिय कांग्रेससंगको गठबन्धन भारी पर्न गयो’, श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

‘तर हामी विचलित हुन्नौं, छैनौं । स्पष्ट विचार, दृढ नेतृत्व र सांगठनिक शुद्धताको बलमा फेरि उठ्नेछौं । राप्रपाको समाप्ति चाहनेको रहर पूरा हुन दिन्नौं,’ उनको बिलौनामा आशा र सान्त्वना पनि छ । यसरी यो चुनावी सुनामीले धेरैको गाँससंगै सरकारी बास पनि लुटेको छ । जसले त्यो सुविधा भोगे त्यसलाई मात्र छुट्दाको पिडा र आहतबारे आघातको विक्षिप्तता महशुस हुन्छ ।

यो चुनाबी सुनामिभित्र कस्ता कस्ता प्रवृति मिसमास या कक्टेल भए भन्न मुस्किल छ । प्रवृत्तिगत रुपमा भन्दा गुम्बाको पाला मस्जिदमा र चर्चको क्रस पशुपतिमा देख्न पाइयो । सुनामीले घालघुल पारिदियो सबै । झापामा लिङदेनको विजय जुलुसमा बाम पार्टी समर्थकहरु सहभागी भएर राष्ट्रिय गीत बजाइयो । एमाले र माओवादीका झन्डा पनि फहराइए । तर चितवनका कांग्रेसहजनले चुनाब प्रचारमा हलो नै बोकेर भोट माग्न लाज मानेनन् ।

मनाङमा गुण्डा नायकलाई सुनामीको गोबर-गहुँतले लाल र लायक बनायो भने सुनामिमा नोक्सानी बेहोरेका अर्का नायक पनि काभ्रेतिर पिडासहित हल्ली रहेका छन । त्यस्तै वारेस मार्फत उम्मेद्वारी दर्ता गराएका आरोपित टिकापुर हत्याकाण्डका नायक रेशमलाल चौधरी कैलाली-१ को चुनाबमा निकटतम प्रतिद्वन्द्वी भन्दा चार गुणा मतले अगाडि बढेका छन्। उनलाई चुनाबी महासमरमा भाग लिन कसरि दिइयो ? जो कि उनको अपराध विचाराधीन छ र उनि हत्याका आरोपी हुन्, प्रहरीले पक्राउ पुर्जी जारि गरिसकेको अवस्था छ । यो पटकको चुनाबी सुनामीले यस्ता प्रश्नहरु असरल्ल पारेको छ ।

नेपालै भारी रमिता छ चुनाबी सुनामीको । प्रधानमन्त्री पत्नी लगायत नेपाल भरिबाट उठेका सबै राणाका सन्तानहरुको चुनाबी सुनामीले उठिबास लगाएको छ । प्रधानमन्त्री पत्नी आरजु राणालाई हराएका बाम गठवन्धन (एमाले)का उम्मेदवार नागरदमुनी रानाले दुइटै श्रीमतीलाई दायाँबायाँ राखेर प्रसाद ग्रहणसंगै जितको माला पहिरिएका छन् र बिजयको गीत गाएका छन् । त्यो रमिता हेर्न नसकेर कतिपय अर्को गठबन्धनका प्रचारकहरुबीच रुवाबासी चलेको हल्ला पनि सामाजिक संजालसम्म आइपुग्यो ।

थाहा भएकै कुरा हो, नारदमुनी राना २०६४ सालमा नेकपा एमालेको तर्फबाट समानुपतिक तर्फका सभासद थिए । रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लागेका रानालाई पछि अदालतले सफाई दिएको थियो । काजिहरुलाई यो पटक गोर्खा फापेन । चिन काजि हुन् वा नारायण काजि दुबैको नाममा जोडिएको काजिलाई गोर्खाले अर्घेल्याइँ गर्यो । गोर्खाका नारायणकाजी जस्तै बर्दियामा बामदेब गौतमको हारले बाम गठबन्धन भित्र र बाहिर फेरि आशंका सहितको नमिठो रोइलो थपिदिएको देखिन्छ । बर्दियाबाट उठेका बाम एकताका सूत्राधार बामदेब गौतम र नारायणकाजीलाई संगठनको कार्यबाहक दिन र एकतापछि बरियताको विवाद मिलाउनको लागि पार्टी अध्यक्ष द्वयबाट नै हराइयो भन्ने एकथरिको अपुष्ट आरोप छ भने अर्कोथरीले आरोप लगाएका छन् कि ‘उनी बर्दियाको चुनाबी क्षेत्रलाई विगतमा फाइदाको लागि मात्र प्रयोग गरे । यसअघि बर्दिया क्षेत्र नम्बर १ बाट र प्यूठानबाट पनि निर्वाचन जितेका थिए। त्यतिबेला एउटा क्षेत्र छोड्नु पर्दा बर्दिया छोडे र प्युठान रोजेका कारण उनीसँग बर्दियाली जनताहरु ब्यापक रुपमा रुष्ट थिए। यो उनलाई सजाय हो । ‘यो आरोपबारे बामदेबले नै पछि कुरो उप्काउलान्, अहिले हारेको पिडा जो छ ।

चुनावअगाडिको सर्वेक्षणलाई नियाल्दा, उपाध्यक्ष गौतमले बर्दियामा कुनै पनि विकासका काम नगरेको आरोप चुनावी प्रचारमा खेप्दै आएको देखियो । असन्तुष्टिको अर्को मसला उनका छोरा र श्रीमतीलाई उमेद्वार बनाइनु पनि हो । गौतमले सुरुमा छोरा हरिश गौतमलाई उम्मेदवार बनाउन चाहेका थिए । त्यतिबेला कार्यकर्ताले तीब्र असन्तुष्टि जनाए । झन् पत्नी तुल्सा थापालाई सामानुपातिक नाम पारेपछि बर्दिया एमालेमा असन्तुष्टि चुलियो, त्यो नै चुनाबी हारको प्रमुख कारण हो, भन्नेहरुको बर्दियामा बाहुल्यता देखिन्छ ।

त्यो क्षेत्रको अवलोकन गर्दा आन्तरिक कारण बाहेक बामदेबले हार्नु पर्ने अन्य कारण छैन कि भन्न सकिन्छ । उनको क्षेत्रको कुरा गर्दा बराबर्दिया,बासगढी, बढैयाताल नगरपालिकाको मेयरमा वाम गठबन्धनले जितेको थियो। कांग्रेसका गौतमले जितेको प्रतिनिधि सभा क्षेत्र नं। १ मा वाम गठबन्धनको स्थानीय तहमा राम्रो पकड भएको क्षेत्र हो । चारै वटै स्थानीय तह रहेको प्रतिनिधिसभा १ मा वाम गठबन्धनको पकड क्षेत्र मानिन्छ । स्थानीय तहको मतपरिणाम जोड्दा २८ हजार मतले वामगठबन्धन अघि थियो।

गृहनगर गुलरिया नगरपालिकामा कांग्रेसका सञ्जयले २ हजार ८ सय ९३ मतले उपाध्यक्ष गौतमलाई पछाडि पारेका थिए। यसैगरी गृहनगर नगरपालिकामा पाएको मत जोगाउँदै माओवादी केन्द्रको पकड रहेको वारबर्दिया क्षेत्रमा काँग्रेसका गौतम विजयी भएका थिए।

बढैया ताल गाउँपालिकाबाट १५ सय मतले अगाडि रहेका वामदेव गौतमले गृह नगर रहेको बाँसगढी पनि नगरपालिकामा कम मत प्राप्त गरेका थिए । बारबर्दिया नगरपालिकामा उनले अग्रता लिने विश्वास वाम गठबन्धनले गरेको भएपनि उनीप्रति असन्तुष्ट कार्यकर्ताले मत नदिएको स्थानीयको विश्लेषण छ। वामगठबन्धन हावी भएको ठाउँमा दुई गौतमबीच जित हार झिनो मत भएपनि त्यो बाम आधार क्षेत्रको जीतलाई कांग्रसले ऐतिहासिक विजय ठानेकोे छ।

बामदेबले हारको आरोप अरुलाई लगाउनुपुर्व आत्मसमिक्षा गर्नुपर्ने जरुरी देखिन्छ । त्यसपछि मात्र बाम आधार क्षेत्रमा अन्य हारका कारणबारे समिक्षा गरे त्यो सतही हुने छैन । एकताका दुवै सूत्राधार हराउनुमा कतै यो एकताबाट असन्तुष्ट भारत वा उसका अनुसन्धान निकायहरुको हात त छैन ? यो आशंका गर्न लायक अर्को गम्भीर प्रश्न हो । तर आफ्नै नेताहरुले बरियताको उल्झन मिलाउनको लागि आफ्ना निकटतम सहयोगीलाई हराए भनेर एकतामा औंशा पार्न खोज्नु त्यति उत्पादक र सान्दर्भिक देखिन्न ।

यो त भयो जित्ने गठबन्धनभित्रको मुख्य आशंका र खिचलो । तर कांग्रेसभित्रको रोइलोले देउपालाई गम्भीर आरोपसहित अध्यक्षबाट मिल्क्याउने जोखना हेर्दै छ । उनीहरुको आरोप छ, न देउपा विचारमा प्रष्ट छन्, न कामका तरिकामा। ‘चान्स’मा बढी र ‘च्वाइस’ मा कम, यिनको समय बितेको छ। यस पटकको निर्वाचनमा कांग्रेसको दुर्घटना पनि यिनकै कारण भएको हो। जसले ज्योतीषका भरमा मात्र सात पटक देशको प्रधानमन्त्री हुने सपना देख्छ, ऊ ‘सिम्पल’ रुपमा राजनीतक ‘लद्धु’ पात्र मात्र हो। यो आवाज कांग्रेसभित्र गुन्जीरहेको मात्र छैन चर्कीसकेको छ । कांग्रेसभित्र उनलाई हटाउने अभियान शुरु भैसकेका स्वरहरु बाहिरिँदै छन्।

सुत्रका अनुशार नेपाली कांग्रेसभित्र त अब पार्टीलाई बिशेस महाधिवेसनमा लैजान हस्ताक्षर अभियानबारे कुरा चलिसकेको छ । देउपालाई अध्यक्षबाट मिल्क्याउन फलाम तातेको अवस्थामा हिर्काउनु पर्छ, भन्न थालिएको छ । हिन्दुवादी कांग्रेसहरुले पार्टी पुरानो अडान अर्थात १२ बुँदे पुर्वको अधानमा लाने चर्को तयारी गरिरहेका संकेतहरु सजिलै देख्न सकिन्छ । देउपाको सट्टामा शशाङ्क कोइराला अध्यक्षका लागि तयार गरिंदै छ । अभियानको नेतृत्व अब चाहेर वा नचाहेर रामचन्द्रलाई गर्न बाध्य पारिने देखिन्छ । कांग्रेसमा अब चुनाबी सुनामीपछि अर्को सुनामी शुरु हुन्छ । उनीहरु भन्दैछन, ‘निधि र सिटौलाको सिङ अन्तर्घातमार्फत भाँचियो । गणतन्त्र पक्षधर सबैमाथि अब क्रमशः आक्रमण हुन्छ ।’

अहिले नेपाली राजनैतिक मैदानमा देखिएका सशक्त र चलाख पात्रहरुबारे नेपाल र नेपालीको भबिष्य जोडिएको अर्काथरीको कुरो छ । ति महशुर राजनैतिक रणनीतिकारहरूबारे थोरै तथ्य राख्नु सान्दर्भिक नै होला । यो चुनाबपछि नेपालको भविष्यका सर्वाधिक चासोपूर्वक हेरिएका पात्रमध्ये एउटा एमाले अध्यक्ष केपी ओली हुन् । ओली नेपाली राजनीतिका यस्ता चलाख पात्र हुन्, जसले तरिका मिलाइ मिलाइ आफु र आफ्नो पार्टीलाई आज यो उचाइमा ल्याइपुर्याए। भनिन्छ उनले नेपाली जनताको मनोविज्ञानलाई राम्ररी बुझेका छन् र त्यो मनोविज्ञानलाई प्रभावित गर्ने तरिकाहरु उनलाई राम्ररी थाहा छ।

नेपाली मनोविज्ञान भनेको सोझो हिसाबमा भन्दा– आशामा बाँच्ने, हिजो राती देखेको सपनाको भरमा आजको दिनको हिसाबकिताब गर्ने र आफ्ना जीवन र चाहनासँग जोडिएका खरा कुरा मनपराउने मनोविज्ञान हो।

हो, ओलीले ठ्याक्कै यही लय पक्रिए । उनी नेपाली जनजीवनका भाषा सबैले बुझ्ने गरी ठेट रुपमा बोल्छन्। खरो रुपमा बोल्छन् र सपनाको कुरा गर्छन्, आशाको कुरा गर्छन् र खरै रुपमा प्रगतिका कुरा गर्छन्। बस, एउटा निराश समाजलाई चाहिने र गति दिने तत्व यिनै हुन्।

भने जस्तै होस् वा नहोस्, गति दिइरहनु मात्रै पनि ठूलो कुरा हो। जस्तो कि व्यापारमा नाफा नभएपनि पैसाको कारोबारको मात्राले ठूलो अर्थ राख्छ। पैसाको कारोबारको मात्राले व्यापारलाई गति दिन्छ। ओलीले सधैं राजनैतिक आशारुपी कारोबारको मात्रालाई बढाउने काम गरे। नाफा घाटाको हिसाब किताब त इतिहाँसमा हुँदैगर्छ।

उनी जस्तै प्रचण्ड पनि समकालीन नेपाली राजनीतिका सबैभन्दा सक्रिय ‘टयाक्टिकल’ चलाख पात्र हुन्। वालिकै भाषामा भन्दा डाइनामिक र देउपाको भाषामा भन्नु पर्दा राजनेतामा हुनुपर्ने सम्पूर्ण गुण भएका नेता ।

नेपालमा राजतन्त्र खत्तम गरेर गणतन्त्र ल्याउनु उनको एजेण्डा थियो, ल्याए। तिन ठुला पार्टीहरुलाई आफ्नो एजेन्डामा सहमति गराएर आँफुसंगै लतारिरहे । बैद्य, बिप्लव र बाबुराम भट्टराई समेत छिन्नभिन्न भएपछि त प्रचण्ड करीब करीब सिद्धिने अवस्थामा देखिए। आफ्नो एजेण्डा पनि अलपत्र , आफ्ना मान्छे पनि छैनन्। तर कहिल्यै बिचलित भएनन् । स्थानिय चुनाबमा पार्टीलाई संजीवनी दिएर तेश्रो बनाउन सफल भए । तत् पश्यात बाम एकताको महाअभियानमा लागे र अहिलेको सुनामी ल्याउने एक हिस्साको दृढतापुर्वक नेतृत्व गरे । प्रचण्ड, यसकारण नेपाली राजनीतिका चलाख पात्र हुन् कि उनलाई कतिबेला कोसँग कार्यगत एकताले जोड्नुपर्छ भन्ने थाहा छ।

आफुलाई बचाउनलाई मान्छे तान्द्रोको सहारा समेत छोड्दैन, प्रचण्डले त सिंगो कम्युनिष्ट आन्दोलन एककृत बनाउने बलियो लठ्ठै भेटे। तान्द्रो भन्दा लठ्ठो बलियो हुन्छ भनेर छुट्टयाउने खुबी निश्चय नै प्रचण्डमा छ। त्यही खुबी प्रयोग गरेर भिरबाट खसिसकेका प्रचण्ड र पार्टीको शाख सहित फेरि माथी उत्रिएका छन् । देश र पार्टीलाई संकटबाट बचाउन सक्ने नेता नै बास्तबिक नेता हो । हत्या हिंसाको कालखण्डलाई छोडेर मुल्यांकन गर्दा पनि त्यो खुबी प्रचण्डमा क्रमश देखिदै पनि छ ।

सफल नेता हुने गुणहरूबारे चर्चा गर्दा लगावको मात्रै कुरो आउदैन आफ्नो खराब चरित्र बदल्ने र आँफुलाई रुपान्तरण गर्ने कुरा प्रधान बनेर आउछ । माथि राखिएको शीर्षकले भन्न खोजेको कुरा पनि त्यहि हो । जब मुखमा खटिरा आउँछ त्यसपछि अनुहारको दशा नै बिग्रिन्छ । त्यो खटिराको अचुक औसधि हो तितेपाती । तितेपाटीको रसले मुख धुन थाल्योभने दुइ हप्तामा डण्डीफोर चट हुनेमा कुनै शंका रहदैन । त्यस्तै ज्यानमा लुतो वा अन्य खटिराको अचुक औषधि पनि तितेपातीको रस नै हो । त्यहि कारण रत्यौलीमा महिलाहरुले गाउने गर्छन- ‘बरै ! मुख धुनु केले ? तितेपातीले !’ राजनीतिमा पनि त्यहि कुरा सत्य हो । तितो लागे पनि आलोचना सुन्ने, हानि नोक्सानीको कारण मुख्यतया आफुभित्र खोज्ने, आफुलाई सुधार्न प्रयत्न गर्ने र जनतामा समर्पित भएर काम गर्ने जो कोहिले पनि राजनीतिमा सफलता चुम्न सक्छन ।

तर पायो भने राहतको लागी आएका जस्ता समेत बेचेर खाने, आफ्ना नातागोतामा बाहेक सुयोग्य पात्र नदेख्ने र जनतालाई चुनाबमा बाहेक सुन्ने र देख्ने नगर्ने ब्याक्ति एक पटक सफल देखिए पनि पछि जनताले सडकमा ल्याएर मिल्क्याउछन । जस्तो यहि चुनाबमा काजी, पौडेल, केशी र महतको हालत देखियो । फ़ाइदाले मात्र राजनिती चल्दैन । त्यसकोलागि त्याग, सक्रियता, जनप्रियता र निर्णायक क्षमताको आवस्यकता हुन्छ । आफ्नो गल्ती नस्विकार्ने ब्याक्ति, जनताको अभिमतको सम्मान र समस्याको सम्बोधन नगर्ने ब्याक्ति जनताको पंतिबाट बिस्तारै बहिस्कृत हुदै जान्छ । त्यसैले जिबनभर राजनिती गर्नु छ भने आफुले आफ्ना कमजोरीलाई सुधार्ने पर्छ । अनुहारका फोहर घाउ र लुतोलाई फाल्न तितेपातिले मुख धुने हिम्मत गर्ने पर्छ । अहिलेको चुनाबले धेरै लुते फोहरिहरुलाई तितेपातीको रसले मुख धुने राम्रो सल्लाह दिएको छ ।

अन्त्यमा भन्नुपर्दा भिन्नभिन्न खुबी भएका प्रचण्ड र ओलीको देश र जनताप्रति कर्तब्य परायणता रह्यो भने देशले राजनैतिक स्थायित्व, सन्तुलित विदेश नीतिसहित आर्थिक समृद्धिको पथमा नेपाल र नेपालीलाई अगाडी बढाउने सामर्थ्य राख्न सक्ने आशा गर्न सकिन्छ ।