जो सरकारी जागिरबाट हात धोएर राजनीतिमा आए तर जित्न सकेनन्

जो सरकारी जागिरबाट हात धोएर राजनीतिमा आए तर जित्न सकेनन्


चुनावको मुखैमा सरकारी जागिरबाट हात धोएर राजनीतिमा आउनेर्को लर्को लाग्यो ।

भारतका लागि नेपालका राजदूतदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सम्मले चुनावमा भिड्नका निम्ति सरकारी जागिरबाट हात धोई राजनीतिमा आए तर उनीहरुले जित हासिल गर्न सकेनन् ।

जित्न उनीहरुलाई मुस्किल पर्यो । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले निर्वाचनमा भाग लिन राजीनामा दिए ।

कार्यकालको आधा समय पनि पूरा नगरेका उपाध्याय नेपाली कांग्रेसबाट टिकट पाउने निश्चित भएपछि राजीनामा दिएर चुनावमा होमिएका थिए ।

तर उनलाई चुनाव फापेन । कपिलवस्तु १ मा वाम गठबन्धनका उम्मेदवार चक्रपाणि खनालले उनलाई ९४६ मतले पराजित गरे ।

त्यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर प्युठानको चुनावी मैदानमा भाग लिन पुगेका डा. गोविन्दराज पोखरेललाई पनि चुनावले झड्का दियो ।

वाम गठबन्धनका तर्फबाट जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले पोखरेललाई १० हजारभन्दा बढी मतको अन्तरले पराजित गरे ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण पेशा छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न झापा ५ पुगेका डा. खगेन्द्रपाण्डव अधिकारीलाई पनि राजनीति फापेन । उनलाई दोब्बरभन्दा बढी मतअन्तरले ओलीले पराजित गरे ।

अहिलेको निर्वाचनमा सबैभन्दा फराकिलो अन्तरले पराजित भएका उम्मेदवार मध्ये अधिकारी दोस्रो नम्बरमा पर्छन् ।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर काठमाडौँ क्षेत्र नम्बर ९ (क) मा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका इन्द्रमान तुलाधर पनि सफल भएनन् ।
उनलाई एमालेका अजयक्रान्ति शाक्यले पराजित गरे ।

यसरी सरकारी जागिरबाट हात छोएर राजनीतिमा प्रवेश गरेकाहरुलाई चुनाव फापेको देखिएन भने उनीहरुलाई अघि बढ्न झड्का लागेको प्रष्ट देखिन्छ ।