नेता व्यवस्थापनका लागि एकता नगरिएको जिकीर

नेता व्यवस्थापनका लागि एकता नगरिएको जिकीर


झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले जनताको आशा, भरोसा र विश्वासलाई खेर जान नदिने बताउनुभएको छ ।

झापाको विर्तामोडमा आयोजित विजय उत्सवलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले राष्ट्र निर्माणको अभियानमा मतदान भएको उल्लेख गर्दै एमाले र माओवादीबीचको एकता देश र जनताको पक्षमा भएको बताउँदै नीतिमा केही गलत नभएको स्पष्ट पार्नुभयो ।

माओवादी र एमालेबीचको एकता भएको दावी गर्दै गरिबी, सुकुम्वासी र विकासको व्यवस्थापनका लागि भएको उल्लेख गर्दै ओलीले नेता व्यवस्थापनका एकता नभएको भन्दै कटाक्ष समेत गर्नुभयो ।

एमाले र माओवादीले कुस्ती खेल्दा अरुले नै आफूमाथि शासन गरिरहेको अनुभूत भएपछि त्यसको अन्त्यका प्रचण्डसंग सहमति भएको उहाँको भनाई थियो ।
एमालेलाई कमजोर बनाउन अनेक जाल बुनेको बताउँदै ओलीले भन्नुभयो–‘माकुराको जालोमा भैंसी अल्मलिंदैन’। त्यो जाल कसले बुनेको हो भन्नेबारे खुलाउनु भएन् ।

विजयउत्सवलाई नेकपा एमालेबाट झापा क्षेत्र नम्बर–२बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पवित्रा खरेल निरौलाले सबै सुकुम्वासीको हातमा धनीपूर्जा थमाएरै छाड्ने, विर्तामोडलाई पूर्वको व्यापारिक केन्द्रका रुपमा विकास गर्ने,धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण गर्ने, कोच संग्रहालय निर्माण गर्ने, बैज्ञानिक कृषि प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमको सञ्चालन ज्योतिसिंह दर्लामीले गर्नुभएको थियो ।

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा सदस्यमा झापाबाट सबै सिटमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएको नतिजा मुख्य निर्वाचन कार्यालय झापाले हिजो घोषणा गरेपछि आज जिल्लाभर विजय जुलुस मनाइएको हो।