सरकारले जाँदाजाँदै गरेको नियुक्तिको विरोध

सरकारले जाँदाजाँदै गरेको नियुक्तिको विरोध


देउवा सरकारले जाँदाजाँदै गरेको विभिन्न नियुक्तिको एमालेले विरोध गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै उसले विरोध जनाएको हो ।

सरकारले आजको क्याबिनेट बैठकबाट गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेको थियो । एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराएका छन् ।

“यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो” भन्दै पोखरेलको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौंँ ।”