लोभलाग्दो राजनीतिक शिष्टाचार, भद्र व्यवहार र सम्मान गर्ने परिपाटी

लोभलाग्दो राजनीतिक शिष्टाचार, भद्र व्यवहार र सम्मान गर्ने परिपाटी


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँंगै विजय र पराजय हुने उम्मेदवारबीच राजनीतिक शिष्टाचार, भद्र व्यवहार र सम्मान गर्ने परिपाटी पनि लोभलाग्दो देखिएको छ ।

राजनीतिमा विजय तथा पराजय हुने उम्मेदवारबीच भेटघाट त परै जाओस् बोलचालसम्म बन्द हुने गर्छ । तर, केही वाम तथा काँगे्रसका चर्चित अनुहारले जितमा पनि नमात्तिए र हारमा पनि नआत्तिएर गरेको बधाई साटासाट गर्ने शैलीले सबैको ध्यान तानेको छ ।

नेपाली काँग्रेस ओखलढुङ्गाका उम्मेदवार रामहरि खतिवडा, झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मा, नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. रामशरण महत र वाम गठबन्धन मोरङ क्षेत्र नम्बर ६ बाट विजयी उम्मेदवार लालबाबु पण्डित यसका उदाहरण बन्नुभएको छ ।

झापा १ बाट नेपाली काँग्रेसका उम्मेदवार शर्मा पराजित भएपछि प्रतिस्पर्धी वाम उम्मेदवार एवम् पूर्व सञ्चारमन्त्री राम कार्कीलाई विजयी भएकोमा बधाई मात्र दिनु भएन आफ्नै बगैँचामा फुलेको फूलको माला आफैले गाँसेर कार्कीलाई लगाइदिनुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा पनि शर्मा र कार्कीबीच एकले अर्कोलाई व्यक्तिगत रूपमा नकारात्मक आक्षेप लगाउने, आलोचना तथा अनर्गल टीका टिप्पणी गर्ने कार्यसमेत गर्नुभएको थिएन । काँग्रेस उम्मेदवार शर्माले विजयी वाम उम्मेदवार कार्कीलाई अँगालो मारेर सेल्फीसमेत खिच्नुभयो । त्यस्तै, ओखलढुङ्गाका नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले पनि नेकपा (एमाले)का विजयी उम्मेदवार यज्ञ सुनुवारलाई भेटेरै बधाई दिनुभयो ।

नेता सुनुवारले पनि विजयीको खुसियालीमा खतिवडालाई फूलको माला पहिराई दिएर प्रतिस्पर्धीको सम्मान गर्नुभयो ।
त्यस्तै, पूर्व अर्थमन्त्री नुवाकोट १ का उम्मेदवार डा. रामशरण महतले पनि विजयी वाम उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिनुभएको छ । उहाँले जित र हार चुनावी मैदानका दुई पाटा भएको भन्दै आफूलाई मतदान गर्ने मतदाताहरूप्रति धन्यवाद र आभार व्यक्त गर्नुभएको छ । काँग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काले पनि प्रतिपक्ष पार्टीका विजयी उम्मेदवारलाई बधाई दिनुभएको छ ।

गुल्मी क्षेत्र नम्बर १ बाट एमालेका नेता प्रदीप ज्ञवाली विजयी भएपछि उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले पनि अँगालो मारेर ज्ञवालीलाई बधाई दिनुभयो । काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका युवा नेता गगन थापा विजयी भएपछि उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डा. राजन भट्टराईले थापाको घरमै गएर बधाई दिनुभएको थियो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।