जोगीकै जस्तो हुनुपर्छ राजनीति गर्नेको भावनावीन्द्र कपा एमाले





राजनीति गर्नेहरू खुलेआम भन्छन्, ‘जोगी हुन राजनीति गरेको हो र -‘ तर, राजनीति पद, शक्ति र सम्पत्ति हत्याउनकै लागि हो भन्ने आमराजनीतिकर्मीको विचारसँग चर्को असहमति जनाउँछन् एमालेका युवा नेता एवम् सभासद् रवीन्द्र अधिकारी । ‘वास्तवमा राजनीति गर्नेको जीवन जोगीकै जस्तो हुनुपर्छ,’ अधिकारीको कथन छ, ‘मूल्य, मान्यता, इतिहास, सहिदको रगत, आमजनताको पसिना सबै भुलेर पद र पैसामा रमाउने प्रवृत्तिले नै राजनीति भ्रष्ट बनेको हो ।’
राष्ट्रपति या प्रधानमन्त्री बन्न नसक्ने नेताहरूलाई असफल मान्ने पक्षमा अधिकारी हनुहुन्न । ‘राष्ट्रपति या प्रधानमन्त्री त एक-एकजना हुन्छन्, सबै त बन्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘पद मात्र ओगटेर भएन, मुलुक र जनताका निम्ति योगदान गरेको हुनुपर्‍यो ।’
पार्टीमा केन्द्रीय समिति, पोलिटब्युरो या स्थायी समिति सदस्य हुनुलाई नै सफल राजनीति मान्ने पक्षमा पनि उहाँ हुनुहुन्न । ‘टपटेन मत ल्याएर जित्न सक्ने हैसियत भए पनि म केन्द्रीय सदस्यमै लडिनँ,’ उहाँले भन्नुभयो, ‘पद पाएर मात्र राजनीति र्सार्थक हुने होइन, मैले अर्को चुनावलाई हेरेर काम गरेको पनि छैन ।’ कुनै पद नभए अध्ययन-अनुसन्धानमा लागेर पनि मुलुकका लागि केही योगदान गर्नसक्ने उहाँको मत राजनीतिलाई ‘जीवन धान्ने पेसा’ ठान्नेहरूका लागि गतिलो झापड हो ।
सङ्क्रमणकालीन नेपाली राजनीति र दलहरू सबैले आफ्नो जमिन बनाउन सकेका छैनन् । एकथरी हारैहार अनुभव गरिरहेका छन् भने अर्काथरी जितैजित । वास्तवमा कसैले पनि जितेको छैन, सबैले हारेका छन् । अधिकारीको विचारमा मुलुकमा नेतृत्वको सङ्कट छ । कतिसम्म भने, मुलुक र जनताकै आमूल परिवर्तन गर्छर्ुुन्ने माओवादी आफैंलाई समेत परिवर्तन सकेको छैन ।
‘यहाँ त नेतै रहेनछन्, सबै सङ्कीर्णतामा अल्झिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘राष्ट्र र जनतालाई घात गरेर पार्टी बलियो हुन्छ भन्ने सोच्नु गलत हो ।’ नयाँ बाटोमा सबैलाई हिँडाउन सक्ने नेताका रूपमा उहाँले पाएको मदन भण्डारीलाई मात्र हो । उहाँका शब्दमा मदन भण्डारी बनिबनाउ बाटोमा हिँड्नुभएन, भित्र र बाहिर एउटै हुनुहुन्थ्यो, व्यवहारमा लप्पनछप्पन थिएन र उपदेशवादी हुनुहुन्थेन ।
आफू के भएँ, कसो भएँ भन्ने हिसाबकिताब रवीन्द्रले गर्नुभएको छैन । ‘अब के गर्न सकिन्छ -‘, उहाँले सोच्ने कुरा यति नै हो । त्यसो त उहाँ आफ्नो बन्दोबस्त गर्न राजनीतिमा लाग्नुभएको पनि होइन । मध्यमवर्गीय परिवारमा जन्मेकाले उहाँले सदैव सोच्नुभयो, ‘समाजका लागि के गर्न सकिन्छ -‘
शिक्षक बुबा पुष्पलालको नेकपा माक्र्सवादीमा सक्रिय हुँदा रवीन्द्रचाहिँ तत्कालीन नेकपा मालेको भ्रातृ सङ्गठन अखिल पाँचौंतिर लाग्नुभयो । मालेको पश्चिमाञ्चल हेडक्वाटर अर्थात् वामदेव गौतमसँग स्कुलेजीवनदेखि नै चिनजान भयो उहाँको । त्यतिबेला गौतमको भूमिगत पार्टी नाम रहेछ, गिरिश । त्यसैबेला रवीन्द्र रेडगार्ड अर्गनाइजेसन -आरजीओ) मा सङ्गठित हुनुभयो । त्यतिबेला जीवराज आश्रति, त्रिलोचन ढकाललगायत नेताहरूसँग पनि हिमचिम बढ्यो र भूमिगत राजनीतिक गतिविधिमा सघाउनुभयो । उहाँ अनेरास्ववियु -पाँचौँ) मा सङ्गठित भएकोचाहिँ २०३७ चैत १४ गते रहेछ ।
खासमा रवीन्द्रलाई २०३६ सालको राजनीतिक हावाले छोएको थियो । त्यतिबेला अखिल, नेविसङ्घ, राष्ट्रवादी विद्यार्थी मण्डल, काङ्ग्रेस, कम्युनिस्ट, पञ्च आदिको विवाद भइरहन्थ्यो । ‘फटाहा’ भन्दै विपक्षीलाई मोसो दल्नु पनि त्यति अनौठो मानिँदैनथ्यो ।
२०२६ वैशाख २२ गते कास्कीमा इन्द्रप्रसाद र लक्ष्मी अधिकारीका जेठा छोराका रूपमा जन्मनुभएका रवीन्द्र मुलुकै आशलाग्दा नेता हुनुहुन्छ । उहाँका दुई भाइ दीपेन्द्र र कमल दशकदेखि जापानमा छन् भने विमला उहाँकी एक्ली बहिनी हुन् । उहाँले कास्की, भरतपोखरीको शान्ति उदय माविबाट एसएलसी गर्नुभयो २०४१ सालमा । त्यसपछि पोखराको पृथ्वीनारायण कलेज प्रवेश गर्नुभयो । २०४४ सालमा अखिल पाँचौँको कलेज अध्यक्ष हुँदै २०४५ सालमा स्ववियु सदस्य हुनुभयो भने २०४९ सालमा स्ववियु सभापति ।
२०४६ सालको जनआन्दोलनताका स्ववियु सभापति झलक सुवेदी र उहाँलाई हतकडी लगाएरै झन्डै चार महिना जेलमा राखिएको थियो । राजनीतिक बन्दीसँग नराखी आपराधिक व्यक्तिसरह जेलमा राखिनुका साथै ९-१० वटा मुद्दा लगाइनुले पनि त्यतिबेला उहाँहरूको जुझारु छवि स्पष्ट हुन्छ । मुलुकमा बहुदलीय व्यवस्था आइसक्दा पनि उहाँहरूलाई छाडिएन । झन्डै एक महिना कुर्ुर्नुपर्‍यो । आन्दोलनताका उहाँले अखिलको कास्की र गण्डकी अञ्चल दुवै कमिटीको नेतृत्व गर्नुभएको थियो ।
२०४७ सालमा उहाँ अखिल पाँचौँको केन्द्रीय सदस्य हुनुभयो, सबैभन्दा कम उमेरमा । त्यतिबेला उहाँ जम्मा २० वर्षको हुनुहुन्थ्यो । २०५० को अन्त्यतिर उहाँ काठमाडौं पस्नुभयो र कीर्तिपुर केन्द्रीय क्याम्पसको स्ववियु सभापति हुनुभयो, २०५३ सालमा ।
त्यतिमात्र होइन, उहाँ अखिलको केन्द्रीय सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसमेत बन्न सफल हुनुभयो । अखिलको राजनीतिमा २०४७ देखि २०५८ सम्म निरन्तर छाएका अधिकारीले ३१ वर्षकै उमेरमा विद्यार्थी सङ्गठनबाट बिदा लिनुभयो । अहिले त ३१ वर्षमा बल्ल राजनीतिमा प्रवेश गर्छन् विद्यार्थी ।
भारतीय कलाकार ऋतिक रोशनले नेपालीको अपमान गरेको भन्दै गरिएको आन्दोलन आफूलाई पटक्कै चित्त नबुझेको अभिव्यक्ति दिनुहुन्छ रवीन्द्र । ‘त्यसमा केही गल्ती भयो जस्तो लाग्छ,’ उहाँले भन्नुभयो, ‘हल्लाको पछाडि लागेर बहकिनु हुँदैनथ्यो ।’ तर, यिनै रवीन्द्रको नेतृत्वमा हो अखिलले कालापानी मार्च गरेको । मुलुकका ४३ ठाउँमा सीमा अतिक्रमण भएको भन्दै उहाँकै पालामा हो अखिलले अभियान छेडेको । गायक प्रवीण गुरुङ हत्या-प्रकरणमा तत्कालीन शाहजादा पारस शाहलाई हटाउनुपर्ने हस्ताक्षर बुझाउने पनि उहाँ नै हो । ती घटनाप्रति उहाँमा कुनै पश्चात्ताप छैन ।
त्यसो त दुईपटकसम्म कास्की एमालेको नेतृत्वमा पुग्नुभयो उहाँ । तर, विगतमा नेकपा मालेमा लागेकाले पार्टी नेतृत्वले रुचाएन । हटाउने तम्तयारी गरेकाले बरु राजीनामा दिनुभयो । पार्टीको बुटवल महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी नै दिनुभएन । संविधानसभामा कास्कीबाट प्रत्यक्ष निर्वाचित रवीन्द्र अहिले संसद्को सार्वजनिक लेखा समितिका सदस्य, पार्टी स्कुल विभाग सदस्य एवम् राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुहुन्छ ।
पढाइमा उहाँ कहिल्यै कमजोर रहनुभएन । अखिलमा लागेका सबै साथीहरू पटक-पटक फेल हुन्थे । उहाँ भने एमकम गर्दासम्म कहिल्यै फेल हुनुभएन । वादविवाद, हाजिरीजवाफ, गीत, कविता, नाटक आदिमा पनि उहाँको लगाव रहिरह्यो ।
उहाँले विद्या भट्टराईसँग प्रेमविवाह गर्नुभएको रहेछ, २०५६ सालमा । विद्यासँग उहाँको २०४७ सालतिरै चिनजान भएको रहेछ । दुवै अखिलको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँहरूको विवाह-प्रस्तावचाहिँ साथीहरूले राखिदिएका रहेछन् । माला साटासाट गरेर विवाह सकिएको थियो । सिन्दूर हाल्ने परम्परागत विधिसम्म पनि गरिएन ।
खासमा त्यो ‘मञ्च म्यारिज’ पनि थिएन । वामदेव गौतम, सीपी मैनाली, युवराज ज्ञवालीजस्ता नेताहरू सहभागी भएको विवाहमा कसैले भाषणबाजी गरेनन् । दुवैतिरका अभिभावकले सामूहिक रूपमा एउटा बत्ती बाले, बस् । अधिकारीदम्पतीका दुई छोरा छन्, विराज र स्वराज । अखिलको महिला विभाग प्रमुख र सचिव रहिसक्नुभएकी विद्या अहिले आरआर र ग्रामीण आदर्श कलेज पढाउनुहुन्छ ।
युवा नेता अधिकारीलाई सामान्य दालभात, तरकारी र क्याजुअल पोसाक नै मन पर्छ । संसद्मा बोल्ने बेला कोट लगाउनुपर्छ भन्ने उहाँको धारणा छ । काठमाडौंमा सगोलको एउटा घर छ । खासमा त्यो उहाँका विदेशमा बस्ने भाइहरूको कमाइमा बनेको रे । जनावरमा मृग, बाघ र फूलमा लालीगुराँस उहाँलाई मनपर्दो रहेछ । साहित्य पढ्ने र घुम्ने उहाँका अतिरिक्त शोख हुन् । मुलुकका ७० जिल्ला पुगे पनि उहाँलाई पोखरै रमाइलो लाग्छ । ‘आफ्नो ठाउँ भएर होइन, हावापानी, हिमाल, ताल, बाटो सबैतिर हेर्दा पोखरै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि लुक्ला र जोमसोम पनि राम्रो ।’
रवीन्द्र अधिकारीहरूका थुप्रै अग्रज अनेक सपना देखेर गए, व्यवहारमा सफल भएनन् । कलिलै उमेरमा उहाँले देखेको समुन्नत नेपालको सपना पनि अधुरै छ । उहाँको सपना हो- न्याय, स्वतन्त्रता र समानता भएको मुलुक । ‘मैले देखेको सपना विपनै हुन नसक्ने होइन,’ उहाँले अठोट गर्नुभयो, ‘एक दिन त्यो सफल हुन्छ ।’
– ऋषिकुमार धमला

प्रतिक्रिया