देब्रे मानिस

देब्रे मानिस


– त्रिभुवनचन्द्र वाग्ले

मन पगालेर जलधारा दिएको रूख
पिपल हो, सिमलको होइन बैनी
कठै बरा यिनले पिपल योनीमा
जन्मन पाएनन्, चौरासी लाख जुनीमा पनि

कथा उही हो बैनी
तिमीले जलधारा दिएको हात
दायाँ हो, बायाँ होइन
कठै बरा देब्रेले पाएन
दाहिने हात भएर जन्मन
र पिपललाई पानी चढाउन,
देब्रेको पानी चल्दैन ।

दृश्य उही हो बैनी
तिमीले परिक्रमा गरेको मठ
ओडार होइन, ढाँड होइन
कठै बरा उसले, खोलेर ढोका
सहश्र प्राणीलाई प्रवेश दिन सकेन
र मान्छेका मनमा गजुर उठाउन सकेन ।

भोगाइ उही हो बैनी
तिमीले व्रत गरेको विधि
स्वस्थ्य होइन, स्वस्थानी हो
प्रसाद हुनुको भ्रममा
मित छोराको खोजिमा
मृगतृष्णले भौंतारिएपछि,
कठै बरा उसले
नानीको भोक भेट्न होइन
नदीको भङ्गालोमा बग्नु पर्छ ।

व्यथा उही हो बैनी
यी बाँया मान्छेहरू
रातो दिन आरनसँग खेलेर
रापिएर आगोमा
सुन झैं पग्लन्छन्, पसिना बग्छन्
कठैबरा उनले
दाहिने मान्छे हुन पाएनन्
र देब्र हात बनेर
पूजाको थाली समाइरहे
मन्दिरमा अक्षता पर्सन पाएनन्
दायाँ हात भएर ।

यस्तै छ बैनी
केही दायाँ छन्
कोही बायाँ
छन् मानिसहरू
तिम्रै दुई हात जस्ता
कठैबरा यी देब्रे मनिसहरू
कहिले दाहिने हात भएर
मन्दिरमा अक्षता पर्सन योग्य हुने हुन् ?