राजधानीमा बम विष्फोट गराउनेका नालीबेली

राजधानीमा बम विष्फोट गराउनेका नालीबेली


प्रतिनिधि एवम् प्रदेशसभा निर्वाचन बिथोल्ने उद्देश्यले काठमाडौं उपत्यकाका विभिन्न महत्वपूर्ण स्थानमा उम्मेदवारलक्षित विष्फोटन गराउने कार्यमा संलग्न रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू पक्राउ परेका छन् ।

विष्फोटक पदार्थ, विभिन्न हातहतियार र विभिन्न दस्तावेजसहित प्रहरी नियन्त्रणमा परेका नेकपा कार्यकर्ताहरूमा २४ वर्षका रवि गोले, ३४ वर्षका सम्पूर्ण मूक्ति भनिने विचारमान तामाङ, ३० वर्षका रोह नेपाली भन्ने महेश नेपाली, ४८ वर्षका विगेश लामा र ३२ वर्षका राजिव तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दाबी गरेअनुसार सर्लाही स्थायी ठेगाना भई हाल लाजिम्पाट बस्दै आएका रवि विप्लव विप्लव नेतृत्वको नेकपाका काठमाडौं जिल्ला सदस्यको जिम्मेवारीमा रहनुका साथै युवा दस्ताका काठमाडौं संयोजक र काठमाडौं १ नम्बर कमाण्डको युवा दस्ता कमाण्डरसमेत हुन् । उनमाथि हातहतियार तथा विष्फोटक पदार्थ संकलन, भण्डारण गर्ने र विभिन्न स्थानमा विष्फोटन गराएको अनि गराउने योजना बनाइरहेको अभियोग लगाइएको छ ।

यस्तै, सिन्धुलीका विचारमान पनि नेकपाका काठमाडौं जिल्ला सदस्य हुन् भने उनमाथि पनि रविमाथि लागेकै अभियोग लगाइएको छ । मकवानपुरका महेश नेपालीचाहिँ अखिल नेपाल जनसांस्कृतिक महासंघका कोषाध्यक्ष हुन् । सामना परिवारका कलाकार उनी ललितपुरका एरिया सदस्य हुन् । उनी पनि विष्फोट गराउने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ ।

यसैगरी काभ्रेका विशेष लामा नेकपाको काठमाडौं जिल्ला सदस्य तथा न्याय विभाग प्रमुख हुन् भने नुवाकोटका राजिव सोही जिल्लाका जिल्ला सदस्य हुन् । उनीहरू दुवैजना विष्फोटक पदार्थ बनाउने प्रशिक्षण प्राप्त गरी उपत्यकामा विष्फोटन गराउने कार्यमा संलग्न रहेका पात्र हुन् ।