तालिवान कमाण्डर मुल्लाह साह वाली मारिए

तालिवान कमाण्डर मुल्लाह साह वाली मारिए


अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टि भएको छ । गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टि गरेको हो ।

उक्त सैन्य बलले गरेको कारबाहीका क्रममा मुल्लाह साह वाली नामक कमाण्डर मारिएका थिए । मुल्लाह अफगानिस्तानको हेल्मण्ड प्रान्तका कमाण्डर रहेको बताइएको छ । उक्त प्रान्तको एक स्थानीय नगरमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका थिए ।

एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी ती तालिवान प्रान्तीयस्तरका कमाण्डर मारिएका नेटो सैन्य बलले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरूपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको गजनी प्रान्तमा पनि मङ्गलबार भएको सैन्य कारबाहीमा नै आईएसका एकजना वरिष्ठ कमाण्डर मारिएको समाचार आएको बताइएको थियो ।