भक्तपुरका मतदाता दबाब र प्रभावमा नपर्ने

भक्तपुरका मतदाता दबाब र प्रभावमा नपर्ने


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा आइपुगेपछि भक्तपुरका मतदाता यतिखेर सचेत बनेका छन् । निर्वाचनमा मौन अवधि सुरु भएपछि दलहरूको चुनाव प्रचार गर्न नपाइने भए पनि चुनावमा भोट किन्ने र भोट हाल्न दबाब दिने समूह यतिखेर सक्रिय हुने भएपछि भक्तपुरका मतदाताहरू सचेत भएका हुन् ।

संविधान कार्यान्वयन अहिलेको निर्वाचनको मुख्य लक्ष्य भएकाले कसैको पनि प्रलोभन तथा दबाबमा आएर मत दिँदा त्यसले सही परिणाम नदिने र संघीय संरचनामा समस्या पर्ने भन्दै भक्तपुरका बासिन्दा यसतर्फ सचेत भएका हुन् ।

चाँगुनारायण नगरपालिका–९ ताथलीका बालकृष्ण बनमालाले मौन अवधिमा कसैको पनि प्रलोभनमा नपर्ने भन्दै सिङ्गो गाउँ सचेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैको प्रलोभनमा नपर्ने सिङ्गो गाउँको निर्णय छ, प्रलोभनमा पार्न कोही आए लखेट्ने र डर, धम्की र दबाब दिने कोही आए प्रतिकार गर्ने भएका छौँ ।’

ताथली कै रामसुन्दर श्रेष्ठले भन्नुभयो, ‘गाउँका बासिन्दाले आ–आफूले रोजेको पार्टी तथा उम्मेदवारलाई मतदान गर्ने भएका छन्, गाउँमै पनि कसैले कसैलाई दबाब दिएका छैनन्, स्वतन्त्ररूपमा मतदान गरिनेछ, गाउँमा अब नआउन उम्मेदवारलाई भनेका छौँ ।’

सूर्यविनायक नगरपालिका कटुञ्जेका बासिन्दाले समेत गाउँमा प्रलोभन र दबाब दिने समूहलाई गाउँ पस्नै नदिने भएका छन् ।

कटुञ्जेका रामबाबु बस्नेतले गाउँमा यसपटकको निर्वाचनमा केही शक्ति प्रलोभनमा पार्न आउने शंका भएकाले यस्ता शक्तिलाई गाउँ पस्न नदिन सचेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदाताले चोहेका उम्मेदवारलाई मतदान गर्ने स्वतन्त्र अधिकारमा कसैले हस्तक्षेप गर्न आए गाउँका व्यक्तिले सहँदैनन्, यहाँका भोट न कसैलाई कसैलाई बिक्री हुन्छ, न त कसैको डर धम्कीमा मतदाता नै पर्छन ।’

मध्यपुरथिमि नगरपालिका चपाचोका कृष्णमान श्रेष्ठले मौन अवधिमा बढी चलखेल हुनसक्ने भएकाले यो समयमा सबै मतदाता चनाखो हुनुपर्ने बताउनुहुन्छ । कसैले पैसामा किन्ने भोट र दबाबमा जाने भोटले संविधान बन्न नसक्ने बताउँदै उहाँले निष्पक्ष निर्वाचनका लागि प्रलोभन र दबाब दुवैलाई मतदाताले त्याग्नुपर्ने बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारमा चुनावको एकदिन अघि राति प्रलोभनमा पार्ने समूह आउने हल्ला चलेकाले गएरातिदेखि नै यहाँका बासिन्दा सचेत भएका राससले जनाएको छ । स्थानीय रामशरण बस्नेतका अनुसार उम्मेदवारकै समूह मतदातालाई भेटघाट कार्यक्रम राखेर प्रलोभन बाँड्ने हल्ला चलेको बताउँदै अर्को समूह त्यस्ता समूहप्रति सचेत बनेको बताउनुभयो ।

यसपटक भक्तपुरको दुईवटै क्षेत्रमा लोकतान्त्रिक गठबन्धन, वामगठबन्धन र नेपाल मजदुर किसान पार्टीबीचको तीव्र प्रतिस्पर्धाबीच भक्तपुरका मतदाता परिवर्तनको चाहना र संविधान कार्यान्वयनको चाहनामा मतदान गर्न आतुर छन् ।