झापामा पनि तयारी पूरा

झापामा पनि तयारी पूरा


विहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतदानका लागि झापामा तयारी पूरा भएको छ । मतदान केन्द्रमा मतदातालाई लामबद्ध राख्नका लागि घेराबारादेखि मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा समेत जडान गरिसकिएको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुग्नुका साथै मतदानस्थल र मतदान केन्द्रमा सम्पादन गर्नुपर्ने तयारीका काम पनि अन्तिमचरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्धक्कका साथ मतदान गर्न झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले आग्रह गर्नुभएको छ ।

भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि झापामा ५ लाख ८५ हजार २२८ मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ ५ निर्वाचन क्षेत्र रहेको झापामा ५७ र प्रदेशसभाका १० वटा क्षेत्रमा ८४ जना उम्मेद्वारसहित जम्मा १ सय ४१ उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् ।

२८३ मतदानस्थलमा ६९२ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन सुरक्षाका दृष्टिले ४९ अति संवेदनशील, १०४ संवेदनशील र १३० वटालाई सामान्यमा बर्गिकरण गरेर सोही अनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

मतदान सम्पन्न भएपछि सुरु हुने मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन पाँचवटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा समेत जडान गरिएको छ ।