देशको सामाजिक नक्सा :घामको चुम्बन -दीपकमणी ‘दाजुभाइ’

देशको सामाजिक नक्सा :घामको चुम्बन -दीपकमणी ‘दाजुभाइ’


युवराज नयाँघरे निबन्धमा समर्पित स्रष्टा हो । लेख्न त उनले धेरै विधामा लेखे । कविता, गजल, समीक्षा, समालोचना । तर युवराजले आफू निबन्धका लागि हुँ भन्ने बुझे र निबन्धमा मात्र सक्रिय हुन थाले । उनको यही सक्रियता र निबन्धमा बनाएको विशेष पहिचानको कदर गर्दै युवराजलाई मदन पुरस्कारले सम्मानित गरिएको छ । नेपाली निबन्धको इतिहासमा यो सुखद कुरा पनि हो । शङ्कर लामिछानेपछि निबन्धमा मदन पुरस्कार पाउने श्रष्टा युवराज नयाँघरे नै हुन् । उनी निबन्धमा भिन्न शैली र स्वरूपका साथ आएका छन् । निबन्धमा निरन्तर क्रियाशील उनका आधा दर्जनभन्दा बढी निबन्धका किताबले नै उनको पहिचानमा विशिष्टता थपेको हो । निबन्धको युवराजको आफ्नै परिचय छ । आफ्नै आकार छ । उनले निबन्धमा प्रयोग गर्ने शब्दावली र वाक्य संयोजनले पृथकता महसुस गराउँछ र उनको यही पृथकता नै अब पहिचान बनिसकेको छ । सामान्य र सरल वाक्यभन्दा भिन्न लाग्ने तर पठनीय उनको शैलीले निबन्धलाई एउटा उचाइमा पुर्‍याएको कुरालाई बिर्सन पनि हँुदैन ।
त्यसो त निबन्धको विकास र विस्तारमा युवराज एक्लै छैनन् । उनका समकालीन निबन्धकारहरू नेपाली निबन्धको श्रीवृद्धिमा क्रियाशील छन् । तर, युवराजले भेट्दै गरेको उचाइ या युवराजले छुन चाहेको उचाइ गम्भीर छ । त्यो उचाइ नेपाली निबन्धमा आवश्यक र सर्वप्रिय उचाइ पनि हो । उनी त्यो उचाइतर्फ अग्रसर छन् । निरन्तरको प्रयास र मिहिनेतले युवराजलाई त्यो उचाइउन्मुख गराएको कुरालाई नकार्न सकिँदैन । निबन्धका क्षेत्रमा युवराजले गर्ने र गरेका कर्महरूले नै युवराजलाई निबन्धमा स्थापित गरेको हाम्रो ठम्याइ छ । निबन्ध आफ्नो क्षेत्र हो भन्ने उनलाई जुन दिन लाग्यो, त्यही दिनदेखि उनले अरू विधा चटक्क छाडे र निबन्धमा दत्तचित्त भए । उनको निबन्धप्रतिको यही प्रतिबद्धताले नै हो उनलाई निबन्धमा चर्चित बनाएको ।
निबन्धसँग युवराजको नाता गहिरो र पुरानो छ । नचाहँदा-नचाहँदै पनि निबन्ध युवराजको पहिचान बन्यो । यो पहिचान भेट्न युवराजले कम पापड पेलेनन् । मान्छेहरूको विभिन्न टीका-टिप्पणी र असहयोग पनि उनले सहजै पचाइदिए । आज नेपाली निबन्धको नाम लिँदा उनलाई छुटाउन सकिँदैन- हामीलाई लाग्छ यो नै युवराजको सफलता हो ।
आजको सर्न्दर्भको युवराजको नयाँ नियात्रा कृति घामको चुम्बनको । घामको चुम्बन मुलुकभित्रको यात्राहरूको संस्मरण हो । तर, युवराजको शैली र प्रस्तुतीका कारण नियात्राहरू प्ाढनीय बनेका छन् । यो यात्राको टिपोट होइन यात्राको अनुभूति हो । यसमा पाठकले यात्रा, त्यो क्षेत्रको जानकारीका साथै मानिसभित्र विद्यमान असन्तोष र अप्राप्तिको पीडालाई पनि अध्ययन गर्ने अवसर प्राप्त गर्छन् ।
फरक-फरक स्थान र समयमा गरिएका यी यात्राका सहयात्रीहरू प्ानि फरक-फरक छन् । जसले गर्दा विषय र सर्न्दर्भले विविध स्वाद बटुलेको छ । पाठक प्रत्येक पाना पढिरहँदा रोमाञ्चित र नौलो अनुभव गरिरहेको हुन्छ । हामीलाई लाग्छ- नियात्राको शक्ति र सामर्थ्य पनि यही नै हो ।
घामको चुम्बन २३ वटा लामा-छोटा यात्रा निबन्धको सङ्ग्रह हो । यसभित्र मुलुकको समग्र तस्बिर समेटिएको छ । नपत्याउँदो किसिमले यो देशको नक्सा बनेको छ । भौगोलिक होइन सामाजिक र सांस्कृतिक नक्सा बनेको छ । यसभित्र मुलुकका विभिन्न क्षेत्र र त्यस क्षेत्रको जनजीवन अध्ययन गर्न पाइन्छ । त्यहाँको सामाजिक र आर्थिक अवस्था, त्यस क्षेत्रका मानिस र उनीहरूका सपना अनि मानिसभित्र अन्तरनिहित राष्ट्रिय चिन्तन कृतिको विशेषता हो ।
सगरमाथाको सर्न्दर्भबाट सुरु भएको घामको चुम्बन तिब्ब्ातको सीमावर्ती क्षेत्र दुङनागढीमा पुगेर सकिएको छ । यसभित्र रहेका प्रत्येक यात्रा निबन्धमा मानिसले प्रमुखता पाएको छ । मानिससँगै आइपुग्छ प्रकृति र स्थानीय परिवेश । निबन्ध रोचक बनेको छ । प्रत्येक ठाउँमा गरिएको संवाद र त्यस संवादमा लुकेको अन्तरनिहित अर्थले निबन्धलाई विशिष्ट बनाएको छ । कतिसम्म भने निबन्धकारले कति ठाउँमा आफ्नै सहयात्रीहरूसँग संवाद गरेर पनि अनुभूतिलाई प्रस्ट्याएका छन् ।
घामको चुम्बनमा सर्वाधिक भेटिने भनेको मान्छेप्रतिको माया र सम्मान नै हो । त्यसपछि ठाउँ-ठाउँमा भेटिन्छ- राष्ट्रियता । देश दुःखेको सर्न्दर्भ र इतिहासप्रतिको दम्भ । हाम्रो सम्पति भनेको नै त्यही वीरता हो । जुन इतिहासमा हाम्रा पर्ुखाहरूले लडेका थिए । निबन्धकार नयाँघरेले पनि त्यो हाम्रो वीरतापूर्ण इतिहासलाई पटक-पटक सम्मान गरेका छन् । सर्न्दर्भ उठाएका छन् ।
निबन्धकार नयाँघरेले लेखेका यी निबन्धहरू यात्राका क्रममा सिर्जना भएका भए पनि यसमा वर्तमान समयको त्रासदी र अन्योललाई उतारिएको छ । मानिसभित्र व्याप्त अशान्ति र अन्योल आजको ठूलो पीडा हो । यो पीडाबाट निबन्धकार स्वयम् पनि मुक्त छैनन् । उनी पटक-पटक प्रताडित छन्- मानिसभित्र रहेका अप्ठेरो र अन्योलले । उनलाई मुलुक शान्त र सुन्दर बनाउने चाहना छ । तर, यो उनको चाहना पटक-पटक असफल भएको छ । यही असफलतालाई नयाँघरेले ठाउँ ठाउँमा प्रस्ट्याएका पनि छन्-
‘अलिखितभित्रका रजकलिया, लजकलिया र जयकलियाकै सामान्य झल्को दिलाउने केही कन्याहरू नसुरद्दिन भेटिएको टोलमा दारुण रागमा टुप्लुकिए । तिनमा पनि सौर्न्दर्यको योगफल थिएन, छँदै थिएन । मात्र कटमिरो जीउ थियो ।
खाने गोलीजस्तो भा थियो घाम । र हतारियौँ हामी ।
हामी यो पुरानो औपन्यासिक संसारको पष्ठभूमि र विलुप्तप्रायः बस्तीबाट बाहिरिँदै थियौँ । झन्डै तीन घन्टाको तुफानी गुडाइमा वीरगञ्ज पुगिन्छ- अघि बुधनले बताएथे ।
फुस्का घर । भर्खर छाइएका । सिनित्त लिपपोत गरिएका बारहरू । बलो जोडिएका टहरा भने हुने । झिसमिसे बिहानीदेखि मिरमिरे साँझसम्म मन मस्किने, मन हाँस्ने र मन रमाउने थलो यै । ताछिएँ म, दरफराइएँ म, थिलथिलिएँ म ।’ युवराजको यो नयाँ किताब नियात्राको क्षेत्रमा सफल हुने विश्वास गर्न सकिन्छ । रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको २८८ पृष्ठको यो घामको चुम्बनको सफलताको कामना गर्दछौँ ।