भारतीय राष्ट्रिय कांग्रेसको कमाण्ड राहुलले सम्हाल्ने

भारतीय राष्ट्रिय कांग्रेसको कमाण्ड राहुलले सम्हाल्ने


भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चितप्रायः भएको छ । सो पदमा उम्मेदवारी दिने उनी एक मात्र उम्मेदवार भएपछि भारतीय कांग्रेसको कमाण्ड राहुलको हातमा पुग्ने निश्चित भएको हो ।

१९ बर्षदेखि कांग्रेस पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै आएकी सोनिया गान्धीले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै पद छोड्न लागेकी छिन् । यस अवस्थामा उनको विकल्पमा भारतीय राष्ट्रिय कांग्रेसका कुनै पनि नेताले आफूलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सार्न सकेका छैनन् ।

यसअघि नै विगत पाँच वर्षदेखि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेकाले अध्यक्षमा उनैलाई स्वीकार गर्न सिंगै कांग्रेस तयार रहेको देखिएको छ ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजो सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ ।

आफ्ना पति राजिव गान्धीको निधनपछि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी सोनिया गान्धीले पनि आफ्नो छोरा राहुललाई नै सो पदमा ल्याउने चाहना राख्दै आएको चर्चा भारतीय राजनीतिमा गरिँदै आएको छ ।