हामी अभ्यस्त भयौँ ?

हामी अभ्यस्त भयौँ ?


– बबिता बस्नेत

गत सोमाबार साँझ ललितपुर बागडोल आसपास ठूलो आवाज सुनियो । घरनै थर्कने गरी आएको उक्त आवाजपछि वल्लोघर पल्लोघरका मानिसबीच कुराकानी सुरु भो– बम नै त होला नि हई, यस्तो ठूलो आवाजमा अरू के पड्कियो होला र ? बम नै हो भन्ने निष्कर्ष निकालेको एकछिनपछि कसैले छिमेकी दिदीलाई फोन ग¥यो । फोनमा उहाँको आवाज सुनियो, ‘ठीक छ बाबु सन्चै छ, सब ठीक छ । अलि अगाडि ठूलो आवाज आयो, के हो कुन्नि, बम हो कि जस्तो लागेको छ ।’

आम्मै !! हामी यति धेरै अभ्यस्त भइ सक्यौँ ? ‘बम हो कि जस्तो लाग्यो सब ठीक छ’ भन्न सक्ने मान्छे हामी नेपालीबाहेक अरू कमै भेटिएलान् । द्वन्द्वग्रस्त मुलुकमा पनि वरिपरि बम भेटिँदा मानिसमा सन्त्रास भेटिन्छ । के होला, कसो होला, सरकार के हेरेर बसेको छ ? जनप्रतिनिधिहरू के गर्दै छन् ? यो देशमा विभिन्न सूचना दिनका लागि राष्ट्रिय अनुसन्धानका नाममा गुप्तचर भन्ने संस्था पनि छ, त्यसको काम के हो ? राजधानीमा यत्तिका बम पड्किँदै गर्दा सुरक्षाको अवस्था के हो ? अरू देशमा भए यस्ता प्रश्नहरू कति गरिन्थे होला । तर, हामी त कसैले कस्तो छ ? भन्दा सब ठीक छ भनिरहेका छौँ । यस्तो लाग्छ, मुलुकमा जे भए पनि चुपचाप अगाडि बढ्न हामी अभ्यस्त भइसकेका छौँ ।

सन् १९९३ को कुरा हो, इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनमा पत्रकारिताको आधारभूत प्रशिक्षण लिइरहेका बेला एक दिन बिहान ११ बजेतिर इन्स्टिच्युटको कम्पाउन्डमा बम राखिएको छ भन्ने हल्ला चल्यो । हामी सबै बाहिर निस्कियौँ । बम राख्ने या बम पड्कने भन्ने कुरा त्यतिबेला हाम्रा लागि अनौठो र धेरै ठुलो कुरा थियो । ला…बम छ रे…लौ न…भनेर आत्तिएका थियौँ । जिन्दगीमा बमको त्रास पहिलोपल्ट त्यतिबेलै भएको थियो । घर फर्किएपछि आफन्तहरूलाई सुनाउने घटनामा उक्त घटना नै प्रमुख बन्न पुगेको थियो । यद्यपि जवाहरलाल युनिभर्सिटीको कम्पाउन्डमा राखिएको भनिएको त्यो बम पड्किन पाएन । सुरक्षाकर्मीहरूले बम निष्क्रिय पारेको खबरले निकै ठूलो राहत मिलेको थियो ।

त्यसको तीन वर्षपछि मुलुकमा माओवादी युद्ध सुरु भएपछि बम पड्किने कुरा सामान्यझैँ हुन थाल्यो । त्यसअघि सन् १९८५ मा दरबारमार्गको अन्नपूर्ण होटेलअघि भएको बम विस्फोटमा परी आठजनाको मृत्यु भएको थियो भने ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । रामराजाप्रसाद सिंहको नाम त्यतिबेलादेखि नै बढी चर्चामा आएको हो । नेपालमा बमको इतिहासको खोजी गर्दा त्यसरी सार्वजनिक रूपमा निर्मम तरिकाले बम विस्फोट गराइएको उक्त घटना नै पहिलो हो । मानिसहरू पछिसम्म पनि ती तमाम मृत र जीवित आत्माहरूको पाप रामराजालाई लाग्छ भन्थे । उहाँको व्यक्तिगत जीवनमा के–के भयो थाहा भएन, तर गणतन्त्रवादी भनेर चिनिएका उनलाई माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाए पनि उनी राष्ट्रपति हुन भने सकेनन् । त्यतिबेला धेरैको जीवनमा कहिल्यै नपुरिने खाडल पारेका उनी अहिले यो संसारमा छैनन् ।

सार्वजनिक ठाउँमा बम राख्ने, पड्काउने कुरा सामान्यझैँ गरी अहिले राजधानी भित्रिएको छ । निर्वाचनलाई मध्यनजर गरेर पड्काइएका बम विस्फोटनबारे राज्य संयन्त्रले सामान्य रूपमा लिएको देखिन्छ । राज्यका उत्तरदायी निकायमा बसेकाहरूले ‘सानातिना घटना’ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहँदा उदयपुर बम विस्फोटनका घाइतेले हातखुट्टा गुमाएका फोटो र फुटेजहरू मिडियामा आइरहेका छन् । राज्यले सानातिना भनी परिभाषित गरेका ती घटना सम्बन्धितहरूका लागि भने सारा जिन्दगीसँग जोडिएको कुरा हो । हिँड्दा–हिँड्दैको खुट्टा गुमेको छ, सग्ला हातहरू औँलाविहीन भएका छन् । सम्बन्धित व्यक्ति मात्र होइन, उसको सिङ्गो परिवारले व्यहोर्नुपर्ने क्षतिका रूपमा सग्लो मान्छे अपाङ्ग बनेको छ । बम या कुनै पनि हिंसात्मक घटना सानोतिनो हुनै सक्दैन । कुनै पनि वादका नाममा नागरिकको जिन्दगीसँग खेल्ने अधिकार कसैलाई छैन ।

हामीलाई कसैले ‘कस्तो छ ?’ भनेर सोध्दा ‘ठीक छ’ भन्दाभन्दै माओवादी युद्धका नाममा मुलुकका १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरर सिनेमाझैँ सशस्त्र द्वन्द्वको इतिहासका साक्षी हामीले यसप्रकारका घटनालाई सानोतिनो घटनाका रूपमा लिन हुँदैन । अचम्मै छ, यो मुलुकमा प्रदेश र सङ्घको एकैपटक यति ठूलो निर्वाचन भइरहेको छ । यस्तो अवस्थामा गृहमन्त्रीको कुर्सी खाली छ । कुर्सी खाली हुनुको अर्थ उत्तरदायित्व पनि खाली हुनु हो । शान्तिसुरक्षाको जिम्मा लिनुपर्ने नेतृत्व नै नभएपछि कर्मचारीहरूले कसलाई कारबाहीको आदेश दिने ? गृहमन्त्री नै बिना मुलुकमा निर्वाचन भएको शायद यो नै पहिलोपटक हो । नेतृत्व नभएपछि प्रायः मानिस जवाफदेहिताबाट टाढै रहन चाहन्छन् । उत्तरदायित्व लिनुपर्ने परिस्थिति नआओस् भनेर सकेसम्म ‘सेफ साइड’ मै बस्न रुचाउँछन् । विशेषगरी हाम्रो कर्मचारीतन्त्रमा त्यसप्रकारको सुरक्षा खोज्ने चलन छ । बजेट खर्च गर्ने मामिलामा होस् या कुनै पनि सुधारका कार्यमा कर्मचारीहरूले आफूलाई सुरक्षित गर्ने उपाय खोजेकै कारण धेरै कुराहरू रोकिएका छन् ।

गृहको जिम्मेवारीको अवस्था अहिले त्यस्तै छ । चुनावमा यति सुरक्षाकर्मी खटाउने, उति खटाउने भनेर खुब प्रचार गरिएको छ । तर, सुरक्षा त अनुभूति गर्ने कुरा हो । कति सुरक्षाकर्मी खटाइए या कति सुरक्षाकर्मीले कुन–कुन अत्याधुनिक हातहतियार चलाए भन्ने भन्दा कति नागरिकले सुरक्षित महसुस गरे त्योचाहिँ महत्वपूर्ण कुरा हो । हिजोको युद्धमा काङ्ग्रेसहरूलाई मारुन्जेल काङ्ग्रेसी मरे भनेर एमालेहरू चुप लागे, पछि एमालेहरू मर्न थालेपछि बल्ल ओहो यसको त विरोध गर्नुपर्ने रहेछ भन्ने भान उनीहरूलाई भयो । यद्यपि आज एमाले–माओवादी मिलिसकेको अवस्था छ । अहिलेको अवस्था करिबकरिब त्यस्तै छ । सानोतिनो बम या काङ्ग्रेस या वाम गठबन्धनको उम्मेदवारलाई हानेको त हो नि भन्दाभन्दै हामीले नेपाली नागरिकलाई नेपाली नागरिकले हानेको भन्ने बिर्सिरहेका छौँ ।

आफ्नो घरभित्र परिवारका सदस्यबीच झगडा या कुटपिट भए त्यसलाई घरकलह भनिन्छ । जुन घरमा शान्ति टाढाको लक्ष्य मात्र हुन्छ । ठीक त्यसैगरी देशमा नागरिकले एक–अर्कालाई लक्षित गरेर बम पड्काउने, काटमार गर्ने गर्छन् भने त्यो गृहयुद्ध हो । हो, निश्चिय नै हामीकहाँ अहिले गृहयुद्ध छैन, तर युद्धको सुरुवात यस्तै सानातिना घटनाबाट अगाडि बढ्ने हुन् । वन जलाउनका लागि जसरी आगोको एउटा सानो फिलुङ्गो काफी हुन्छ, त्यसैगरी देश जलाउन साना–साना घटना नै पृष्ठभूमिमा देखिन्छ । त्यसैले अहिलेको अवस्थालाई यस्तै हो, हामीलाई ठीकै छ भनेर बस्न मिल्दैन ।