आफैँ विलय हुनेले दिए काङ्ग्रेसलाई सुझाव !

आफैँ विलय हुनेले दिए काङ्ग्रेसलाई सुझाव !


– मुक्तिनाथ खनाल

प्रतिनिधिसभा एवम् प्रदेश सभाको चुनाव सङ्घारमै आएको छ । यसमा वाम गठबन्धन र लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसबीच चर्को प्रतिस्पर्धा त छ नै, तर वामहरूलाई यति धेरै घमण्ड बढेको कसैलाई मन परेको छैन । एमाले नेता केपी ओली अलिक चर्का स्वभावका छन् भनी सबै भन्छन् । कसैले नभनेको कुरा आफैँ कल्पना गरेर हामीलाई यसो भने उसो भने भन्दै अरूलाई गाली दिने स्वभाव उहाँमा पहिलेदेखि नै रहेको सबैलाई थाहै छ ।

यद्यपि उहाँलाई त आफूले अरूलाई गाली दिन पाउँदा मैले कड्किएर बोलेँ भन्ने आत्मशान्ति मिल्दो होला, तर बुझ्ने मानिसले उहाँमा भद्र (शालीनता)को ज्यादै कञ्जुस्याइँ र नेतामा हुनुपर्ने गुण नभएकोमा तुलना गर्छन् भन्ने सुन्नमा आउँछ ।

हुन त कसैकसैको स्वभाव अलिक छुद्र र कडा हुनु अस्वाभाविक होइन । सानैदेखि बसेको स्वभाव बदल्न वास्तवमा गाह्रै हुन्छ । यस्ता व्यक्तिगत कुरामा चासो नराख्नुपर्ने हो, तर कहिलेकाहीँ अति नै अपत्यारिलो कुरा गर्दा नसुहाएको लागेजस्तै हिजोआज भन्न थालिएको छ कि दोस्रो तहका नेता योगेश भट्टराईहरूले समेत ‘अब पचास वर्ष कम्युनिस्टले एकछत्र राज गर्छ, यही सम्झेर भोट दिनुहोला’ भन्ने अभिव्यक्ति दिन थालेका छन् । यस्ता कुरा सचेत जनताले कति पत्याएका होलान्, कुन्नि ?

हुँदाहुँदा स्वयम् एमालेमा विलय भइसकेका माओवादी नेता प्रचण्डले पनि लाजै नमानी अब कम्युनिस्टले पचास वर्ष सरकार चलाउँछ भन्दै नेपाली काङ्ग्रेसलाई पनि अरू पार्टीसँग विलय हुन सुझाव दिएका छन् । उनले अझ तल्लो स्तरमा ओर्लिएर भनेका छन्, ‘काङ्ग्रेस यो देशको निमित्त क्षति हो !’ धन्य हो प्रचण्डजी, जुन काङ्ग्रेसले तपाईंलाई यहाँसम्म ल्याइपु¥यायो र अस्ति भर्खर तपाईंकै छोरीलाई मेयर बनाइदियो, आज त्यही काङ्ग्रेस तपाईंका लागि ‘क्षति’ भयो ? गुन बिर्सने बैगुनीको कुनै औषधि छैन भन्ने पुरानो उक्ति यतिबेला काङ्ग्रेसीहरू झल्झल्ती सम्झिँदै छन् ।

अहिले प्रचण्डजी पुत्रशोकमा हुनुहुन्छ । ‘कालगति’ले उहाँको छोराको देहावसान भएको छ । अरूका छोराछोरी माओवादीबाट प्रताडित भएर, छातीमा गोली ठोकेर, ज्युँदै गाडिएर मारिँदा तिनका बाबुआमाको आँसु पुछेर समवेदना दिने कोही भएनन् । ढिलै भए पनि पङ्क्तिकारको समवेदना छ, लेखनीमार्फत । खुसीको कुरा यतिबेला यो छ कि प्रचण्डजीले अब सबैका छोराछोरीलाई आफ्नै छोरा देख्न थाल्नुभएको छ । आफूलाई परेपछि बल्ल उहाँलाई बोध भएछ । यो दुःखद घडीमा हुँदै गरेको निर्वाचनमा उहाँलाई विजय हासिल होस्, शुभेच्छा छ ।

हुन त हामीले शुभ चिताए पनि अन्त्यमा प्रचण्डको माओवादी नै एमालेमा विलय हुँदै छ भन्ने व्यापक चर्चा छ । अब एमालेको छायामा परेर आफ्नो नामोनिशान नै मेटिँदा त्यतिबेला बल्ल जीवनको कटु यथार्थ महसुस हुने होला प्रचण्डजीलाई । सर्वश्री केपी ओली, झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाललगायतलाई उछिनेर प्रधानमन्त्री या पार्टी अध्यक्ष हुने सपना मज्जैसँग देख्न थाल्नुभएको छ अरे प्रचण्डजीले । चुनावअघिसम्म सपना देख्न पाउनु उहाँको अधिकार नै हो, देख्नुहोस् सपना मज्जैसित । रातारात एमाले भएर अध्यक्ष पाउने आस गर्नु उहाँजस्तो ‘बुद्धिमान’ नेतालाई मात्र सुहाउने कुरा होला, लौ यसमा पनि शुभकामना छ ।