हात

हात


– विनोद नेपाल

भनिरहनुपर्दैन होला,
बुझ्नु भा’कै छ
आज मत दिने हातले
भोलि लोप्पा खुवाउन पनि सक्छ,
आज फूलको माला लगाइदिने हातले
उस्तै परे,
जुत्ताकै माला भिराउन पनि सक्छ,

अझै अरू थपौँ हजुर ?
विजयको खुसियालीमा
अबिर दल्ने त्यही हातले
आक्रोशमा,
तपाईंको त्यो सुन्दर अनुहारमा
मोसो दलिदिन पनि सक्छ
आखिर हात न हो
थाहै छ,
यसले,
अवस्था हेरी जे पनि गर्न सक्छ

यसैले,
कृपया,
बिर्सनुहोला स्वार्थ
नबिर्सनुहोला वाचा,
सबैलाई ठान्नुहोला आफ्नै

नचुक्नुहोला कतै,
अन्यथा,
आज अबिर–माला लगाइदिने त्यही हातले
भोलि तपाईंको कठालो समाउन सक्छ
समाए मात्रै त फरक पर्दैनथ्यो होला
अर्कै माला भिराएर सहर डुलाउन सक्छ,
आज सम्मान गर्ने हातले,
भोलि अपमान गर्न पनि सक्छ,

थाहै छ,
मायामा सुम्सुम्याउने यही हातले
रिस उठे झापड पनि त हान्छ ।