हिन्दी सिनेमाका अभिनेता शशि कपुरको निधन

हिन्दी सिनेमाका अभिनेता शशि कपुरको निधन


हिन्दी सिनेमाका विख्यात अभिनेता शशि कपुरको आज निधन भएको छ । ७९ वर्षका शशि कपुर पछिल्लो तीन सातादेखि बिरामी परेर अस्पतालमा थिए । उनको मुम्बईस्थित कोकिला बेन अस्पतालमा उपचार चलिरहेको थियो ।

सन् १९३८ मा कलकत्तामा जन्मिएका शशि कपुरले आफ्नो जीवनकालमा एक सय साठीवटा फिल्म (४८ वटा हिन्दी र १२ वटा अंग्रेजी)मा काम गरेका थिए । ६० र ७० को दशकमा उनले अभिनय गरेको जब–जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर, दीवार, कभी–कभी, पाकिजा जस्ता सिनेमा सुपर हिट भएका थिए । शशि कपुरकृत महान फिल्म पनि यिनीहरू नै हुन् ।

सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि शशि निकै एकान्तप्रेमी भएका थिए । त्यसपछि नै उनको स्वास्थ्य पनि गिर्दै गएको थियो । सन् २०११ मा भारत सरकारले शशि कपुरलाई पद्मभुषण पुरस्कारबाट सम्मानित गरेको थियो भने २०१५ मा उनलाई दादा साहेब फाल्के पुरस्कार पनि हासिल भएको थियो ।

आकर्षक व्यक्तित्वका धनी शशि कपुरको बाल्यकालको नाम बलबीर राज कपुर थियो । बाल्यकालदेखि नै अभिनयप्रति उनमा अगाध रुचि पलाएको थियो । उनलाई आफ्नै बाबुले स्थापना गरेको ‘पृथ्वी थियटर्स’ले पहिलो मौका प्रदान गरेको थियो, सिनेमामा अवतरण गर्नका लागि । शशिले सन् १९४४ मा आफ्ना पिता पृथ्वीराज कपुरको पृथ्वी थियटरमा ‘शकुन्तला’ नाटकमा भूमिका निभाएर अभिनय यात्राको आरम्भ गरेका थिए ।