मतदातालाई आकर्षित गर्न खेलाडी पुरस्कृत

मतदातालाई आकर्षित गर्न खेलाडी पुरस्कृत


सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले निर्वाचनकै मुखमा आएर ओलम्पियन खेलाडीहरुलाई सम्मान गरेका छन् । ओलम्पियन खेलाडीको सहयोगको लागि उक्त रकम डेढ वर्षअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पठाए पनि श्रेष्ठले उक्त रकमको बारेमा कसैलाई जानकारी गराएका थिएनन् ।

अहिले प्रतिनिधिसभा र प्रदेशसभाको पूर्वसन्ध्यामा आएर उनले उक्त रकम खेलाडीलाई प्रदान गर्नु मतदातालाई आकर्षित गर्नु वाहेक अन्य केहि प्रयोजन नभएको बुझिएको छ । श्रेष्ठले आइओसीवाट प्राप्त रकम उसैवेला खेलाडीलाई प्रदान गर्नुपर्ने थियो । तर श्रेष्ठले उक्त रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गर्दै त्यसको ब्याज खादै आएको स्रोतले बताएको छ ।

ओलम्पिकको खातालाई व्यक्तिगत खाताको रुपमा प्रयोग गर्दै आएका श्रेष्ठले खेलकुद र खेलाडीकोे विकासको लागि आएको सहयोग कसरी दुरुपयोग गर्दै आएका रहेछन त्यो अहिलेको घटनाले पनि पुस्टि गरेको छ । खेलाडीले सम्मानित हुनु राम्रो कुरो भएपनि त्यसलाई व्यक्तिगत स्वार्थसिद्धको लागि प्रयोग गर्नु कदापी राम्रो मान्न सकिदैन । अहिले श्रेष्ठले जे गरेका छन त्यो आफ्नो स्वार्थ पुरा गर्न र मतदातालाई आकर्षित गर्न रचेको घिनौंनो खेल मात्र हो । स्मरण छ, श्रेष्ठ ८ नम्वर क्षेत्रका प्रतिनिधि सभाका बामपन्थी गठबन्धनतर्फका उम्मेदवार हुन ।

श्रेष्ठले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई हालै नगदसहित सम्मान गरेका थिए । श्रेष्ठले ति खेलाडीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गरेका थिए । ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए । गौरिका भने कार्यक्रममा उपस्थित थिइनन् । उनी परिवारसंगै लन्डनमा बस्दै आएकी छन् ।

पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी मध्ये कान्छी खेलाडी बनेकी थिइन । त्यत्तिबेला उनी १३ बर्षकी थिइन् । त्यसैगरी रियो ओलम्पिकमा जुडोकी फुपुले ओलम्पिकको उद्घाटन सत्रको मार्च पार्समा नेपाली झन्डा बोक्ने अवसर पाएकी थिइन् । रियो ओलम्पिकमा नेपालबाट ५ खेलका सात खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन पुरुष र चार महिला थिए ।