आँधीका कारण श्रीलङ्का र दक्षिणी भारतमा २६ को मृत्यु

आँधीका कारण श्रीलङ्का र दक्षिणी भारतमा २६ को मृत्यु


श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या दुई दर्जन नाघेको छ । आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

आँधीप्रभावित क्षेत्रमा बाढी, विद्युत, टेलिफोनको समस्या भएको छ । मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने पुर्वानुमान गरेका छन् । अत्याधिक ठूलो वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ ।

श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार जना नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका रहेका छन् । प्रभावितमध्ये झन्डै चार हजार जनालाई श्रीलङ्काको उद्धार शिविरमा राखिएको केन्द्रले जनाएको छ । अधिकारीहरुले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन आह्वान गरेका छन् ।