बैंकिङ कसुर अन्तर्गत १९ अर्ब बढि हिनामिना

बैंकिङ कसुर अन्तर्गत १९ अर्ब बढि हिनामिना


पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । बैंकिङ कसुरअन्तर्गत भएको छानबिनबाट करिब ६ वर्षमा १९ अर्ब ६४ करोड हिनामिना भएको हो । हिनामिनामा २८ बैंक तथा वित्तीय संस्थाका ५ सयभन्दा बढी व्यक्तिको संलग्नता फेला परेको छ ।

बैंकिङ कसुरको आरोप लागेका व्यक्तिले कर्जा अपचलन, नक्कली खाता र चेक, विद्युतीय कारोबारलगायत विभिन्न माध्यमबाट रकम हिनामिना गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोप लागेकामध्ये १ सय ४७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । बाँकी अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केही मुद्दा फैसला भए पनि अधिकांश प्रक्रियामा रहेको जनाइएको छ ।

२०६८ वैशाखदेखि हालसम्म पक्राउ परेकाहरूबाट १९ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बैंकिङ कसुरसम्बन्धी ५ सयभन्दा बढी आवेदन परेको प्रहरीले जनाएको छ ।

यसैबीच, एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो ।

पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ ।