मेरो चरित्रहत्या गरेर रूपाले के प्राप्त गरिन् ?

मेरो चरित्रहत्या गरेर रूपाले के प्राप्त गरिन् ?


गत अङ्को लोकप्रिय घटना र विचार साप्ताहिकमा मेरो तस्बिरसहित व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन नै बर्बाद पार्ने उद्देश्यका साथ काल्पनिक उपन्यास बनाई मेरो व्यक्तित्वमाथि नै प्रश्नचिह्न उठ्ने गरी छापिएको समाचारबाट मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म नेकपा -एमाले) मा आबद्ध पार्टी-कार्यकर्ता भएको नाताले यसबीचमा मैले प्राप्त गरेका सफलता र मेरो प्रगति देखेर जहिले पनि विभिन्न माध्यमबाट ममाथि सधंै विभिन्न नामबाट आक्रमण भइरह्यो । जसलाई मैले शालीन ढङ्गबाट सामना गर्दै आएको थिएँ । यस्तैमा गत मङ्सिर २२ मा यस लोकप्रिय पत्रिकामा ‘स्लिपिङ ट्याबलेट खुवाएर अर्कैसँग विवाह’ शीर्षक राखी कुनै नाटकको पटकथाजस्तो पाराले लेखिएको कुरा मबाट भएको छैन र म यस्तो कुरामा विश्वास पनि गरि्दनँ । समाचारमा उल्लेखित निज रूपा उप्रेती मेरो आमसाथीसरहको साथीमात्र हुन् । तथापि, साथी र मित्रताको एउटा परिधि हुन्छ, जुन परिधिको पालना सबैले गर्नुपर्छ । त्यो कुरा रूपाजीमा पनि लागू हुन्छ र ममा पनि । रह्यो कुरा विवाहको, मेरो विवाहको इन्गेजमेन्ट २०६७ साल साउन ९ गते होटल हिमालयमा सिन्धु सिटौलासँग भएको थियो, सो कुरा निज रूपाले सोही दिनको भोलिपल्टै फेसबुकमार्फत बधाई पनि दिनुभएको छ । जसको रेकर्ड आज पनि मसँग सुरक्षित छ । त्यसपश्चात् विभिन्न कामको वहानामा उनले मलाई समय लिई मेरो अफिसमा भेट्न आउने र त्यसरी आउँदा साथमा रेकर्डर राखेर कुरा गर्न आउँदी रहिछिन् । साथै समय-समयमा फोन र एसएमएस पनि पठाउने गर्थिन् । मैले निजलाई कहिल्यै पनि यो वा त्यो नाममा धम्क्याउने वा त्यस्तो अनुचित व्यवहार गर्ने गरेको होइन र छैन । त्यस्तोे अनुचित व्यवहार गर्ने गरेको प्रमाणित भएमा म जस्तोसुकै सजायका लागि तयार छु । तर, उनको एउटै उद्देश्य मलाई र मेरो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनलाई नै समाप्त पार्ने रहेछ, जुन कुरा हाल आएर थाहा पाउँदै छु । जहाँसम्म्ा पत्रिकामा उनले मेरी श्रीमती तथा मेरा नातेदार-कुटुम्बलाई केही भन्नसमेत पाइनँ भनी भनेकी छिन् सो कुरा बिलकुल झुट्टा वा फरेब हो । किनकि, उनी तथा उनलाई उक्साउने व्यक्तिहरूले पटक-पटक छद्म भेषमा घन्टौं फोन गरी धम्क्याउनेसम्मका कुरासमेत भएको थियो । तर, सो कुराले हामी दुई परिवारमा झनै विश्वासको वातावरण सिर्जना भएको कुरामा दुईमत छैन ।
त्यस्तै उनको सुसाइडबारेको कुरा पनि पत्रिकामा छ । उनले पटक-पटक सुसाइड एटेम्प्ट पनि गरेकी रहिछिन् । यस कुराको आभास पाएपछि मैले मानसिक तनावमा रहे-भएको मानिसलाई मानवताको रूपमा सम्झाउने प्रयास गरेकोमा त्यसलाई उनले मविरुद्ध नै षड्यन्त्र गर्ने माध्यम बनाई अरूको उक्साहटमा लागेको कुरा प्रस्ट हुन्छ । निजको सो कार्यले मेरो व्यक्तिगत जीवन र चरित्रमाथि आज प्रश्न उठेको छ । तथापि जीवन लामो छ । आज रूपाज्ाी कसैको उक्साहटमा लागेर षड्यन्त्रको अभियानमा लागेकी छिन् । मसँग प्रतिशोध लिन चाहनेहरूले केही तुष्टि त लेलान् तर सो कार्यले रूपाजीलाई कुनै उपलब्धि नहुने पक्का छ र पछि उक्साउने व्यक्ति केवल रमिते मात्र हुनेछन् ।
अब रह्यो यस लोकप्रिय पत्रिकामा प्रकाशित समाचार, जसले मेरो नितान्त व्यक्तिगत पारिवारिक जीवनमा अपूरणीय क्षति भएको छ, त्यसको उपचार र क्षतिपूर्ति त पाइने छैन तर भविष्यमा यस्तो समाचार छाप्दा कसैलाई पनि अन्याय नपरोस् भन्ने मात्र मेरो चाहना हो ।
– नवराज थपलिया
कामनपा-३, रानीबारी
मानवाधिकारवादीको ध्यान यता किन पुगेन –
नेपाली काङ्ग्रेसजस्तो पार्टीले बंगलादेशी नागरिक रुवेल चौधरीलाई बोकेर जबर्जस्ती सरकारलाई दुरुपयोग गरेको महसुस गरिएको छ । सुजाता कोइराला जोष्टका ज्वाइँ बनेर नेपालमा बस्दै आएका रुवेललाई भीओआईपी कल बाइपास, नेपाल प्रहरीले सुडानको शान्ति मिसनमा आवश्यक बन्दोबस्तीका सामग्री एमपीसी खरिदमा गरिएको घोटाला, परराष्ट्र मन्त्रालयबाट बंगलादेशी नागरिकलाई वितरण गरिने नक्कली पासपोर्ट र लागू औषधको कारोबारमा संलग्नता भएकोबारे पर्याप्त कुरा सार्वजनिक भएकोले ती काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सबै सञ्चारमाध्यमहरूसँग जोडदार माग गर्नु हामी नागरिकको कर्तव्य हो । साथै बंगलादेशी नागरिक रुवेल चौधरीले स्व. गिरिजाप्रसाद कोइरालाको सिङ्गापुरमा उपचार गर्दाको बिलसमेत नक्कली तयार पारी ठगी गर्ने प्रयास गरेको पनि सुनिएकोले तत्काल उक्त काण्डको वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।
पारस शाहलाई पक्राउ गरी प्रहरी निगरानीमा राखिँदा घटनाको अर्को पक्ष रुवेल चौधरीलाई घरबाट बाहिर निकाल्न नसक्नु न्यायको सामान्य सिद्धान्तको समेत पालना नभएकोतर्फ सम्पूर्ण मानवअधिकारवादी सङ्घ-संस्थाहरूको ध्यानाकर्षण किन भएन आर्श्चर्यकै विषय बनेको छ । र, पछिल्लोपटक राष्ट्र र आमनेपालीको पक्षमा निर्भीक भएर उभिएका पारस शाहको उचाइ यो गिरफ्तारीपछि झनै बढेको महसुस हामीले गरेका छौँ ।
– गोकर्ण शर्मा, काठमाडौं