सुमधुर बन्दै छ सलमान र कैफको प्रेम-सम्बन्ध

सुमधुर बन्दै छ सलमान र कैफको प्रेम-सम्बन्ध


लामो समय प्रेममा रहेका सलमान खान र क्याटरिना कैफको जोडी पुनः चर्चामा आएको छ । यतिबेला उनीहरू प्रेमका कारण नभई ‘टाइगर जिन्दा है’ फिल्मसँग जोडिएर चर्चामा आएका हुन् । बहुप्रतीक्षित उक्त फिल्म आगामी २२ डिसेम्बरमा प्रदर्शन हुँदै छ । यसै सन्दर्भलाई मध्यनजर राख्दै सलमान र क्याटरिनाको जोडीले ‘टाइगर जिन्दा है’को प्रमोसनका लागि हिरो इन्डियन सुपर लिगलाई रोजेका थिए । यी दुवैले मङ्सिर १ देखि सुरु भएको उक्त लिगको उद्घाटन समारोहमा प्रदर्शन गरेपछि फिल्मको चर्चा अझै चुलिएको छ । सुपरस्टार सलमान र क्याटरिनाको उक्त प्रस्तुति हेर्न रंगशालामा हजारौँ दर्शक उपस्थित थिए ।

प्रेममा ब्रेकअप भएपछि सलमान खान र क्याटरिनाले एकसाथ फिल्म खेलेका थिएनन् । उनीहरूबीचको प्रेम–सम्बन्धमा तिक्तता आए पनि फ्रेन्डसिप भने टुटेको थिएन । यही फ्रेन्डसिपका कारण सलमानले क्याटरिनासँग ‘टाइगर जिन्दा है’ खेल्न स्वीकार गरेका थिए । अहिले उनीहरूको सम्बन्ध सुमधुर भएको चर्चा चले पनि प्रेममै डुबेको कुरा भने दुवैले अस्वीकार गरेका छन् । र पनि, सलमान र कैटको रोमान्स हेर्दा उनीहरू पुनः प्रेममा परेको अड्कल काट्ने प्रसस्तै छन् । बलिउडमा सलमान र क्याटरिनाको जोडीलाई निकै मन पराइन्छ । यो जोडीले थुप्रै हिट फिल्म दिएको छ । त्यसमा ‘एक था टाइगर’ प्रमुख हो ।

पछिल्लोपटक सलमान र क्याटरिना ‘एक था टाइगर’मा सँगै देखिएका थिए । उक्त फिल्म सुपरहिट हुनुका साथै त्यसबेला बक्स अफिसमा तहल्का मच्चाउँदै कैयौँ रेकर्ड तोड्न सफल भएको थियो । अहिले ‘टाइगर जिन्दा है’बाट पनि यही अपेक्षा गरिन थालेको छ । सलमान खानको फिल्मले एक सय करोड कमाउनु कुनै आश्चर्यको कुरा होइन । सय करोड त सलमानको नामले मात्र उनका फिल्मले कमाउँदै आएका छन् । लामो समयपछि क्याटरिना सलमानको अपोजिट बनेर आउँदै छिन् । उनले यो फिल्ममा निकै बोल्ड सिन दिनुका साथै अत्यन्त सुन्दरी पनि देखिएकी छिन् । हालै एक था टाइगरको पहिलोपटक रिलिज भएको गीत हेर्दा पनि यो प्रस्ट हुन्छ । समुद्रको किनारमा सलमानसँग छायाङ्कन गरिएको उक्त गीत सुपरहिट भइसकेको छ । लाखौँ दर्शकले उक्त गीत ‘यु ट्युबमा’ हेरिसकेका छन् ।

चर्चित निर्देशक अली अब्बास जफरले ‘टाइगर जिन्दा है’ निर्देशन गरेका हुन् । उक्त फिल्मको सुटिङ अस्ट्रिया, ग्रिस, मोरक्को, आबुधाबी र भारतमा गरिएको छ । यशराज फिल्मको ब्यानरमा बनेको यो फिल्म २२ डिसेम्बरमा रिलिजमा हुँदै छ । यसमा सलमान खान र क्याटरिना कैफले प्रमुख भूमिका निभाएका छन् । जुन आमदर्शकका लागि विशेष प्रतीक्षाको सन्दर्भ बनेको छ । प्रदर्शनपछि बलिउडको अहिलेसम्मका सबै रेकर्ड यस फिल्मले तोड्ने विश्वास गरिएको छ ।