हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा


-प्रकाश के.सी.,
यहाँ यूकेमा आएको महिना दिन पुगेको छ । यो तीसौं दिनहरुबीच साँच्चै नै भन्ने भए त्यस्ता दिनहरु बितेनन्, जसलाई वास्तवमै व्यस्त दिन भन्न सकियोस् । मेरो अभिप्राय यो हो कि मलाई तीसौं दिनहरुमा कहिले पनि सोँच्न र गम्नबाट समयको अकाल रहेन र यी तीसौं दिनहरुमा मैले के र कस्ता कुराहरुमा आफ्नो मनमस्तिष्क अल्झिएको पाएँ त ? के र कस्ता सम्झनाहरुमा म मनसँगै अल्झिएँ त ? त्यो साँच्चै नै मेरो लागि सोचनीय पक्ष रहृयो ।

एघार वर्षपछि थातथलोसँगै सानो कमाइलाई काखीमा च्याप्दै यहाँ आउँदा, ती कमाइहरुभित्र कत्तिका सम्झनाहरु खाँदिएका थिए होलान्, कत्तिका ती सम्झनाहरु टीस बन्ने गरी मानसपटलमा अल्झिएका थिए होलान् ? अहिले वास्तवमा म त्यतैतिर गम्दै छु । म खासगरी मेरो हङकङ बसाइका पछिल्ला वर्षहरुलाई सम्झन्छु, किनकि ती वर्षहरुले मलाई पर्दा अगाडि र पछाडिका हङकङेली नेपाली समुदायका खेलाडीहरु र ती खेलाडीहरु जस्तै बन्ने प्रयास गर्ने अनि तीभित्रका रेथाने बन्न कोशिस गर्ने अन्य सहयोगीहरुका बारेमा जान्ने र तीहरुसँग केही रसरङ्ग गर्ने मौका दिलाएको थियो । आज यो एक महिने यूके बसाइको लगत्तै मलाई बाराम्बार ती खेलाडीहरु र तिनका खेलहरुको बारेमा धीत मारेर लेख्न मन लागेको छ । यसको यो मतलव पक्कै होइन कि, अब यहाँ यूकेमा बसिसकेपछि एक किसिमले मुक्त भएको महशुस गरेर लेख्दैछु, यो यस कारणले हो कि, त्यहाँ हुँदा म हङकङेली नेपाली समाजको एक अँग थिएँ र सबै अभिमतहरुमा प्रत्यक्ष वा परोक्ष मेरो संलग्नता रहेको पक्कै मानिने भएकोले पनि कतिपय कुराहरु सामाजिकताको नाममा बाहिर ल्याउन सकेको थिइँन, कतिपय पक्षमा मेरो आवाज एक्लो भएकोले खिरिलो परेको थियो, र त्यो भीड वा वथान वा बगालबाट बाहिरिएपछि पनि बगालको स्वस्वरुप स्पष्टसँग देखिने भएकोले त्यसलाई त्यही किसिममा कैलाउँदै आज लेख्दै छु ?

वास्तवमा, नेपाली समाजलाई मोड दिन खोज्ने, आकार दिन खोज्ने र दिनेहरुका होडमा रहेका पर्दाअगाडि र पछाडिका कैयों खेलाडीहरुमा ‘लिटल पिपुल सिन्ड्रोम’ रहेको स्पष्ट हुन्छ, त्यो त्यतिबेलै अनेकों लेखहरुमा मैले भनिसकेकै हुँ, अहिले दोहोरिएर व्यक्त हुँदैछु । कतिपय यस्ता ती व्यक्तिहरु नेपालमा आफ्नो व्यक्तिगत अस्तित्व पनि होँचिएर जमीनझैं निहुरिएको अनुभवले आक्रान्त भएकाहरुमध्ये धावा बोल्ने गरेर हङकङेली नेपाली समाजको साँघुरो र कतिपय आधारमा लाटो परिवेशमा हौसिदैं अग्लिएको गहिरो भ्रममा बाँचिरहेका छन् । पटक्कै अप्ठ्यारो लागेको छैन, त्यसरी भन्न । मित्रहरु यस्ता पनि छन् कि, जड सूत्रीय धारमा आफूभित्रै रुमल्लिएर ‘कुहिरोको काग’ बन्दै कराइरहेका छन् ।

मैले बाराम्बार भन्ने गरेको हुँ, विदेशमा हामीहरु पहिला नेपाली हौं र त्यसपछि मात्र विभिन्न जातजाति, भाषाभाषी नेपाली हौं । तर वथानमा हिँड्ने, बगालमा हिँड्ने पशुहरुकै तुलनामा एकरत्त लाग्ने गरी भाषाभाषी र जातजातिमा बेग्लिएका हङकङेली समाजमा केही यस्ता निख्खर सत्व छन् कि, तिनले सम्पूर्ण समाजलाई नै प्रदूषित बनाइरहेका छन् । ‘लाटाका देशमा गाँडा तन्नेरी’ लाग्ने यस्ता व्यक्तिहरु छन् कि जो दिमागभरि नै गाँडसरी ‘विकृत पोको’ लिएर हिँडिरहेका छन् ।

लाग्थ्यो, साहित्यमा कुनै जातजाति, भाषाभाषी हुँदैन, बाहिर समाजमा जे र जस्तो प्रकारका भेदभाव भए पनि साहित्यमा सबै एकै हुन्छौं । ९८ को आखिरीतिर जब नेपाली साहित्यानुरागीहरुका जमघटमा लागेँ, मेरो मनलाई बिस्तारे तित्याउँदै लग्यो, त्यसको पराकाष्ठा भने, २००३ तिर पत्रकारिता तथा ‘नेपाल डट यच्के’सहित साहित्यमा पूर्ण रुपमा हाम्फाल्दाखेरि अनुभव गर्न पाएँ । राईहरुले पुज्नै गरेका हाङयुग, लिम्बूहरुले मान्ने गरेका टँक तथा देश, गुरुङहरुका विश्वासिला पशन, मगरहरुका तेज चुरा आदि हुँदै दुमी, किसन, भूपेन्द्र, भोगेन, दिललगायतकाहरुसँग विभिन्न साथ र समयमा उठबस गर्ने क्रममा थाहा लाग्यो, साहित्यमा पनि जातीयता तीब्र रुपमा सङ्क्रमित भइसकेछ । ‘कागलाई कागै प्यारो’, वा ‘भेँडालाई भैँडा नै प्यारो’ भनेजस्तै अन्य जातिहरु खासगरी हङकङेली नेपाली समाजमा पराया हुँदो रहेछ । मेरो लगभग सात वर्षको गहिरो साहित्यिक संलग्नतामा साँच्चै नै भन्ने भए आफ्नो लाग्ने किसिमका साहित्यिक समूह पाइँन । किनकि, जातीय साँघुरो घेरामा रुमल्लिएका मित्रहरुबाट म जहिले पनि बाहिर नै परेँ । हङकङेली जनजाति साहित्यकारहरुमा जातीय सदभाव इमान्दारिताका साथ भन्ने भए, पटक्कै छैन । ‘नेपाल डट यचके’सँग हङकङेली जनजाति साहित्यकारहरुले पछिल्लो समयमा एक किसिमले ‘पानी नै बारेका’ थिए । इमान्दारिता व्यक्त गर्दैछु । कतिपय जनजाति साहित्यकारहरुले धम्क्याउने प्रयन्त पनि नगरेका होइनन् । मैले पहिले धेरेपटक भनेको हुँ, त्यो क्रममा मलाई हङकङेली जनजातिहरुबाट सार्वजनिक रुपमा माफी मगाइनुपर्दछ भन्दै वेबहरुमा कमेन्ट लेखिएको थियो । वास्तवमा हङकङमा दुर्इ धारका साहित्यकारहरु छन्, एक ‘नेपाली भाषाको लागि’, ‘साझा मन्थनका लागि’ र त्यसलाई सम्वर्धन गर्ने हेतु साहित्य लेख्ने साहित्यकारहरु र दोश्रो ‘जनजातिका लागि’, ‘जनजाति भावानुरुप’, नेपालीभित्रको’ एक पक्षपोषक जातीवादी साहित्य’ लेख्ने साहित्यकारहरु हुन् । जति नै मुर्मुरिए पनि यो सत्य हो । त्यसरी लेखिने साहित्यहरु र लेख्ने साहित्यकारहरुका आँखामा नेपाली पनको ‘समुल सदभाव’ देखिँदैन । तिनले आफ्नै परिवेशमा ‘सँसार’ खोज्दछन्, र त्यही, ठ्याक्कै त्यही भएको छ हङकङमा ।

नेपालीहरुको ठूलो परिमाणमा बसोबास हुने प्रवासमध्ये हङकङेली नेपाली समाज सबैभन्दा ज्यादा ‘साम्प्रदायिक प्रवासी समाज’ हो । हङकङको सरकार वा गैर सरकारी संस्थाहरुबाट अल्पसँख्यक समुदायको नाम भजाएर कार्यक्रमको आड बनाई रकम पचाउने क्रममा विभिन्न जातीय संस्थाहरु साझापनको वकालत गर्दै ‘पक्का नेपाली’ भनाउँछन् । हङकङको बसाइको ढेढ दर्जन दशकको अवधिमा पनि नेपालीहरु अर्को नागरिक नै रहेको छ भने अधिकांश हङकङेली नेपालीहरुको मनस्थिति पनि कालान्तरसम्म वा समस्त रुपमा आफूलाई चीनिँया नागरिक बनाउनेतर्फ पटक्कै झुकेको छैन । त्यसले के भएको छ भने, ती ठूलो परिणामका नेपालीहरु, जीवनको लामो अवधि अन्योल परिवेशमा बाँच्न वाध्य भएका छन् । हङकङलाई कर्मभूमि बनाएर जीवनको वहुमूल्य कर्मशील समयलाई खर्च गर्ने नागरिकहरुले सम्पूर्ण अधिकारहरुको वहन गर्दागर्दै पनि हङकङमा कानूनतः भिज्न सकेका छैनन् । समयमा गरिएको वचतको जोहोलाई जीवनको उत्तरार्धमा नेपाली भूमिमा अस्त गर्ने हेतु लाग्नेहरु स्वभाविक रुपमै नेपाली सामाजिक, साँस्कृतिक, पारिवारिक अनि नैतिक पक्षबाट पिछडिएका छन् । तर सोही अवस्थामा पनि, नेपालको वर्तमान परिप्रेक्ष्यको अत्यन्त घातक स्वरुप हङकङेली नेपाली समाजको सानो दायरामा गहिरोसँग घोलिएको छ । जातजाति, भाषाभाषी तथा क्षेत्र र गाउँ टोलहरुका विभिन्न ‘बगाल’हरु बनेका छन् । नेपालमा ‘नो-बडी’ रहेकाहरु हङकङको सानो दायरामा ‘सम-बडी’ हुने ध्याउन्नमा यत्ति साँघुरिएका छन् कि घरेपिच्छे ‘अध्यक्ष’हरुको उत्पादन हुँदै गएको छ । नेपाली समाज, नेपाली भेषभुषा तथा पारम्परिक साँस्कृतिकतालाई सम्वर्द्धन गर्न भनेर खोलिएका ती विविध संघसंस्थाहरुले वास्तवमा के गरेका छन् त ? कसरी समूल रुपमा नेपाली समाजलाई हाँकिरहेका छन् त ? त्यो म यहाँ केलाउँदैछु, यसमा कसैलाई घौँचे त्यो व्यक्तिगत नभई उक्त सँस्थाको अध्यक्ष वा सार्वजनिक पद तथा स्वार्थमा रहेकोले घोँचिएको हो भन्ने सम्झन आग्रह यहाँ गर्दैछु ।

हङकङमा भारतीय, पाकिस्तानीलगायतकाहरुका आफ्नै क्लव छन्, तिनीहरु साझा सवालमा एकमत जाहेर गर्दै अधिकारको लागि समयमै हङकङ सरकारसँग सरोकारसम्मत भएर प्रस्तुत भए र हङकङमा नितान्त आफ्नै जग्गामा देशको नाममा, समुदायको नाममा सामुदायिक भवन बनाउन सक्षम भए । लगभग तिनीहरुकै तुलनामा तर महत्वपूर्ण देन दिने नेपाली (यहाँ गोर्खाली भन्नुपर्दछ) ले के गरे त ? मैले एकपटक एउटा लेखमा ‘भूपीको भनाइ’लाई घुसाएको थिएँ, केही मित्रहरुले मलाई नै आक्षप लगाएर त्यसको विरोधमा लेखहरु लेखे, तर वास्तविकता त्यो नै हो । हाम्रा पूर्खा (लाहुरे)हरु ‘वीर थिए अनि मूर्ख थिए’, ‘मूर्ख भएकाले नै वीर मानिए’ । बेलायतका सदनहरुमा, सडकहरुमा त्यही नै भनिरहेका छन्, “हामीलाई ठगियो, हामी ठगियौं, त्यसको भर्ताल हुनुपर्छ” भन्दै लाग्नै ती हुलको भनाइ, ‘हाम्रा पुर्खाहरुको मूर्खताको फाइदा उठाउँदै अँग्रेजले तिनीहरुलाई ठगेको’ भन्ने नै हो । ठीक त्यस्तै, ९७ मा हङकङ हस्तान्तरण गर्नका लागि कार्यहरु थालिँदा शुरु-शुरुमा नै हङकङमा जन्मेका ती लाहुरेका सन्तानहरु र ती सन्तानहरुको भरबाट तीहरु पनि हङकङमा नै बसोबास गर्न पाउने प्रवन्धहरुको छिनोफानो भएको थियो, अन्य आप्रवासी समुदायहरुले जस्तै तिनले आफ्नो सानो सामुदायिक भवनको माग राखेका भए सजिलेसँग जग्गा वा भवन मिल्ने थियो, तर ती त मूर्ख थिए नि, तिनलाई ‘जमूरे नाच भन्दा नाच्ने र खडा हो भन्दा खडा हुने तथा स्याल्युट हान्ने’बाहेक अन्य थाहा नै थिएन, भएन । ती समूहले धानेको जार्डिन, सेकुरिकर अनि जीफोरयस कम्पनीमा ‘त्यही मूर्खता र ढोके नीति’हरुकै निरन्तरता भयो । यो वास्तविकता हो । त्यही ‘ढोके नीति’ले गर्दा सो कम्पनीमा पहिलोपटक विशाल रुपको हडताल भयो, कम्पनीका गुर्खे सा’पहरुले यसलाई बुझ्नुपर्दछ कि, तिनको ‘जमूरेको नाच’ देखाउन मात्र खप्पिस पनले गर्दा फ्रन्टलाइनमा काम गर्नेहरुलाई ज्यादा पेलान दिइयो र अन्ततः ती एकजुट भएर हडतालमा उठे । त्यसपछि, अहिले अलिअलि भएको गुर्खाली नाम पनि स्वाहा भएको छ । माथि भनिएको अवस्थामा यो पनि हो कि, ती बेलायती सेनाबाट निःवृत्त भएका गुर्खाहरुको स्थानान्तरण सीधा हङकङेली समाजमा भएको थिएन, त्यतिखेर आफ्नो सामुदायिक भवनको माग राख्न नसकेका भए तापनि पछि दोस्रो पुस्ताहरुबाट भएको सो कार्यउपरको थालनीमा ‘होस्टेमा हैंसे’ सोही मागबाट राख्न सक्दथे, तर त्यतिखेर दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै एक लश्कर बुद्धिजीवीहरु सक्रिय रहे । एकराज राई, गणेश इजम, माणिकिरात वान्तवा, शरण सुब्बा, भक्तबहादुर दुरा, भक्तबहादुर गुरुङ, हेजेन राई, भोलानाथ थापामगर, चुरा थापामगर, नरहाङ राई, किसन राई आदि ‘लागी-पर्दा’ हातमा भने ‘चोमोलोङ्मा मल्टी कल्चर सेन्टर’ लागेको थियो । त्यो सेन्टर ‘नेपाली मात्रको’ परेन र नाम पनि ‘सगरमाथा’ भन्ने सम्म पनि नपारी ‘चोमोलोङ्मा’ भन्ने रहृयो । चीनिँयाहरुको नजिक लाग्ने नाम छान्नलाई वाध्य पारियो रे !

त्यसको केही लगत्तै, व्यापारी दीपक खड्काको अगुवाइमा मन्दिर बनाउनका लागि पहल गरियो । दश लाख हङकङ डलर आफ्नो तर्फबाट लगानी गर्ने र वाँकी अन्य श्रोतबाट जुटाई नेपालीको नाममा सरकारी जग्गामा सो बनाइने कार्यलाई माथि दिइएका नामहरुमध्येबाटै भरपुर विरोध गरियो । नेपाल विविध धर्म र जातिका देश भएकोले सो देशको नाममा बनाइने साझा भवन एक धर्मको हुनुहुन्न भन्ने तिनको राय रहेको थियो । नेपालमा अहिले पनि सत्तरी प्रतिशतभन्दा बढी जनसँख्या हिन्दू छन्, ती जनसँख्यामा पनि प्रशस्तै जनजातिहरु रहेका छन् । मन्दिरमा वौद्धिस्ट, साइबाबाका अनुयायीहरु नजाने होइनन् तर हङकङमा चाहे ९५ प्रतिशत जनजातिहरु भए पनि ती नेपाली हुन् र तिनलाई नेपाली समुदायमा गनिन्छ भने त्यो नेपालीको ठूलो सँख्याले मान्ने धर्मलाई आधार बनाएर मन्दिरको लागि जग्गा वा स्थान त्यो अवस्थामा उपलब्ध गराउन हङकङ सरकारले गलत गरेको मानिँदैनथ्यो, तर सानो बीस, तीस हजारको सँख्यामा भएका नेपालीहरुमा त्यो एकता कहाँ हुन्थ्यो र ? आखिरमा त्यसरी पनि जग्गा वा स्थान सामुदायिक हितको लागि उपलब्ध हुने भएन । कतिपय जनजातिहरु हरेक मौका र अवसरमा आफूलाई सम्वृद्ध राख्न र आस्थावान मान्न हृयाप्पी भ्यालीस्थित भारतीयहरुको मन्दिरमा पूजा गर्न जाने गर्दछन् भने कतिपयले आफ्नै घरको कोठामा हिन्दू देवदेवीहरुको तस्वीर वा मूर्तिको स्थापना गरी पूजा गर्ने गर्दछन् । कतिपय हिन्दू विरोधी जनजातिहरुका नाम नै हिन्दू रहेको छ, के तिनलाई त्यो नामले कहिले पोल्यो ? हङकङेली ढोँगी जनजाति ठूलाहरुको कुरै बुझिनसक्नुको छ । आम हङकङेली जनजाति महिला तथा पुरुष वा बालबालिकाहरुलाई उक्त विवादको अत्तो छैन, जमघट हुने वहानाकै रुपमा पनि तिनले दशैं, तिहार, तीज आदि इत्यादि हर्षोल्लासपूर्ण वातावरणमा मनाउँदै आएका छन् । पछिल्लोपटक, हङकङ नेपाली महासँघ, एनआरएन हङकङ, हिन्स र नमोबुद्ध आमा समूहले आआफ्नै तवरमा सामुदायिक भवन बनाउनेतर्फ प्रयास गरे । तिनका सँयुक्त प्रयास त्यो प्रसङ्गमा पनि जम्न सकेन । महासँघले राखेको ‘सर्वदलीय मिटिङ’मा त झण्डै ‘फाइट’ नै परेको थियो । ‘स्वाङभन्दा भ्वाङ ठूलो’ भनेको जस्तो केही भएन । केही गर्न सकेनन् । त्यो घडीमा पनि एकमत जाहेर गर्न सकेनन्, र आखिरमा सो ‘नहुने’ भयो र सामुदायिक भवन किन्ने भन्दै आमा समूहहरुले सानो ‘फ्ल्याट’ भने किनेका छन्, जो बौद्धिस्ट भक्तहरुको गुम्बा मात्रै नजर आउँदछ ।

साझा भावनाको अभावमा हङकङेली नेपाली समाज अनियन्त्रित छन्, विखंडित छन् र हाल आएर सङ्क्रमित पनि छन् । लामो अवधिमा पनि आफ्नो अस्तित्वलाई चाइनिज समाजमा स्थापित गराउन नसकेको नेपाली समाज खण्डग्रस्त छन् ।’इन्टे-याक्सन’को प्रयासमा चाइनिज भाषामा दक्षता पाउँदै जाने नयाँ पुस्ताहरु, त्यही ‘जानकारहरु सम्मत’कै स्तरमा रहेका छन् । कुनै पारिवारिक भेला तथा पर्वहरुमा अन्य समुदायका परिवारहरुबीच भलाकुसारीहरु नभएको सो अवस्थामा नेपाली समाज विस्तारै छायामा पर्दै गएको छ । यस्तो अवस्थामा रहेको समाजलाई गति दिनका लागि ‘लागी-पर्ने’ संस्थाहरुको कुरा गर्दा, स्थिति झन् लाजमर्दौ रहेको छ । हङकङ नेपाली महासँघ नाम मात्रैको रहेको छ, यस संस्थाको औकात भनेको ‘हिँङ बाँधेको टालोलाई आफ्नो शानदार घरानियाको अपच्दो प्रदर्शनी गर्ने’ मात्र भएको छ । सम्पूर्ण हङकङेली नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्था भनिएकोमा यो अर्को पर्यायको जनजाति सँस्था मात्र रहेको छ । नेपाली पासपोर्ट बोकेर हिँडिन्जेलसम्म सबै हङकङेली नेपालीहरु पहिला नेपाली नागरिक नै हुन्, तिनलाई नेपाल सरकारको भर दिने भनेको नेपाली दूतावास वा वाणिज्यदूतावास नै हो । धेरैपहिला नेपाल वायुसेवा निगमले त्यस्तो भर दिएको थियो र माधव घिमिरेको पालाबाट भने दूतावास मान्य रुपमा नेपालीहरुको द्योतक भएको छ । नेपाल सरकारले तोकेर पठाएको व्यक्ति जे र जस्तो भए पनि नेपाल सरकारको प्रतिनिधिको रुपमा अन्य मुलुकले मान्दछ भने सो मुलुकमा बस्ने नेपालीहरुले सो व्यक्तिको कार्यशैलीको आधारमा सो व्यक्तिलाई सामाजिक रुपमा मान्ने वा नमान्ने गर्दछ, तर जनजातिकै महावाणिज्यदूत चाहिन्छ भनेर जुन किसिमले हङकङमा जातीय विभाजन दिन थालिएको छ त्यो केही व्यक्तिहरुको नितान्त आफ्नो स्वार्थ र जातीय संकीर्ण विचारको उपज भएको भन्न सकिन्छ । हङकङेली नेपालीहरुलाई चाइनिजसरहको मूलधारमा ल्याउनका लागि भनी हङकङ सरकारले करोडौं खर्च गरिरहेको छ, सोही खर्चका केही भागहरु केही जातीय संस्थाहरुले खर्च धान्नका लागि पनि ‘जय नेपाल’ भन्दै र गाउँदै सोहीअनुरुप कार्यक्रमहरु गर्दै पचाइरहेका छन् । तर सोही हङकङेली नेपालीहरुको प्रतिनिधित्व गर्दै भनी दुर्इ चारजनालाई लिएर जनजाति महासँघका अध्यक्ष चेम्जोङ हङकङ सरकारलाई, आफ्नो स्वदेशको सरकारको प्रतिनिधिको खिलापमा जानका लागि ज्ञापनपत्र बुझाउँदछन् । कस्तो कन्ट्रास्ट ! चेम्जोङले कसरी त्यसो गर्न सक्दछन् ? के सबै नेपालीहरुको उनले प्रतिनिधित्व गरेका छन् ? के हङकङमा सबै जनजातिहरु त्यसको समर्थन गर्दछन् ? छन् भने ती सबै भेँडाहरु हु्न् । हङकङमा सबै ‘जनजाति’हरु पनि छैनन् । आफ्नो अधिकारका लागि भनी अर्काको अधिकारलाई होंच्याउने वा दमन गर्ने अधिकार उनी लगायतकालाई कसले दियो त्यहाँ ? नेपाल र नेपालीको लागि लाग्ने गैरआवासीय नेपाली सँघ हङकङ किन चुप रहृयो ? नेकपा एमाले कमिटि हङकङ, नेकपा माओवादी हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ, हङकङ नेपाली महासँघ, हिन्सलगायतका अन्य नेपाली सँस्थाहरु किन चुप लागे ? के तिनीहरु पनि उही जनजाति महासँघबाटै सञ्चालित छन् ? संस्थाको मर्म तथा प्रतिष्ठाको बारेमा जानकारी नहुने व्यक्तिहरु नै सँस्थाका पदाधिकारीहरु भएको ठाउँमा अन्य के नै आशा गर्न सकिन्थ्यो र ? त्यही भयो, अघोषित रुपमा भूपेन्द्र चेम्जोङलगायतकाहरु हङकङेली नेपालीबीच ‘जातीय वर्चश्व’ राख्न सफल भएका छन् । त्यहाँ कतिपय आर्यनहरुलगायत जातीय भेदभावमा नलाग्ने जनजातिहरु पनि नेपाल सरकारले पठाएको व्यक्ति जसलाई हङकङ सरकारले स्वीकारिसकेपछि सरकारको प्रतिनिधिको रुपमा मान्न तयार छन् र तिनले सोहीअनुसार मान्न पाउनुपर्दछ, तर चेम्जोङलगायतकाहरु, जनजातिको महासँघको ध्वाँस देखाएर अन्य सँघसँस्थाहरुलाई नमान्नका लागि उर्दी जारी गर्दै खुल्लमखुल्ला हिँड्छन् ? होइन, त्यहाँ कुनै बुद्धिमानहरु छैनन् कि क्या हो ? के कसैले सोँचेको छ, अहिले यत्तिकै नै नेपाल वापस जानुपर्दा तिनीहरुका नैतागिरीको औकात नेपाली विशाल परिवेशमा कस्तो होला ? कहाँ होला ? के तिनले ‘आर्ज्या’को हङकङेली औकातहरु साधारण जीवन बाँच्नका लागि नेपालमा काफी होला ? वास्त्वमा ती नेताहरु घरका न घाटका हुन्छन्, जब समय आउँछ । नेपाल र नेपालीको स्वार्थलाई आफ्नो कार्यको अभिमतमा राखेर हिँड्ने एनआरएन हङकङमा झण्डै मतिभ्रष्ट भएका थिए । दूतावासमा एनआरएन डेक्सको माग राख्नेहरु, नवदूतलाई ‘वहिष्कार गर्ने कि स्वागत गर्ने’ भन्ने वहसमा केही समयका लागि भए पनि लागे, लाग्नु नै एक किसिमले मतिभ्रष्ट भएको भने हो । ख्वै त हङकङ नेपाली महासँघले सार्वजनिक स्वागत गरेको ? के त्यस संस्था अब पनि हङकङ नेपाली महासँघ हो त ? रहृयो त ? त्यो पनि उही तथानामकै एक जातीय संस्था हो । महासँघ (जनजाति वा हङकङ नेपाली) मा आवद्धता राख्ने अन्य जातीय सँस्थाहरु त्यत्तिकै पछि मात्र लाग्ने खालका हुन् त ? भन्न सकिन्न, किनकि त्यहाँ घरघरमा निस्किरहेका जो अध्यक्षहरु छन्, ‘दुर्इ पैसाका औकात’ नभएका ‘बुद्धु’हरु पनि संस्था हाँक्न सक्षम मानिएका ठाउँमा ‘र्‍यासनाइज्ड’ इन्टेलेक्च्युटहरु अकालमा पर्ने नै भए ।

दुर्इ वर्षअघिको महासँघको चुनावमा राईहरु नै जुर्मुरिएर आएका थिए, गुरुङलाई थपना दिएर वास्तविक पदको कार्यभार आफू लिने ध्याउन्नामा रहेका उपाध्यक्षको दावेदारी किसन राई, हेम लिम्बूले ‘अध्यक्ष’ फुत्याउँका तीनछक थिए, अहिले फेरि सक्रिय रहेछन्, पक्कै पनि अध्यक्षमै उठ्लान् र जित्लान् पनि, तर खासमा किसन राई आफ्नो जातीय दायराभित्र रहे, ज्ञारेन्टी छ, अर्कोपटक महासँघ, ‘राई-महासँघ’ मात्रै बन्ने छ, त्यसरी नै कार्यशैलीहरुमा वैचारिकता नल्याए एनआरएन हङकङ, ‘एनआरएन-गुरुङ-हङकङ’ मात्र रहनेछ र अर्का महासँघ तथा एनआरएन हङकङहरु खोलिनेछन् ।

धेरे समयपछि एक किसिमले खुशी लागेको छ, सत्यको लागि, सही पक्षको लागि हङकङमा अर्को नाम अगाडि आएको रहेछ । हुन त जे.बी. पुन नेपाली समूल पत्रकारितामा पनि चल्ने नाम नै हो, तर खासगरी हङकङेली नेपाली समाजमा आएर मगर मात्र रहन्छन् कि जस्तो लागेको थियो, रहेनछन्, मेरो तर्फबाट जे.बी. पुनमगरलाई वधाइ छ र स्वागत पनि साथैमा राख्छु । हङकङमा जातीय, भाषीय अनि क्षेत्रीय झुण्डबाट बाहिरिएर उक्त बगाललाई स्पष्टसँग हेर्ने मान्छेको पत्रकारको रुपमा खाँचो छ, नत्र गाँडाहरुको नै राज हुने छ त्यहाँ ।

हङकङ नेपाली महावाणिज्यदूत सम्पूर्ण हङकङेली नेपालीहरुका लागि नेपाल सरकारको प्रतिनिधि हुन्, उनको मार्फतबाट नेपाल सरकारसँग आवद्धता राख्ने ‘देशभक्त’हरुलाई उनको तर्फबाट ‘नेपालको विरोध’ गरिने शैलीलाई ‘आफ्नो पनि विरोध गरिएको’ लाग्न सक्ला, जसले हङकङमा जातीय मुठभेड ननिम्त्याउला भन्ने छैन, यसमा बेलैमा सचेतकहरु गम्भीर भएर सचेत हुन जरुरी छ ।

हङकङमा नेपाली समाजको लागि गर्न सक्नेहरु केही छन् र तिनमा क्षमता पनि छ, समस्या भने उही तिनका आसपासमा रहने जातीय दायराको साँघुरो घेरा नै हो, यदि तिनीहरु सो दायराबाट मुक्त भए, आगामी वर्षौं वर्ष, हङकङमा रहने नेपालीहरु र नेपालका नेपालीहरु, दुबै पक्षले ठूलो राहत पाउने छ । बुद्धि भएकाहरुले साधारण नेपालीहरुलाई आफ्नो स्वार्थअनुरुप नघुमाई समाजको हितअनुरुप लगाउने अनि मूर्खहरुले समाज तथा संस्था हाँक्ने होइन, जान्नेहरुको पछि लाग्ने गरे हङकङेली नेपाली समाजको भविष्य राम्रो छ ।  हङकङेली नेपालीहरुले पहिला हङकङ र त्यहाँको समाजको लागि सोँच्ने अनि त्यसपछि मात्र नेपालको बारेमा सोँच्नुपर्दछ । रङ्ग न ढङ्गले नेपालमुखी सोँच पाल्ने हङकङेली ‘जान्नेसुन्ने’हरुलाई खेल्न, नेपाली राजनीतिका सक्रिय खेलाडीहरु व्यापक रुपमा सफल भएका छन् ।- लण्डनबाट