बाह्रवर्षे बालकको यो चर्तिकला

बाह्रवर्षे बालकको यो चर्तिकला


क्यालिफोर्निया (अमेरिका)का एक सङ्गीतप्रेमी बालक यतिबेला विश्वचर्चित बनिरहेका छन् । सङ्गीत भनेपछि हुरुक्कै हुने नील नामक यी बालक जम्मा १२ वर्षका छन्, तर अहिले नै उनी चवालीस प्रकारका वाद्ययन्त्र बजाउन सिपालु छन् । स्याक्सोफोनदेखि सरस्वती–वीणालगायत करिब चार दर्जन बाजामा उनले आफ्नो कौशल देखाइसकेका छन् भने दिनमा ६ घन्टा साङ्गीतिक रियाज गर्न उनी पटक्कै दिक्क मान्दैनन् । नीलका साथीहरू उनले कम्तीमा पनि सय प्रकारका बाजा बजाएर बेजोड रेकर्ड कायम गर्न सकून् भन्ने चाहन्छन् र यसका लागि उनीहरूले हरतरहको सहयोग पनि गरिरहेका छन् । भारतीय मूलका यी बालकका बाबु राजन नैयरका अनुसार चार वर्षको उमेरसम्म नीलले सङ्गीतप्रति कुनै लगाव देखाएका थिएनन्, तर पाँच वर्षमा प्रवेश गरेपछि एकाएक सङ्गीत तथा वाद्ययन्त्रहरूप्रति यिनले निकै चासो दिन थाले । पाँच वर्षकै उमेरमा यिनले ड्रम बजाउन थाले । उनको सङ्गीतप्रति रुचि देखेपछि स्कुलमा नीललाई सङ्गीत शिक्षा दिन सुरु गरिएको थियो । यसपछि उनको प्रतिभाको विकास यसरी भयो कि कसैले यस्तो चमत्कारको कल्पना गरेका थिएनन् ।