नायिकासँग राजकुमार ह्यारीको विवाह सुनिश्चित

नायिकासँग राजकुमार ह्यारीको विवाह सुनिश्चित


अमेरिकी महिलासँग प्रेम सम्बन्धमा रहेका बेलायती राजकुमार ह्यारीको विवाह सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए । तर, पहिले अर्कै पुरुषसँग विहे गरेर डिभोर्स गरेकी मेगानसँगको प्रेम सम्बन्धलाई बेलायती राजपरिवारले सहज मानिरहेको थिएन ।

तर, अहिले सबै कुरा सहज भएको ठानिएको छ । फलतः राजकुमार ह्यारीले अमेरिकी सिने नायिका समेत रहेकी मार्कलसँग मंगनी गरेर हिजो सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको उल्लेख गरेका छन् ।

आगामी केही महिनापछि उनीहरुको विवाह हुने भएको छ भने विवाहपछि नवजोडी केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन् ।

ज्ञातव्य छ, बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा ह्यारीले राजगद्दी सम्हाल्ने छन् ।