पर्साका कैदीबन्दीमा यौन तथा छालासम्बन्धी रोग

पर्साका कैदीबन्दीमा यौन तथा छालासम्बन्धी रोग


पर्सा जिल्लाका सुधारगृह (कारागार)मा रहेका अधिकांश कैदी–बन्दी छालासम्बन्धी रोगबाट पीडित रहेको पाइएको छ । कारागारभित्रको अव्यवस्थित बसाई र स्वच्छ पानीको अभावले अधिकांश बन्दीमा दादका साथै यौन तथा छाला रोग देखिएको बन्दीको स्वास्थ्यजाँचमा संलग्न चिकित्सकले बताए ।

डा.मनिष प्रधानका अनुसार धेरैजसोमा शरीरका विभिन्न भागमा दादजस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी स्वच्छ नहुँदा यस्तो रोग फैलने छालासम्बनधी विशेषज्ञ डा. प्रधानले बताए ।

जिल्ला कारागारमा हिजो शनिबार वीरगञ्ज टेलिभिजनले आयोजना गरेको निःशुल्क स्वाथ्य चेकजाँच शिविरमा सहभागीमध्ये अधिकांशमा छालासम्बन्धी रोग देखिएको हो । यस्तै, उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता रोगीको संख्या पनि उल्लेख्य रहेको छ । चिल्लो, पिरो तथा मसलायुक्त खाना बढी खानु, नियमित व्यायाम नगर्नु जस्ता आदतले मान्छेमा उच्च रक्तचाप बढाउने वरिष्ठ फिजिसियन डा. निरज सिंहले बताए । यस्तै, समयमा खाना नखानाले अधिकांशलाई ग्याष्ट्रिकको समस्या देखिएको पनि उनले जानकारी दिए ।

कारागारमा मानसिक रोगीहरू पनि भेटिएको र तिनका समेत उपचार गरिएको टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा जिल्ला कारागारमा रहेका ५ सय २ जनाको चेकजाँच गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक एवं सञ्चारकर्मी आविद हुसेनले बताए ।

वरिष्ठ फिजिसियन डा. निरज सिंह, सर्जन डा. मनोज गुप्ता, वरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा. सुमन प्रसाद, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी गुप्ता, यौन तथा छाला रोग विशेषज्ञ डा. आरपी जैसवाल, डा. मनिष प्रधानलगायतले शिविरमा चेकजाँच गरेका थिए ।
कारागारमा कैद भुक्तान गरिरहेका सुनिता तामाङ, रुपा श्रेष्ठ, लक्ष्मी बस्याल, कृष्ण थापा, रामबाबु रौनियार, सुरेस लामा, जितेन्द्र ठाकुर, सागर खत्री लगायत ५ सय २ जनाको चेकजाँच गरिएको हो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक शान्ति कार्की, कारागार प्रमुख चक्रपाणी गौतम, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी युनियनका अध्यक्ष हरि गुप्ता, लियो क्लबका दिपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो । शिविरमा टाइम्स फर्मास्युटिकल्स, मारुती फर्मास्युटिकल्स, क्वेस्ट फर्मास्युटिकल्स, म्याग्नस फर्मास्युटिकल्स लगायतका औषधी उद्योगहरूले सहयोग गरेका थिए ।

– प्रणय साह